सरकारी डाटा सेन्टरमा ब्रोडकमका स्विचको प्रयोगबारे सर्वेक्षण गर्दै चीन

  • Technology Khabar | ८ आश्विन २०८३, बिहीबार
सरकारी डाटा सेन्टरमा ब्रोडकमका स्विचको प्रयोगबारे सर्वेक्षण गर्दै चीन

काठमाडौं ।

चिनियाँ अधिकारीहरूले सरकारी स्वामित्वका डाटा सेन्टरमा ब्रोडकमको हार्डवेयर प्रयोगको अवस्था अध्ययन गरिरहेका छन्। विदेशी कृत्रिम बुद्धिमता पूर्वाधारमा निर्भरता घटाउँदै स्वदेशी उत्पादकलाई बढावा दिने प्रयासअन्तर्गत यो अध्ययन गरिएको फाइनान्सियल टाइम्सले बुधबार यस विषयसँग जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै जनाएको छ।

अमेरिकासँगको प्रतिस्पर्धाबीच चीनले प्राविधिक आत्मनिर्भरता र आपूर्ति शृंखलाको स्थायित्वमा आफ्नो ध्यान बढाएको छ। चीनले ‘लिटिल जायन्ट्स’ नाम दिएको साना तथा विशेषीकृत कम्पनीहरूलाई पनि विशेष सहयोग गर्दै आएको छ।

रोयटर्सका अनुसार सरकारी स्वामित्वका कम्पनीहरूको निरीक्षण गर्ने स्टेट-ओन्ड एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले पछिल्ला केही सातामा सरकारी नियन्त्रणमा रहेका डाटा सेन्टरमा ब्रोडकमका स्विच कति मात्रामा प्रयोग भइरहेका छन् भन्नेबारे सर्वेक्षण गरेको रिपोर्टमा उल्लेख छ।

नियमित कार्यालय समयबाहिर ब्रोडकम र एसएएसएसीसँग प्रतिक्रियाका लागि तत्काल सम्पर्क हुन नसकेको रोयटर्सले जनाएको छ।

सर्वेक्षणका क्रममा प्रयोगमा रहेका उपकरणमध्ये ब्रोडकमका स्विचको हिस्सा ९० प्रतिशतसम्म हुन सक्ने पाइएको रिपोर्टमा जनाइएको छ।

प्रारम्भिक निष्कर्षका आधारमा एसएएसएसीले सरकारी डेटा सेन्टरलाई ब्रोडकमका स्विचको प्रयोग घटाउन अनौपचारिक निर्देशन दिन सक्ने रिपोर्टमा उल्लेख छ।

यो कदम चीनको ‘स्वदेशी चिप स्वदेशमै प्रयोग’ अभियानअन्तर्गत हुन सक्ने बताइएको छ। उक्त अभियानले सार्वजनिक क्षेत्रमा चीनमै बनेका सेमिकन्डक्टर र कृत्रिम बुद्धिमता प्रविधिको प्रयोग बढाउने लक्ष्य राखेको छ।

ब्रोडकमसँगै एनभिडिया र चीनको हुवावेले पनि चीनमा उच्च क्षमताका स्विच बिक्री गर्छन्। एनभिडियाका उत्पादनलाई सरकारी सहयोग प्राप्त डेटा सेन्टरमा यसअघि नै प्रतिबन्ध लगाइएको भए पनि ब्रोडकमका स्विच भने यस्ता केन्द्रमा व्यापक रूपमा प्रयोग भइरहेका छन्।

प्रकाशित: ८ आश्विन २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार