कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

  • Technology Khabar | २७ भाद्र २०८३, शनिबार
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
फाइल तस्बिर

काठमाडौं ।

चितवनस्थित कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ।

यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमतिपत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताए।

यातायात व्यवस्था विभागबाट छपाइ भई आएका सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) नगरपालिकामार्फत नै वितरण गर्न थालिएको हो ।

उनले अब कालिका नगरवासीले स्मार्ट कार्ड लाइसेन्स लिन भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य भएको बताए।

उनले नगरवासीलाई सरकारी सेवा लिन सदरमुकाम भरतपुरसम्म जानुपर्ने अवस्था अन्त्य गरी स्थानीय तहमै सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको बताए। उनले यातायात व्यवस्था कार्यालयसँग भएको सम्झौताअनुसार नगरपालिकाबाट स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा सुरु गरिएको जानकारी दिए।

उनले भने, “सरकारी सेवा सकेसम्म नगरपालिकाबाटै उपलब्ध गराउने हाम्रो लक्ष्य हो । मालपोत र नापीसम्बन्धी सेवा नगरपालिकाबाटै भइरहेको छ । प्यान नम्बर र श्रम स्वीकृतिसम्बन्धी सेवा अगाडि बढाइएको छ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्नेलगायत सेवा पनि नगरपालिकाबाटै उपलब्ध गराउने तयारीमा छौँ ।”

यातायात व्यवस्था कार्यालय चितवनका कार्यालय प्रमुख अमृत अधिकारीले कालिका नगरपालिकासँग भएको सम्झौताअनुसार हाल स्मार्ट कार्ड चालक अनुमतिपत्र वितरण सेवा मात्र सुरु गरिएको बताए। जिल्लामा स्थानीय तहसँगको सहकार्यमा यस प्रकारको सेवा सुरु गर्ने कालिका नगरपालिका पहिलो भएको उनले जानकारी दिए।

उनका अनुसार यातायात व्यवस्था विभागबाट छपाइ भएर आएका स्मार्ट कार्ड चालक अनुमतिपत्र नगरपालिकामार्फत सम्बन्धित सेवाग्राहीलाई वितरण गरिनेछ । यसबाट स्मार्ट कार्ड लिन भरतपुर आउनुपर्ने सेवाग्राहीलाई सहज हुने उनले बताए।

यातायात व्यवस्था कार्यालयबाट हाल नयाँ चालक अनुमतिपत्र तथा वर्ग थपका लागि लिइने ट्रायलसम्बन्धी काम स्थगित रहेको उनले जानकारी दिए। चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न आवश्यक प्रक्रिया अनलाइनबाट गर्न सकिने व्यवस्था रहेको उनले बताए। चालक अनुमतिपत्र लिन तथा नवीकरण गर्न अनलाइनमार्फत फाराम भर्न र शुल्क भुक्तानी गर्न सकिन्छ। राष्ट्रिय परिचयपत्र तथा नागरिक एपमा रहेको क्यूआर स्क्यान गरी फाराम भर्न सकिने व्यवस्था रहेको उनले बताए। रासस

प्रकाशित: २७ भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...