काठमाडौं ।
पीसी अर्थात् पर्सनल कम्प्युटर प्रयोगकर्तामाझ कम्प्युटरलाई नियमित रूपमा रिस्टार्ट गर्नुपर्छ भन्ने सामान्य धारणा छ। कतिपयले त कुनै गम्भीर समस्या आउन नदिन हरेक दिन रिस्टार्ट गर्नुपर्ने बताउँछन्।
अहिले पनि यो आवश्यक छ त, वा कम्प्युटिङको पुरानो समयदेखि चलिआएको सुझाव मात्र हो? यो जिज्ञासा सबैमा हुन सक्छ।
सामान्य रूपमा पीसी रिस्टार्ट गर्नु आवश्यक हुन्छ भन्ने मान्यता छ। तर कति पटक रिस्टार्ट गर्ने भन्ने कुरा कुन अपरेटिङ सिस्टम प्रयोग गरिएको छ भन्नेमा निर्भर गर्छ। केही हदसम्म ल्यापटप वा डेस्कटप कुन हो भन्ने कुराले पनि फरक पार्छ।
विन्डोज चल्ने कम्प्युटरलाई अन्य प्रणालीको तुलनामा बढी पटक रिस्टार्ट गर्नुपर्ने हुन्छ। यहाँ चर्चा नगरिए पनि लिनक्स प्रणालीमा सामान्यतया कम रिस्टार्ट गरे पुग्छ।
समग्रमा, विन्डोज पीसीलाई कम्तीमा सातामा एकपटक रिस्टार्ट गर्नु फाइदाजनक हुन्छ। ल्यापटपमा आन्तरिक ठाउँ सीमित हुने र त्यसअनुसार कुलिङ प्रणाली पनि सीमित हुने भएकाले प्रयोग सकिएपछि ल्यापटप बन्द गर्नु वा कम्तीमा स्लीप मोडमा राख्नु राम्रो हुन्छ। स्लीपमा रहेको ल्यापटपलाई झोलाभित्र राख्नु जोखिमपूर्ण हुन्छ, किनकि त्यस्तो बन्द वातावरणमा ल्यापटप आफैं सक्रिय भएमा अत्यधिक तात्न सक्छ।
पीसी रिस्टार्ट गर्नुपर्ने विभिन्न कारण छन्। रिस्टार्ट गर्दा के हुन्छ भन्ने आधारभूत कुरा बुझ्दा आफ्नो प्रणालीलाई कहिले पावर साइकल गर्न आवश्यक छ भन्ने निर्णय गर्न सजिलो हुन्छ।
पीसी रिस्टार्ट गर्दा नयाँ सेसनबाट काम सुरु हुन्छ
पीसी रिस्टार्ट गर्नुको मुख्य फाइदा मेमोरीको अवस्थालाई नयाँ बनाउनु हो। कम्प्युटर चलिरहँदा एप, प्रक्रिया र ड्राइभरहरूले प्रणालीभित्र विभिन्न अस्थायी डेटा जम्मा गर्छन्। ब्याकग्राउन्ड प्रक्रिया बिग्रिँदै जान सक्छ, एपका क्यास जम्मा हुन्छन् र ड्राइभरमा त्रुटि देखिन सक्छ। यी सबै कारणले समयसँगै कम्प्युटरमा अनौठा समस्या आउन सक्छन्।
पूर्ण रिबुट गर्दा मेमोरीमा रहेका यस्ता डेटा हट्छन् र खाली अवस्थाबाट काम सुरु गर्न सकिन्छ। पीसी रिस्टार्ट गर्दा सुरक्षा फाइदा पनि हुन्छ। केही मालवेयर प्रणालीको मेमोरीमा अस्थायी रूपमा मात्र रहन सक्छन् र रिस्टार्ट गर्दा हट्न सक्छन्। तर रिबुट मात्र साइबर आक्रमणबाट बच्ने पर्याप्त उपाय भने होइन।
कम र्याम भएका कम्प्युटरमा रिबुट गर्दा केही प्रदर्शन क्षमता पनि पुनः प्राप्त हुन सक्छ। धेरै र्याम भएको उच्च क्षमताको कम्प्युटर हप्तौंसम्म रिस्टार्ट नगरी पनि सहज रूपमा चल्न सक्छ। तर समय–समयमा नयाँ सेसनबाट काम सुरु गर्नु अझै फाइदाजनक हुन्छ। यसले कम्प्युटरमा के–के चलिरहेको छ भन्ने बुझ्न र मेमोरी लिकका कारण हुने अनावश्यक स्रोत प्रयोगबाट बच्न सहयोग गर्छ।
विन्डोजको फास्ट स्टार्टअपले पूर्ण रिबुट रोक्न सक्छ
विन्डोजमा ध्यान दिनुपर्ने एउटा विशेषता फास्ट स्टार्टअप हो, जुन सामान्यतया पूर्वनिर्धारित रूपमा सक्रिय हुन्छ। यसले शट डाउन गरे पनि प्रणालीलाई पूर्ण रूपमा रिबुट हुनबाट रोक्न सक्छ।
स्टार्ट मेनु वा अल्ट + एफ४ बाट खोलिने विण्डोज पावर मेनुमा शट डाउन रोज्दा यो सुविधाले विन्डोजको केर्नल स्टेटलाई हाइबरनेशन फाइलमा सुरक्षित गर्छ र कम्प्युटर फेरि खोल्दा त्यसैलाई लोड गर्छ।
दैनिक प्रयोगका लागि यो सुविधाजनक हुन्छ, किनकि विन्डोज छिटो सुरु हुन्छ। तर कम्प्युटर क्याश्ड स्टेट अर्थात् क्याश गरिएको अवस्थाबाट सुरु हुने भएकाले फास्ट स्टार्टअपले सामान्य रिबुटले समाधान गर्न सक्ने सिस्टम स्लोडाउन र मेमोरी लीकका समस्या समाधान हुन नदिन सक्छ।
विन्डोज छिटो सुरु हुने भएकाले बायोस/यूईएफआई खोल्नका लागि उपलब्ध छोटो समय पनि अझ कम हुन्छ। विन्डोज र लिनक्स दुवै प्रयोग गर्ने कम्प्युटरमा फास्ट स्टार्टअपले डिस्क पार्टिशनमा थप समस्या निम्त्याउन सक्छ।
फास्ट स्टार्टअपलाई छल्न शट डाउन रोज्दा शिफ्ट थिचिराख्न सकिन्छ वा रिस्टार्ट विकल्प प्रयोग गर्न सकिन्छ। फास्ट स्टार्टअप पूर्ण रूपमा बन्द गर्न कन्ट्रोल प्यानल खोल्नुहोस्। त्यसपछि पावर अप्शनमा गएर चूज व्हाट द पावर बटन्स डु रोज्नुहोस्। त्यसपछि चेञ्ज सेटिङ्स द्याट आर करेन्टली अनएभाएलेबलमा क्लिक गरी फास्ट स्टार्टअपको विकल्प हटाउनुहोस् र सेभ चेञ्जेज क्लिक गर्नुहोस्।अपडेटपछि पीसी सधैं रिबुट गर्नुहोस्
हालै रिस्टार्ट गरिसकेको भए पनि केही सफ्टवेयर, सुविधा वा हार्डवेयर अपडेट गरेपछि तथा अपरेटिङ सिस्टमको अपडेट बाँकी रहेको अवस्थामा पीसी रिबुट गर्नु आवश्यक हुन्छ। एप र हार्डवेयरको अपडेट पूरा गर्न तथा पुरानो एप र ड्राइभर संस्करणका डाटा हटाउन पनि रिबुट आवश्यक पर्न सक्छ।
अपरेटिङ सिस्टमको हकमा विन्डोजले नयाँ प्रमुख संस्करणमा अपडेट नगरे पनि सुरक्षा प्याच स्थापना गर्न प्रायः रिबुट आवश्यक हुन्छ। प्रणालीलाई अपडेट राख्नु सबैभन्दा महत्वपूर्ण सुरक्षा उपायमध्ये एक हो, किनकि नयाँ अपडेटमा प्रायः पहिचान भइसकेका सुरक्षा कमजोरीका समाधान समावेश हुन्छन्। त्यसैले अपडेट स्थापना गर्न रिबुट गर्न जति ढिला गरिन्छ, प्रणाली साइबर आक्रमणको जोखिममा त्यति नै रहन्छ।
तर पछिल्लो समय विन्डोज अपडेटका कारण गेम क्र्यास हुने र कम्प्युटरमा लगइन गर्नसमेत समस्या हुनेजस्ता अनौठा समस्या देखिएका छन्। त्यसैले अपडेट गरेपछि रिबुट गर्नुअघि त्यस अपडेटका सम्भावित समस्याबारे छोटो खोज गर्नु उपयोगी हुन सक्छ।
यसमा एउटा प्रमुख अपवाद विण्डोज अन एआरएम हो। विन्डोज पीसीमा परम्परागत रूपमा प्रयोग हुने एक्स८६ प्रणालीको तुलनामा एआरएम प्रोसेसर लामो समयसम्म लगातार चल्न उपयुक्त हुन्छ।
यसै कारण स्मार्टफोन र ट्याबलेटका साथै एप्पल सिलिकन भएका नयाँ म्याक कम्प्युटरमा पनि एआरएम आधारित प्रोसेसर प्रयोग गरिन्छ। यही कारण स्मार्टफोनलाई एक्स८६ पीसीको तुलनामा कम पटक रिबुट गरे पुग्छ।
विण्डोज अन एआरएममा पनि कहिलेकाहीँ रिबुट गर्नु फाइदाजनक हुन्छ, विशेषगरी अपडेटपछि। कुनै अनौठो समस्या देखिएमा कम्प्युटर बन्द गरेर फेरि खोल्नु अझै पनि पहिलोपटक अपनाउन सकिने राम्रो समस्या समाधान उपाय हो। तर एआरएम प्रणालीलाई नियमित रूपमा अनिवार्य रूपमा रिबुट गरिरहनुपर्ने आवश्यकता छैन।-एजेन्सी
प्रकाशित: २७ भाद्र २०८३, शनिबार