काठमाडौं ।
अमेरिकाको टेक्सासस्थित एक अदालतले बालबालिकाका लागि सामग्री फिल्टर गर्ने प्रणाली र ‘रिस्ट्रिक्टेड मोड’बारे प्रयोगकर्तालाई भ्रममा पारेको भन्दै टिकटकले राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको फैसला गरेको छ।
न्यायाधीश कोरी लिउले बिहीबार दिएको फैसलामा टिकटकले नाबालिगका लागि अनुपयुक्त सामग्री रोक्ने आफ्नो प्रणालीबारे गरेको दाबी व्यवहारमा पूरा नभएको ठहर गरिएको हो।
टेक्सासले जनवरी २०२५ मा टिकटकविरुद्ध मुद्दा दायर गर्दै कम्पनीले आफ्नो प्लेटफर्मलाई बालबालिकाका लागि सुरक्षित रहेको भन्दै प्रचार गरेको आरोप लगाएको थियो।
फैसलाअनुसार, टिकटकले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स’ उल्लंघन गर्ने सामग्री हटाउने बताएको थियो। तर कम्पनीले आन्तरिक रूपमा त्यस्ता केही सामग्रीलाई ‘फेला पार्न कठिन’ श्रेणीमा राखेको र ‘अनुमति नदिने’ सामग्रीको श्रेणीमा नराखेको टेक्सासले अदालतमा दाबी गरेको थियो। यसका कारण ती सामग्री प्लेटफर्ममा रहन पाएको र यस्तो अभ्यासले राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको न्यायाधीश लिउले ठहर गरेका छन्।
त्यस्तै, टिकटकको ‘रिस्ट्रिक्टेड मोड’ले विज्ञापन गरिएअनुसार काम नगरेको र कम्पनीले फिल्टर गर्ने बताएको सामग्रीसमेत नाबालिग प्रयोगकर्तासम्म पुगेको टेक्सासले प्रमाणित गरेको न्यायाधीशले बताएका रोयटर्सले उल्लेख गरेको छ।
टेक्सासका महान्यायाधिवक्ता केन प्याक्सटनको कार्यालयका अनुसार अब मुद्दा सुनुवाइका लागि अघि बढ्नेछ। आगामी सुनुवाइमा टिकटकमाथि लगाइने जरिवाना तथा अन्य उपचारात्मक कदमबारे निर्णय हुनेछ। सुनुवाइ अर्को महिना तय हुने अपेक्षा गरिएको छ।
टिकटकले फैसलाबारे नियमित कार्यालय समयबाहिर टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।
यसअघि अगस्टमा टिकटकले सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लेटफर्मलाई लत लाग्ने गरी डिजाइन गरेको र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा असर पुर्याएको आरोपमा युवाहरूले दायर गरेका तीन अमेरिकी मुद्दा मिलापत्रमार्फत टुंग्याउन सहमति जनाएको थियो।
त्यस्तै, मेटाले पनि बालबालिकामा सामाजिक सञ्जालको लतसम्बन्धी अमेरिकी दाबी टुंग्याउन १८ अर्ब डलरसम्म भुक्तानी गर्ने सहमति जनाएको थियो।
प्रकाशित: २७ भाद्र २०८३, शनिबार