काठमाडौं ।
नर्वेको राजधानी ओस्लोले बिहीबार विद्यालयमा ‘स्मार्ट चस्मा’को प्रयोगमा प्रतिबन्ध लगाएको घोषणा गरेको छ। यो कदम बालबालिकालाई ‘मेटाको डाटा सङ्कलनमा अतिरिक्त सहयोगी’ बन्नबाट रोक्नका लागि लिइएको हो।
“यो प्रतिबन्ध सबै विद्यालय र शैक्षिक संस्थाकासबै तहमा लागू हुन्छ,” ओस्लो नगर प्रशासनले जारी गरेको एक विज्ञप्तिमा जनाएको छ।
“हामी राजनीतिज्ञहरूले यसको वास्तविक उद्देश्यबारे इमानदार हुने साहस राख्नुपर्छ, संसारकै सबैभन्दा धनी कम्पनीहरूमध्ये एकले यस्तो उत्पादन ल्याएको छ जसको सम्पूर्ण व्यापारिक विचार नै तपाईंलाई फिल्म गरिरहेको बेला थाहा नहोस् भन्ने हो,” ओस्लोका शैक्षिक उपमेयर जुली रेमेन मिड्टगार्डेनले भने।
“ओस्लोमा हामी हाम्रा बच्चाहरूलाई मेटाको डाटा सङ्कलनमा अतिरिक्त कलाकार बन्न दिँदैनौँ,” उनले भने।
उनले नर्वेको वामपन्थी सरकारको पनि आलोचना गरे। नगरले यस्ता उपकरण र सार्वजनिक स्थानमा अनुहार पहिचान प्रविधिको नियमनबारे विचार गर्दै विशेषज्ञ समूह गठन गरेको बताएको छ।
“आज नै नर्वेमा यी चस्मा बिक्री भइरहेका छन्, आज नै नर्वेका विद्यालयका मैदानमा प्रयोग भइरहेका छन्, र समस्या अहिले नै छ । विषयमाथि अध्ययन गर्नु भनेको कारबाही गर्नु होइन,” मिड्टगार्डेनले भने।
स्मार्ट चस्माले लगाउने व्यक्तिलाई फोटो र भिडियो खिच्न, सङ्गीत सुन्न, फोन कल गर्न, विदेशी भाषाका सङ्केत अनुवाद गर्न, दृष्टि क्षेत्रमा पाठ वा नक्सा प्रोजेक्ट गर्न वा एकीकृत एआई सहायकसँग अन्तरक्रिया गर्न सघाउँछ।
मेटाले आफ्ना स्मार्ट चस्मामा अनुहार पहिचान सुविधा विकास गरेको बताइएको छ।
ओस्लोका विद्यालयमा यो प्रतिबन्ध अगस्ट २७ देखि लागू भएको थियो, तर अगस्ट २८ मा राजा हेराल्ड पाँचौको निधनपछि नर्वेली दलहरूबीच भएको राजनीतिक गतिविधि नगर्ने सहमतिपछि घोषणा बिहीबारसम्म स्थगित गरिएको थियो। –रासस
प्रकाशित: २७ भाद्र २०८३, शनिबार