आस्ट्राको माग बढेपछि ओपनएआईले प्रो सदस्यता अस्थायी रूपमा रोक्यो

  • Technology Khabar | २६ भाद्र २०८३, शुक्रबार
आस्ट्राको माग बढेपछि ओपनएआईले प्रो सदस्यता अस्थायी रूपमा रोक्यो

काठमाडौं ।

ओपनएआईको नयाँ र सबैभन्दा शक्तिशाली मोडल आस्ट्रा को माग बढेपछि कम्पनीले आफ्नो प्रतिमहिना २०० डलर पर्ने प्रो योजनाको नयाँ सदस्यता अस्थायी रूपमा रोकेको छ। कम्पनीले आफ्नो पूर्वाधारमा परेको चापका कारण यस्तो निर्णय गरेको जनाएको छ।

टेकक्रञ्चका अनुसार ओपनएआईका उत्पादन प्रमुख थिबाउट सोटियाक्सले एक्समा यसबारे जानकारी दिएका हुन्। उनी ओपनएआईमा कोडेक्स र च्याटजीपीटी लगायतका मुख्य उत्पादनको नेतृत्व गर्छन्। उनका अनुसार प्रो योजनाले कम्पनीको प्रणालीमा सबैभन्दा बढी चाप पार्ने भएकाले अहिले यस तहको नयाँ सदस्यता लिन बन्द गरिएको हो।

“हामीले सकेसम्म धेरै मानिसलाई पहुँच दिन जारी राख्न सकिने सबैभन्दा सानो कदम चाल्न चाहेका हौं,” सोटियाक्सले लेखेका छन्। उनले एपीआई तथा कम मूल्यका गो र प्लस योजनासहित कम्पनीका अन्य योजनाहरू भने उपलब्ध रहेको बताएका छन्।

कम्पनीले बुधबार नै यस्तो परिवर्तन हुन सक्ने संकेत दिएको थियो। त्यसबेला सोटियाक्सले लेखेका थिए, “आस्ट्रा को माग वास्तवमै अभूतपूर्व छ। यो मागलाई निरन्तरता दिन हामीले सम्भव सबै उपाय अपनाइरहेका छौं, तर यसअघि तीव्र वृद्धि देखेको भए पनि अहिलेसम्म यस्तो अवस्था देखेको थिइनँ। विद्यमान प्रयोगकर्तालाई उत्कृष्ट सेवा दिनु सधैं प्राथमिकतामा हुनेछ, तर माग यस्तै रहेमा केही समयका लागि नयाँ प्रो सदस्यता रोक्नुपर्ने हुन सक्छ।”

ओपनएआईले प्रो योजनाको नयाँ सदस्यता कति समयसम्म बन्द रहनेछ वा दैनिक कति मानिसले सदस्यता लिइरहेका छन् भन्ने जानकारी दिएको छैन। त्यसैले मागको वास्तविक स्तर कति ठूलो छ भन्ने स्पष्ट छैन।

कम्पनीले गत महिना मात्र कोडेक्स प्रयोगकर्ताका लागि प्रयोग सीमा बढाएको थियो। यसले प्रणालीमा परेको चाप हालै मात्र बढेको संकेत गर्छ।

सेप्टेम्बर ३ मा सार्वजनिक गरिएको आस्ट्रा ओपनएआई का विभिन्न योजनामा विस्तार हुँदै आएको छ। यसमा प्रो, प्लस, इन्टरप्राइज र बिजनेस  खाताहरू समावेश छन्। यो मोडलले एआईको तर्क क्षमता, कोडिङ र कम्प्युटर प्रयोगजस्ता क्षेत्रमा ठूलो सुधार ल्याउने दाबी गरिएको छ। यी क्षेत्रमा अहिले तीव्र प्रतिस्पर्धा भइरहेको छ।

ओपनएआई ले आस्ट्रालाई “एजीआई युग” को सुरुवात र पुस्तागत ठूलो परिवर्तनका रूपमा समेत प्रस्तुत गरेको थियो। यसले आस्ट्रा प्रति प्रयोगकर्ताको माग अझ बढाएको बताइएको छ।

प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...