अर्को पुस्ताको चिप विकासमा सामसङसँग सहकार्य गर्दै ओपनएआई

  • Technology Khabar | २६ भाद्र २०८३, शुक्रबार
अर्को पुस्ताको चिप विकासमा सामसङसँग सहकार्य गर्दै ओपनएआई

काठमाडौं ।

च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नै चिप विकास गरिरहेको समयमा दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्ससँगको सहकार्य थप विस्तार गरिरहेको छ। कम्पनीले सेमिकन्डक्टर र इन्टरप्राइज एआई सेवामा सामसङसँगको सम्बन्ध विस्तार गरिरहेको जनाएको छ।

“हामीले सामसङ इलेक्ट्रोनिक्ससँग सबैभन्दा धेरै प्रगति र पहिचान हासिल गरेको क्षेत्रमध्ये एउटा हामीले विकास गरिरहेका अर्को पुस्ताका चिपको संयुक्त उत्पादन र अनुसन्धान हो,” ओपनएआई कोरियाका महाप्रबन्धक ह्यारिसन किमले बुधबार सोलमा आयोजित पत्रकार सम्मेलनमा भने। उनले यसबारे थप विवरण दिएनन्।

किमले सामसङ इलेक्ट्रोनिक्स विश्वभर च्याटजीपीटीको सबैभन्दा ठूलो स्तरमा प्रयोग गर्ने कम्पनीमध्ये एक रहेको पनि बताए। उनका अनुसार सामसङका कोरिया र अन्य देशमा रहेका कर्मचारीले अनुसन्धान तथा विकास, मार्केटिङ र बिक्रीलगायतका काममा च्याटजीपीटी प्रयोग गरिरहेका छन्।

सामसङ इलेक्ट्रोनिक्सले भने ग्राहकसँग सम्बन्धित जानकारी पुष्टि गर्न नसक्ने जनाएको छ।

रोयटर्सका अनुसार जुनमा ओपनएआईले ब्रोडकमसँग मिलेर डिजाइन गरेको आफ्नो पहिलो कस्टम आर्टिफिसियल इन्टेलिजेन्स चिप सार्वजनिक गरेको थियो। जलापेनो नाम दिइएको उक्त चिप ओपनएआईका इन्जिनियरहरूले ब्रोडकमसँग मिलेर एआई इन्फरेन्सका लागि डिजाइन गरेका हुन्।

एआई इन्फरेन्स भनेको च्याटजीपीटीजस्ता एपमा प्रश्नको उत्तर दिन डेटा प्रशोधन गर्ने प्रक्रिया हो। ओपनएआईले त्यतिबेला यी चिप ताइवानको टीएसएमसीले उत्पादन गर्ने जनाएको थियो।

गत वर्ष सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले ओपनएआईको स्टारगेट डाटा सेन्टर परियोजनाका लागि मेमोरी चिप आपूर्ति गर्ने आशयपत्रमा हस्ताक्षर गरेका थिए।

किमका अनुसार अझ उन्नत चिप आवश्यक पर्ने भएकाले छिटो र जटिल कम्प्युटिङको माग बढ्दै जाँदा मेमोरी चिपको माग पनि निरन्तर बढ्नेछ। त्यसैले दक्षिण कोरियाली सेमिकन्डक्टर आपूर्तिकर्तासँगको सहकार्य ओपनएआईको स्थानीय कार्यालयका लागि प्राथमिकतामा रहेको उनले बताए।

सामसङले जेनेरेटिभ एआईको प्रयोग पनि विस्तार गरिरहेको समयमा ओपनएआईसँगको सहकार्य अघि बढेको हो। कम्पनीले जुनमा मोबाइल फोन, टेलिभिजन र घरेलु उपकरण हेर्ने आफ्नो डिभाइस एक्सपेरियन्स डिभिजनका कर्मचारीलाई आन्तरिक रूपमा च्याटजीपीटी, गुगलको जेमिनाई र एन्थ्रोपिकको क्लाउड प्रयोग गर्न अनुमति दिने जनाएको थियो।

ओपनएआईका अनुसार दक्षिण कोरियाली कम्पनी तथा संस्थामा च्याटजीपीटी इन्टरप्राइज प्रयोगकर्ताको संख्या अगस्टको अन्त्यसम्म अघिल्लो वर्षको तुलनामा करिब २८ गुणाले बढेको छ। व्यवसायहरूले व्यक्तिगत कामबाट कम्पनीभरिका काममा एआईको प्रयोग विस्तार गरेपछि प्रयोगकर्ता संख्या बढेको कम्पनीले जनाएको छ।

ओपनएआईका अनुसार कम्पनीहरूले कानुनी काम, बिक्री, वित्त, मार्केटिङ र सञ्चालनलगायतका विभिन्न क्षेत्रमा एआईको प्रयोग बढाइरहेका छन्। कम्पनीले भने प्रयोगकर्ताको वास्तविक संख्या सार्वजनिक गर्न अस्वीकार गरेको छ।

ओपनएआईका अनुसार गत वर्षको अन्त्यतिर अमेरिकाबाहिर सबैभन्दा धेरै भुक्तानी गर्ने च्याटजीपीटी ग्राहक दक्षिण कोरियामा थिए।

ओपनएआईले सेप्टेम्बर ४ मा आफ्नो नयाँ मोडल जीपीटी–६ एस्ट्रा सार्वजनिक गरेपछि यसको प्रयोग अझ तीव्र रूपमा बढ्ने अपेक्षा गरेको छ। कम्पनीका अनुसार नयाँ मोडलले कम्प्युटर प्रयोग, व्यावसायिक काम, विज्ञान, कोडिङ र साइबर सुरक्षामा सुधारिएको प्रदर्शन प्रदान गर्छ।

प्रकाशित: २६ भाद्र २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार