प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

  • Technology Khabar | २५ भाद्र २०८३, बिहीबार
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग

काठमाडौं ।

मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करीब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ।

भोटेकोसीमा आएको बाढी र त्यसबाट प्रभावित नेपालको मानवीय तथा विपद् व्यवस्थापनमा सहयोग पुगोस भन्ने हेतुले उक्त ड्रोन नेपाल सरकारलाई सहयोग गरेको हो।

विपद्का बेला प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले ड्रोन उपलब्ध गराइएको प्रोटोनले जनाएको छ। विशेषगरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, ड्रोनहरू सुरुमा मलेसियास्थित स्पेसल मलेसिया डिजास्टर असिस्टेन्स एन्ड रेस्क्यु टिम स्मार्ट(एसएमएआरटि) को मुख्यालयमा नाडमा (एनएडिएमए) लाई हस्तान्तरण गरिएका थिए। मलेसियाको मानवीय सहायता तथा विपद् उद्धार अभियानअन्तर्गत हाल नेपालमा खटिएको स्मार्ट (एसएमएआरटि) को टोली द्वारा ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो। यी ड्रोन नेपाल सरकारका लागि प्रदान गरिएका र नेपाल सरकारकै स्वामित्वमा रहने पनि उल्लेख गरिएको छ।

कार्यक्रममा प्रोटोन इन्टरनेसनल कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङले विपद्का बेला प्रभावित क्षेत्रको स्पष्ट अवस्थाबारे जानकारी लिन ड्रोनले महत्वपूर्ण सहयोग पुर्याउने बताए।

उनका अनुसार हालको मानवीय सहयोगसँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपालमा प्रयोग गर्नुअघि स्मार्ट(एसएमएआरटि) को टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम दिइने पनि उनले बताए।

प्रकाशित: २५ भाद्र २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...