अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

  • Technology Khabar | १३ कार्तिक २०८३, शुक्रबार
अर्को वर्ष एआईमार्फत गीत रिमिक्स गर्ने सेवा ल्याउने तयारीमा स्पोटीफाई

काठमाडौं ।

संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटीफाईले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर गीत रिमिक्स गर्न सकिने सेवा सन् २०२७ को पहिलो त्रैमासिकमा सार्वजनिक गर्ने तयारी गरेको छ।

फाइनान्सियल टाइम्स (एफटी) का अनुसार कम्पनीले फेब्रुअरीमा हुने ग्रामी अवार्डको आसपास उक्त सेवा सार्वजनिक गर्ने योजना बनाएको छ। यसका लागि प्रिमियम ग्राहकसँग मासिक थप ४ देखि ५ अमेरिकी डलर शुल्क लिने विकल्पमा पनि कम्पनीले विचार गरिरहेको छ।

रोयटर्सका अनुसार नयाँ सेवामार्फत सशुल्क ग्राहकले आफूलाई मनपर्ने गीतको नयाँ संस्करण एआईको सहयोगमा तयार गर्न सक्नेछन्। उदाहरणका लागि, लोकगीतलाई डान्स ट्र्याकमा रूपान्तरण गर्ने वा एउटा कलाकारको स्वरमा अर्को कलाकारको गीत प्रस्तुत गराउने जस्ता सुविधा उपलब्ध हुनेछन्।

एफटीका अनुसार स्पोटीफाईको योजनामा प्रयोगकर्ताले तयार पारेका रिमिक्सबाट प्राप्त हुने रोयल्टी मूल कलाकारलाई उपलब्ध गराउने व्यवस्था पनि छ। त्यस्ता रिमिक्समा हुने स्ट्रिमिङलाई मूल गीतकै स्ट्रिमिङ संख्यामा गणना गर्ने कम्पनीको योजना रहेको समाचारमा उल्लेख छ।

यस सेवाका लागि स्पोटीफाईले युनिभर्सल म्युजिक ग्रुप, स्वतन्त्र रेकर्ड लेबलहरूको समूह मर्लिन र फ्रान्सेली संगीत कम्पनी बिलिभसँग अनुमति तथा लाइसेन्ससम्बन्धी सम्झौता गरिसकेको एफटीले जनाएको छ।

तर सोनी म्युजिक र वार्नर म्युजिकसँग भने कम्पनीको छलफल जारी रहेको समाचारमा उल्लेख छ।

रोयटर्सले यस विषयमा प्रतिक्रिया माग्दा स्पोटिफाइले तत्काल कुनै जवाफ नदिएको जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार