भारतमा एक व्यक्तिको खल्तीमा सामसङको फोन विस्फोट, दुवै हात र शरीरको तल्लो भाग जल्यो

  • Technology Khabar | २८ श्रावण २०८३, बिहीबार
भारतमा एक व्यक्तिको खल्तीमा सामसङको फोन विस्फोट, दुवै हात र शरीरको तल्लो भाग जल्यो

काठमाडौं ।

छिमेकी देश भारतको उत्तर प्रदेशस्थित गाजियाबाद रेलवे स्टेशनमा मोबाइल फोन विस्फोट हुँदा २६ वर्षीय एक व्यक्ति गम्भीर रूपमा जलेका छन्। उनको दुवै हात, शरीरको तल्लो भाग र गुप्तांग जलेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

दुर्घटना हुँदा मोबाइल फोन उनको खल्तीमा थियो। परिवारका सदस्यहरूका अनुसार फोन लगभग एक महिना अघि किनिएको थियो। परिवारले मोबाइल फोनको प्राविधिक जाँचको लागि अनुरोध गरेको रिपोर्टमा उल्लेख छ।

ब्लास्टको घटना अगस्ट ८ तारिखको साँझ भारतको गाजियाबाद रेलवे स्टेशनमा भएको थियो। ग्रेटर नोएडाको दनकौर निवासी २६ वर्षीय मोहम्मद मजिद व्यक्तिगत कामबाट फर्किरहेका थिए। अचानक, उनको खल्तीमा रहेको मोबाइल फोन तातो हुन थाल्यो। मजिदले फोन झिक्नु अघि नै शक्तिशाली विस्फोट भएको बताइएको छ। विस्फोटको आवाज सुनेर स्टेशनमा उपस्थित मानिसहरूमा त्रास फैलियो। नजिकैका मानिसहरू तुरुन्तै मद्दत गर्न हतारिए र घाइते व्यक्तिलाई अस्पताल लगियो।

रिपोर्टअनुसार मोबाइल फोन विस्फोट यति गम्भीर थियो कि मजिदको दुवै हात जलेको छ। उनको तल्लो शरीर र गुप्तांगको भाग पनि जलेको छ। उनको अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि माजिद अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। यद्यपि, दुर्घटनाले परिवारलाई चिन्ता बढाएको छ।

यस्तै भारतीय अनलाइन फ्रि प्रेस जर्नल डट इनले रिपोर्टगरेअनुसार विस्फोट भएको सामसङको मोबाइल फोन करिब एक महिनाअघि खरिद गरिएको थियो। परिवारले फोन पुरानो वा पुरानो डिभाइस नभएको बताएको छ। त्यसैले, परिवारले नयाँ मोबाइल फोनको ब्याट्री खल्तीमा हुँदा अचानक किन विस्फोट भयो भनेर जान्न चाहेको बताईएको छ।

माजिदले स्मार्टफोनको सुरक्षा र गुणस्तरमाथि चिन्ता व्यक्त गर्दै भनेका छन् कि उनले लगभग एक महिना अघि मात्र नयाँ सामसङ ह्यान्डसेट किनेका थिए। उनले ग्रेटर नोएडाको द ग्रान्ड भेनिस मलमा रहेको डीजी कम स्टोरबाट डिभाइस किनेको रिपोर्टमा भनिएको छ। उनकाअनुसार, फोन सामान्य रूपमा काम गरिरहेको थियो र घटना हुनुभन्दा पहिले कुनै ठूलो समस्या भएको थिएन।

तर सामसङको कुन मोडल थियो भन्ने रिपोर्टहरुमा उल्लेख छैन्।

“विस्फोट पछि, मोबाइल फोनका टुक्राहरू छरिएका थिए र मेरो लुगामा पनि आगो लागेको थियो,” माजिदले विस्फोट पछिको डरलाग्दो क्षणहरू वर्णन गर्दै भने।

घटनामा ह्यान्डसेट नराम्ररी क्षतिग्रस्त भएको बताइएको छ। यद्यपि, हाल विस्फोटको कारण स्पष्ट भएको छैन्।

यस विषयमा उनको परिवारले सम्बन्धित अधिकारीहरूसँग उजुरी दर्ता गर्ने तयारी गरिरहेको उल्लेख छ।

यसैबीच एक सोशल मिडिया इन्फ्लुएन्सरकाअनुसार सामसङको आधिकारीक निकायमा यस ब्लास्टको बारेमा उजुरी दर्ता गरिएको छ।

प्रकाशित: २८ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार