प्रविधि

एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका

एन्ड्रोइड फोनमा लुकेको ‘टास्क म्यानेजर’ कसरी हेर्ने? यस्तो छ तरिका
Global IME Bank

एन्ड्रोइड स्मार्टफोनमा पनि कम्प्युटरमा जस्तै ब्याकग्राउन्डमा चलिरहेका एप तथा प्रक्रियाहरू हेर्न सकिने सुविधा छ। तर यो सुविधा प्रयोग गर्न पहिले फोनमा डेभलपर मोड सक्रिय गर्नुपर्छ। यसबाट कुन एपले कति र्‍याम प्रयोग गरिरहेको छ भन्ने जानकारी लिन सकिन्छ। कम्प्युटर प्रयोगकर्ताका लागि टास्क म्यानेजर नौलो सुविधा होइन। यसबाट कम्प्युटरमा चलिरहेका प्रोग्राम, ब्याकग्राउन्ड प्रक्रिया र तिनले प्रयोग गरिरहेको मेमोरी हेर्न सकिन्छ।

यस्तै सुविधा एन्ड्रोइड स्मार्टफोनमा पनि उपलब्ध छ। तर यो सामान्य सेटिङमा देखिँदैन। फोनको सेटिङभित्र रहेको डेभलपर अप्सन्समार्फत यसलाई खोल्न सकिन्छ।

एन्ड्रोइडमा टास्क म्यानेजर कसरी खोल्ने?

फोनमा चलिरहेका प्रक्रिया हेर्न सबैभन्दा पहिले डेभलपर मोड सक्रिय गर्नुपर्छ। त्यसका लागि निम्न प्रक्रिया अपनाउन सकिन्छ।

  • फोनको सेटिङ्स खोल्नुहोस्।
  • तल स्क्रोल गरेर About Phone मा जानुहोस्।
  • त्यहाँ रहेको बिल्ड नम्बरविकल्प खोज्नुहोस्। केही फोनमा यो Software Information भित्र हुन सक्छ।
  • बिल्ड नम्बरमा लगातार सात पटक ट्याप गर्नुहोस्। त्यसपछि डेभलपर मोड सक्रिय भएको सन्देश देखिन्छ। आवश्यक परे फोनको पासवर्ड वा पिन राख्नुपर्ने हुन सक्छ।
  • फेरि सेटिङ्स मा फर्किनुहोस्। त्यहाँ डेभलपर अप्शन्स देखिन्छ। केही फोनमा यो System मेनुभित्र हुन्छ।
  • डेभलपर अप्शन्स खोलेर रनिङ सर्भिसेज मा जानुहोस्।
  • माथिल्लो दायाँ कुनामा रहेको तीनवटा थोप्ला थिचेर Show cached processes चयन गरेमा हालै रोकिएका तर मेमोरीमा रहेका प्रक्रिया पनि हेर्न सकिन्छ।

रनिङ सर्भिसेज मा के देखिन्छ?

रनिङ सर्भिसेज एन्ड्रोइडको टास्क म्यानेजरजस्तै सुविधा हो। यसले फोनमा हाल चलिरहेका सेवा तथा प्रक्रियाहरू र तिनले प्रयोग गरिरहेको मेमोरीको विवरण देखाउँछ।

तर त्यहाँ देखिएका सबै प्रक्रिया अनावश्यक हुन्छन् भन्ने होइन। ब्लुटुथ, किबोर्ड र लोकेसनजस्ता फोनका विभिन्न सुविधा सञ्चालन गर्न पनि यस्ता प्रक्रिया आवश्यक हुन्छन्।

त्यसैले र्‍याम खाली गर्ने उद्देश्यले नबुझी कुनै प्रक्रिया बन्द गर्नु उचित हुँदैन। यसो गर्दा फोनका केही सुविधा अवरुद्ध हुन सक्छन्।

यो मेनु मुख्यतः फोनको समस्या पहिचान गर्न उपयोगी हुन्छ। कुनै एउटा प्रक्रियाले अस्वाभाविक रूपमा धेरै मेमोरी प्रयोग गरिरहेको छ कि छैन भनेर जाँच गर्न सकिन्छ। समस्या देखिएमा सम्बन्धित प्रक्रिया रोक्न सकिन्छ। तर त्यसो गर्दा फोनमा अन्य समस्या आए पुनःस्टार्ट गर्नुपर्ने हुन सक्छ।

ब्याकग्राउन्ड एप नियन्त्रण गर्ने अर्को उपाय

ब्याकग्राउन्डमा चलिरहेका एप नियन्त्रण गर्न डेभलपर अप्शन्स भित्रै अर्को विकल्प पनि छ। त्यसका लागि डेभलपर अप्शन्सको एप्स शीर्षकअन्तर्गत रहेको ब्याकग्राउण्ड प्रोसेस लिमिट खोल्नुपर्छ।

यसबाट एकैपटक ब्याकग्राउन्डमा चल्न पाउने एपको संख्या सीमित गर्न सकिन्छ। सामान्यतया फोनको र्‍याम क्षमताअनुसार एन्ड्रोइडले आफैँ यस्तो सीमा निर्धारण गर्छ। तर प्रयोगकर्ताले चाहेमा एकदेखि चारवटासम्म प्रक्रिया चल्ने गरी सीमा तोक्न सक्छन्।

यद्यपि, यसो गर्दा एकैपटक धेरै एप प्रयोग गर्ने सुविधा अर्थात् मल्टिटास्किङ प्रभावित हुन सक्छ। बन्द भएका एप पुनः खोल्दा सुरुदेखि लोड हुनुपर्ने भएकाले केही समय बढी लाग्न सक्छ।

व्यक्तिगत एपको ब्याकग्राउन्ड गतिविधि रोक्ने तरिका

सबै एपमा एकैपटक सीमा लगाउनुभन्दा आवश्यकताअनुसार कुनै निश्चित एपको ब्याकग्राउन्ड गतिविधि नियन्त्रण गर्नु अर्को विकल्प हो।

यसका लागि:

  • सेटिङ्स खोल्नुहोस्।
  • एप्समा जानुहोस्।
  • नियन्त्रण गर्न चाहेको एप छान्नुहोस्।
  • ब्याट्री विकल्पमा ट्याप गर्नुहोस्।
  • त्यहाँ रहेको अप्टिमाइज्ड विकल्पको सट्टा रेस्ट्रिक्टेड चयन गर्नुहोस्।

अप्टिमाइज्ड सेटिङले प्रयोगकर्ताको बानीअनुसार एपको ब्याकग्राउन्ड गतिविधि व्यवस्थापन गर्छ। रेस्ट्रिक्टेड विकल्पले भने एप प्रयोगमा नरहेको अवस्थामा यसको ब्याकग्राउन्ड गतिविधि सीमित गर्छ।

यसरी एन्ड्रोइडको रनिङ सर्भिसेज र ब्याट्री सेटिङ प्रयोग गरेर कुन एपले कति स्रोत प्रयोग गरिरहेको छ भन्ने बुझ्न र आवश्यकताअनुसार नियन्त्रण गर्न सकिन्छ। तर फोनको सामान्य सञ्चालनका लागि आवश्यक प्रणाली प्रक्रियाहरू बन्द नगर्नु नै सुरक्षित हुन्छ।

Sajilo Visa
easy care