अब च्याटजीपीटीभित्रै एडोबीका ७० भन्दा बढी उपकरण प्रयोग गर्न सकिने

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
अब च्याटजीपीटीभित्रै एडोबीका ७० भन्दा बढी उपकरण प्रयोग गर्न सकिने

काठमाडौं ।

एडोबीले आफ्नो नयाँ च्याटजीपीटी प्लगइन सार्वजनिक गरेको छ जसमार्फत प्रयोगकर्ताले च्याटजीपीटी भित्रै एडोबी का ७० भन्दा बढी उपकरण प्रयोग गर्न सक्नेछन्। कम्पनीले जेनेरेटिभ एआई प्रविधिलाई थप विस्तार गर्ने रणनीतिअनुसार यो सुविधा ल्याएको हो।

गत वर्षको अन्त्यमा एडोबीले ओपनएआईको एप्स एसडीके प्रयोग गर्दै फोटोशप, एक्रोब्याट र एडोबी एक्सप्रेसलाई च्याटजीपीटीमा उपलब्ध गराएको थियो।

अब नयाँ एडोबी प्लगइनमार्फत फोटोशप, प्रिमियर, एक्रोब्याट,लाइटरुम, इलस्ट्रेटर र इनडिजाइन लगायतका ७० भन्दा बढी एडोबी उपकरण च्याटजीपीटी मा प्रयोग गर्न सकिने टेकक्रञ्चले उल्लेख गरेको छ।

यो प्लगइन प्रयोग गर्न च्याटजीपीटी को सेटिङ्स मेनुमा गएर प्लगइन्स सेक्सनबाट एडोबी प्लगइन चयन गर्नुपर्छ। त्यसपछि च्याटजीपीटीको प्रम्ट बारमा @एडोबी लेखेर आवश्यक अनुरोध गर्न सकिन्छ।

एडोबीका अनुसार यो प्लगइन ओपनएआईको कोडेक्स कोडिङ एप र हालै सार्वजनिक गरिएको वर्क सुइटमा सबैभन्दा राम्रोसँग काम गर्छ।

प्रयोगकर्ताले क्रियटिभ क्लाउड खातामा लगइन नगरी पनि प्लगइन प्रयोग गर्न सक्नेछन्। तर लगइन गरेपछि काम विभिन्न सत्रहरूमा सुरक्षित राख्न, क्लाउडमा रहेका फाइलहरू प्रयोग गर्न तथा एडोबी फायरफ्लाई मार्फत कम्पनीका जेनेरेटिभ एआई मोडलहरू प्रयोग गर्न सकिनेछ।

एडोबीका अनुसार यो एकीकरण प्रयोग गरेर फोटो सम्पादन, मार्केटिङ भिडियो निर्माण र पीडीएफ तयार गर्ने जस्ता काम च्याटजीपीटी भित्रै गर्न सकिन्छ। यद्यपि, कम्पनीले सिर्जनात्मक काममा थप सूक्ष्म नियन्त्रण र विस्तृत सम्पादनका लागि आफ्ना मूल एपहरू आवश्यक रहने स्पष्ट पारेको छ।

एडोबी फायरफ्लाई तथा एजेन्टिक एआईका उपाध्यक्ष फरेस्ट कीले एडोबी का व्यावसायिक स्तरका सिर्जनात्मक र उत्पादकता उपकरणहरू प्रयोगकर्ताले काम गर्ने सबै स्थानमा उपलब्ध गराउने लक्ष्य रहेको बताए। उनका अनुसार च्याटजीपीटी मा रहेको एडोबी प्लगइन सिर्जनात्मक पेशाकर्मीले दैनिक प्रयोग गर्ने कम्पनीका मुख्य एपहरूको विकल्प भने होइन।

यो एडोबी प्लगइन आजदेखि विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...