दुई ओटा उड्ने बेस स्टेसन राख्ने डोयच टेलिकमको तयारी

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
दुई ओटा उड्ने बेस स्टेसन राख्ने डोयच टेलिकमको तयारी

काठमाडौं ।

डोयच टेलिकमले टी–मोबाइल चेक रिपब्लिक र प्रिमोको यूएभीसँग मिलेर उड्ने बेस स्टेसनका रूपमा दुईओटा मानवविहीन हवाई सवारी (यूएभी) पालैपालो सञ्चालन गर्ने परीक्षण गरेको छ।

परीक्षणका क्रममा स्मार्टफोनहरू स्वतः सक्रिय मोबाइल सेलमा जडान भएका थिए। साथै दुवै यूएभीमा स्याटेलाइट ब्याकहल सिधै एकीकृत गरिएको थियो, जसले अतिरिक्त ग्राउन्ड स्टेसनको आवश्यकता बिना नै मोबाइल कोर नेटवर्कसँग जडान हुन सम्भव बनायो।

यो परीक्षण चेक गणतन्त्रको ब्रडी संरक्षित प्राकृतिक क्षेत्रमा आयोजना हुने ‘बेहेज लेसी’ ट्रेल रनिङ प्रतियोगिताका क्रममा गरिएको थियो। उक्त दुर्गम क्षेत्रमा मोबाइल नेटवर्कको पहुँच सीमित छ।

प्रतियोगिताको सुरुवात र अन्त्य हुने स्थानमा सानो पोर्टेबल सेल टावरमार्फत मोबाइल सेवा उपलब्ध गराइएको थियो। दौड मार्गमा भने बेस स्टेसन जडित दुई विमान पालैपालो सञ्चालन गरेर नेटवर्क उपलब्ध गराइएको थियो, जसका कारण प्रतियोगितामा सहभागी १,९०० धावक सम्पूर्ण कार्यक्रमभर मोबाइल नेटवर्कमा जोडिएका थिए।

टेलिकम्स डटकमका अनुसार परीक्षणका क्रममा यूएभीहरू दुईदेखि तीन किलोमिटर उचाइमा उडेका थिए र करिब २० वर्ग किलोमिटर क्षेत्रसम्म मोबाइल सेवा उपलब्ध गराएका थिए। ती विमानले स्थलीय नेटवर्ककै मानक फ्रिक्वेन्सी ब्यान्ड प्रयोग गरेका थिए र १० मेगाहर्ज च्यानलमार्फत अधिकतम १०० मेगाबिट प्रति सेकेन्डको डेटा गति हासिल गरेका थिए।

डोयच टेलिकमका अनुसार दुई विमानबीच सफल नेटवर्क हस्तान्तरणले यो अवधारणा प्राविधिक रूपमा सम्भव रहेको पुष्टि गरेको छ। भविष्यमा यस्तो प्रणाली पूर्वाधार नभएको वा क्षति पुगेको स्थानमा, वा छोटो समयमै थप नेटवर्क क्षमता आवश्यक पर्ने अवस्थामा स्थलीय नेटवर्कको पूरकका रूपमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यसलाई डढेलो, बाढी र दुर्गम क्षेत्रमा आयोजना हुने ठूला बाह्य कार्यक्रमजस्ता अवस्थामा प्रयोग गर्न सकिन्छ। आवश्यक पर्दा नेटवर्क क्षमतालाई प्राथमिकताका आधारमा पनि व्यवस्थापन गर्न सकिने र परीक्षणमा प्रयोग गरिएका विमानहरूले युरोपका विभिन्न प्रमाणपत्र प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

डोयच टेलिकमका रिसर्च एन्ड ट्रायल्सका वरिष्ठ प्रबन्धक जारोस्लाभ होलिसले नयाँ प्रविधि वास्तविक परिस्थितिमा सफल हुँदा मात्र नवप्रवर्तन प्रमाणित हुने बताए। उनले यस परीक्षणबाट प्राप्त अनुभवले विकासको अर्को चरणतर्फ मार्गदर्शन गर्ने र विशेष परिस्थितिका लागि भरपर्दो मोबाइल सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताए।

प्रिमोको यूएभीका प्रमुख कार्यकारी अधिकृत लाडिस्लाभ सेमेटकोभ्स्कीले दुईवटा प्रिमोको वन १५० विमान प्रयोग गर्दा चौबीसै घण्टा सेवा दिन सकिने बताए। उनका अनुसार एउटा विमान इन्धन भर्न भुइँमा हुँदा अर्को विमान सञ्चालनमा रहने भएकाले नेटवर्क सेवा अवरुद्ध हुँदैन। संकटका बेला निरन्तर सञ्चार आवश्यक हुने भएकाले यस्तो समाधान विशेष रूपमा उपयोगी हुने उनले बताए।

यसअघि पनि डोयच टेलिकमले चेक गणतन्त्रमै मोबाइल बेस स्टेसन जडित एउटै यूएभी प्रयोग गरेर परीक्षण गरेको थियो। जिजेरा पर्वतमा आयोजित ‘जिजेर्स्का ५०’ स्की प्रतियोगिताका क्रममा उक्त यूएभीले लगातार चार घण्टासम्म मोबाइल सेवा उपलब्ध गराएको थियो। कम्पनीले त्यसलाई युरोपमा उड्ने बेस स्टेसन प्रयोग गर्ने पहिलो दूरसञ्चार सेवा प्रदायकको परीक्षण भएको दावी गरेको थियो।

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...