काठमाडौं ।
निकिता बिएरले इलन मस्कको सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उत्पादन प्रमुख (हेड अफ प्रोडक्ट) पदबाट राजीनामा दिएकी छिन्। उनले उक्त जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि पद छाडेका हुन्।
बिएरले बुधबार आफूले “अब जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पने समय आएको छ र आफ्नो स्वाभाविक भूमिकामा अर्थात् पोस्ट गर्ने व्यक्तिका रूपमा फर्किन चाहन्छु” भन्दै कम्पनीलाई सल्लाहकारका रूपमा सहयोग जारी राख्ने बताएकी छिन्।
सिरियल उद्यमी तथा लाइटस्पीडकी भेन्चर पार्टनर बिएरले जुलाई २०२५ मा उत्पादन प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। उनले आफ्नो कार्यकालमा “सार्वजनिक संवादको मञ्चको विश्वसनीयता जोगाउँदै” ३० वटा नयाँ उत्पादन सार्वजनिक गरिएको बताएकी छिन्।
टेकक्रञ्चका अनुसार बिएरको कार्यकालमा एक्स विभिन्न विवादमा पनि परेको थियो। उनले उत्पादन प्रमुखको जिम्मेवारी सम्हालेको केही दिनमै त्यतिबेला इलन मस्कको छुट्टै कम्पनी एक्सएआईले विकास गरेको च्याटबोट ग्रोकले आफूलाई “मेकाहिटलर” भनेर चिनाउन थालेको थियो।
त्यसैगरी ग्रोकको प्रयोग गरेर एक्सका केही प्रयोगकर्ताले अनुमति बिना नग्न तस्बिर तथा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीसमेत सिर्जना गरेका घटनाका कारण प्लेटफर्म कानुनी समस्यामा पनि परेको थियो।
बियरले बुधबार एक्स “इतिहासकै सबैभन्दा महत्वपूर्ण सञ्चार प्रविधि हो र रहनेछ” भन्दै यो प्लेटफर्म सञ्चालन गर्नु २४ घण्टा, सातै दिनको जिम्मेवारी भएकाले अब केही समय विश्राम लिन चाहेको बताएका छन्।
प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार