मुराटीले “थिंकिङ मेसिन्स ल्याब” मार्फत सार्वजनिक गरिन् पहिलो कृत्रिम बुद्धिमत्ता परियोजना

  • Technology Khabar | २२ श्रावण २०८३, शुक्रबार
मुराटीले “थिंकिङ मेसिन्स ल्याब” मार्फत सार्वजनिक गरिन् पहिलो कृत्रिम बुद्धिमत्ता परियोजना

काठमाडौं ।

ओपन एआईकी पूर्व मुख्य प्राविधिक अधिकारी मिरा मुराटीले आफ्नो नयाँ कम्पनी थिङ्किङ मेशिन्स ल्याबबाट पहिलो कृत्रिम बुद्धिमत्ता (एआई) मोडेल सार्वजनिक गरेकी छन्।

‘इन्क्लिङ’ नामको यो मोडेलले ठूला एआई कम्पनीहरूले नियन्त्रण गर्ने प्रणालीको तुलनामा बढी लचिलो विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ।

इन्क्लिङ एक ओपन–वेट मोडेल हो। यसको अर्थ विकासकर्ताले यसलाई डाउनलोड गर्न, आफ्नो आवश्यकताअनुसार परिमार्जन गर्न र अनुकूल बनाउन सक्छन्। यो केही ठूला कम्पनीका बन्द (क्लोज्ड) मोडेलभन्दा फरक छ।

कम्पनीका अनुसार यो मोडेल टेक्स्ट, अडियो र भिडियोसहित विभिन्न प्रकारका डाटा प्रयोग गर्न सक्ने गरी विकास गरिएको छ। यसमा लागत र कार्यसम्पादनबीच सन्तुलनमा विशेष ध्यान दिइएको छ।

यद्यपि मुराटीले इन्क्लिङ अहिले बजारकै सबैभन्दा शक्तिशाली एआई मोडेल नभएको स्वीकार गरेकी छन्। उनका अनुसार यसको मुख्य विशेषता लचिलोपन र प्रयोगकर्ताले आफ्ना आवश्यकताअनुसार अनुकूल बनाउन सक्ने क्षमता भएको टेलिग्राफले उल्लेख गरेको छ।

थिंकिङ मेसिन्स ल्याबको स्थापना मिरा मुराटी र ओपनएआईका पूर्व कर्मचारीहरूले गरेका हुन्। कम्पनीले ठूलो लगानी आकर्षित गरिसकेको छ र यसअघि २ अर्ब अमेरिकी डलरको लगानी जुटाएपछि यसको मूल्यांकन करिब १२ अर्ब अमेरिकी डलर पुगेको थियो।

इन्क्लिङमार्फत मुराटीले कृत्रिम बुद्धिमत्तामा थप विकेन्द्रीकृत दृष्टिकोण विकास गर्ने लक्ष्य राखेकी छन्, जसअन्तर्गत व्यवसाय र विकासकर्ताले एआई मोडेलको प्रयोग र अनुकूलनमा बढी नियन्त्रण पाउनेछन्।

प्रकाशित: २२ श्रावण २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...