भोडाफोनद्वारा एआई र रोबोटिक हात जडान गरिएको नयाँ मोबाइल टावरको परीक्षण शुरु

  • Technology Khabar | ७ श्रावण २०८३, बिहीबार
भोडाफोनद्वारा एआई र रोबोटिक हात जडान गरिएको नयाँ मोबाइल टावरको परीक्षण शुरु

काठमाडौं ।

भोडाफोनले एआई र रोबोटिक हात जडान गरिएको नयाँ मोबाइल टावरको परीक्षण सुरु गरेको छ। कम्पनीका अनुसार यो प्रविधिले मोबाइल नेटवर्कको माग आफैं विश्लेषण गरेर रेडियो एन्टेनाको दिशा परिवर्तन गर्दै सिग्नल सुधार गर्न सक्छ।

कम्पनीले यसलाई ‘सेल्फ–थिंकिङ’ मोबाइल टावर भनेको छ। यो प्रणालीले नेटवर्कको माग र स्थानीय मौसमजस्ता अवस्थाको विश्लेषण गरी सबैभन्दा आवश्यक स्थानमा बलियो सिग्नल पठाउने निर्णय गर्न सक्छ।

उदाहरणका लागि, घाम लागेको बेला बाहिरी क्षेत्रमा सिग्नल केन्द्रित गर्ने र वर्षा हुँदा भवनभित्र राम्रो कभरेज उपलब्ध गराउने गरी एन्टेना समायोजन गर्न सक्छ।

यो प्रविधिको परीक्षण अल्बानियाको राजधानी तिरानास्थित एक मोबाइल टावरमा भइरहेको छ, जहाँबाट एउटा किनमेल केन्द्र देखिन्छ। दिनको समयमा एन्टेनाले किनमेल केन्द्रमा आउने मानिसलाई प्राथमिकता दिने र राति नजिकको आवासीय क्षेत्रमा कभरेज केन्द्रित गर्ने योजना छ।

टेलिकम्स डटकमका अनुसार यो प्रणालीले भोडाफोनले विकास गरेको एल्गोरिदम प्रयोग गर्छ। एआई प्रणालीले रोबोटिक हातलाई नियन्त्रण गरी ४जी र ५जी कभरेज सुधार गर्न रेडियो एन्टेनालाई घुमाउने वा झुकाउने काम गर्छ। रोबोटिक हात दक्षिण कोरियाली कम्पनी ह्युम्याक्स नेटवर्क्सले निर्माण गरेको हो।

भोडाफोनका अनुसार यो प्रणालीले निरन्तर सिक्ने र आवश्यकताअनुसार आफैं निर्णय गर्ने क्षमता राख्छ तथा मानव हस्तक्षेपबिनै लगभग तुरुन्तै निर्णय गर्न सक्छ।

हाल एन्टेना समायोजन गर्न करिब २० देखि ३० मिनेट लाग्छ। कम्पनीका अनुसार यो प्रक्रिया अझ छिटो बनाउन सकिए पनि ऊर्जा बचतलाई ध्यानमा राखेर अहिलेको प्रणाली तयार गरिएको हो।

भोडाफोनले परम्परागत तरिकामा एन्टेना समायोजन गर्न इन्जिनियरले टावरमा चढ्नुपर्ने, योजना स्वीकृति, जग्गाधनीसँगको सहमति, सडक बन्द, भारी उपकरणको व्यवस्था तथा मौसम अनुकूल हुनुपर्ने जस्ता कारणले हप्तौं वा महिनौं लाग्न सक्ने जनाएको छ।

भोडाफोनका मोबाइल एक्सेस इन्जिनियरिङ निर्देशक फ्रान्सिस्को ‘पाको’ मार्टिन पिग्नाटेलीले यो दूरसञ्चार क्षेत्रमा ‘फिजिकल एआई’ को प्रारम्भिक उदाहरण भएको बताए। उनका अनुसार एआई एल्गोरिदमले नेटवर्कको माग विश्लेषण गरी मानव हस्तक्षेपबिनै रेडियो एन्टेना समायोजन गरेर कभरेज र क्षमता सुधार गर्न सक्छ।

भविष्यमा अचानक परेको वर्षा वा ट्राफिक जामजस्ता अवस्थाको जानकारी प्रयोग गरेर विभिन्न स्थानका एन्टेनाले माग बढ्नुअघि नै आफैं समायोजन गर्ने कम्पनीको योजना छ।

भोडाफोनले आगामी केही महिनाभित्र यस्तै अन्य स्वचालित प्रणाली सार्वजनिक गर्ने अपेक्षा गरेको छ। तीमध्ये केहीले पूरै एन्टेना नचलाइ भित्रका साना भाग मात्र चलाएर सिग्नल परिवर्तन गर्नेछन्, जसले ऊर्जा बचत हुने कम्पनीको दावी छ।

यो परियोजना गत वर्ष अल्बानियाबाट सुरु गरिएको अर्को पहलको विस्तार पनि हो। त्यसअन्तर्गत नयाँ मोबाइल टावरका एन्टेनामा जीपीएसमार्फत सञ्चालन हुने सेन्सर जडान गरिएको थियो।

भोडाफोनका अनुसार जीपीएस प्रविधिबाट एन्टेना सही स्थानमा जडान भएको छ वा छैन भन्ने कुरा टाढैबाट जाँच्न सकिन्छ, जसले ग्राहकलाई राम्रो सेवा दिनुका साथै इन्जिनियरको भ्रमणमा लाग्ने समय र खर्च घटाउँछ।

कम्पनीले यो प्रविधि अन्य देशहरूमा पनि विस्तार गर्ने जनाएको टेलिकम्स डटकमले उल्लेख गरेको छ।

भोडाफोनका अनुसार एन्टेनाको डिजिटलकरण र एआईमा आधारित रेडियो एक्सेस नेटवर्क (आरएएन) स्वचालनले पूर्ण रूपमा स्वचालित र आवश्यकता अनुसार आफैं अनुकूल हुने मोबाइल नेटवर्कतर्फ महत्वपूर्ण कदम प्रतिनिधित्व गर्छ।

प्रकाशित: ७ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार