काठमाडौं ।
नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट इभी एसयुभी प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो सोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ।
जगदम्बा मोटर्सले मंगलबारदेखि भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासम्पन्न सोरुम तथा सर्भिस सेन्टर उद्घाटन समारोहमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ।
भक्तपुरको यो नयाँ सोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन सोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीले दाबी गरेको छ।
नेपालमा ग्राहक–केन्द्रित भई विद्युतीय सवारी (इभी) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्याउने लक्ष्यसहित सोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो।
भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिक रूपमा नयाँ सोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ।
यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ ओटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो।
ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन्।
प्रकाशित: ७ श्रावण २०८३, बिहीबार