काठमाडौं ।
हुम्लाको अदानचुली गाउँपालिकाले पहिलोपटक ई–हाजिरी (विद्युतीय हाजिरी) प्रणाली लागू गर्ने भएको छ। दुर्गम क्षेत्रमा कर्मचारी नबस्ने, आर्थिक वर्षको अन्तिम एक महिनामा १२ महिनाको काम गर्ने गरेका भन्ने जनगुनासो आइरहेका बेला आगामी आर्थिक वर्षको साउन १ गतेदेखि इ–हाजिरी प्रणाली लागू गरिने पालिका कार्यालयले जनाएको छ।
भौगोलिक रूपमा विकट मानिने हुम्ला जस्तो क्षेत्रमा ई–हाजिरी प्रविधिको सुरुवातले स्थानीय सेवा प्रवाहमा सकारात्मक परिवर्तन र नतिजा ल्याउने अपेक्षा गरिएको छ। यस प्रविधिले विषेशगरी कर्मचारीमा अनुशासन र नियमिततासँगै समयमा सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रविर शाहीले बताए।
ई–हाजिरी लागू भएसँगै गाउँपालिका तथा वडा कार्यालय, स्वास्थ्य चौकी र विद्यालयका कर्मचारी तोकिएको समयमा कार्यालय उपस्थित भई सेवा प्रवाह शीघ्र र निर्धारित समयमा सम्पन्न गर्ने उनले विश्वास गरे। यो सँगै एकै पटक महिनाको अन्त्यमा वा अघिल्लो दिन रजिष्टरमा हाजिरी गर्ने परिपाटी पूर्ण रूपमा रोकिने, प्रशासनिक र आर्थिक पारदर्शिता स्थापित हुने उनको भनाइ छ।
साउन महिनादेखि तलब, भत्ता र अन्य सुविधा कर्मचारीको वास्तविक हाजिरी विवरण (भित्रिएको र बाहिरिएको समय) का आधारमा मात्र भुक्तानी गर्न प्रणालीले सहज बनाउने, प्रत्येक महिना हाजिरी खाता पल्टाएर दिन गन्ने र प्रमाणित गर्ने झन्झटिलो प्रशासनिक काम अन्त्य हुने प्रमुख प्रशासकीय अधिकृत शाहीले विश्वास व्यक्त गरे।
पहिलोपटक गाउँपालिकाको केन्द्र र प्रशासकीय भवनमा जडान गरी कार्यान्वयनमा ल्याइने र पछि सबै वडा कार्यालयदेखि स्वास्थ्य संस्थामा जडान गरिने उनले बताए। सबै कार्यालयमा ई–हाजिरी उपकरण जडान भएपछि गाउँपालिकाको केन्द्रबाट टाढा रहेका वडा कार्यालय तथा स्वास्थ्य संस्थाका कर्मचारी उपस्थित भए/नभएको विवरण अनलाइन (क्लाउड सिस्टम) मार्फत तुरुन्तै अनुगमन गर्न सकिने उनले बताए।
कर्मचारीहरू नियमित कार्यालय उपस्थित भएमा सेवाग्राहीले समयमै छिटोछरितो सेवा पाउने भन्दै यसले स्थानीय सरकारप्रति जनताको विश्वास पनि बढ्ने गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले बताए।
संघीय सरकारको सूचना प्रविधि विभाग र संघीय मामिला मन्त्रालयको परिपत्र बमोजिम डिजिटल सुशासनको लक्ष्य हासिल गर्न सहज हुनुका साथै कर्मचारीको बिदा, काज, र कार्यसम्पादनको डिजिटल विवरण सुरक्षित रहने भएकाले वार्षिक समीक्षा र योजना तर्जुमा गर्न मद्दत पुग्ने भएकाले साउन १ गतेदेखि इ–हाजिरी लागू गर्ने तयारी गरिएको उनले जानकारी दिए।
यसअघि कार्यान्वयनमा ल्याउने गरी गत वर्ष खरिद गरी हाजिरी उपकरण (मेसिन) ल्याए पनि विविध कारणले कार्यान्वयन गर्न नसकिएको बताउँदै नयाँ प्रमुख प्रशासकीय अधिकृत आएलगत्तै यो प्रक्रिया अगाडि बढाउन निर्देशन गरिएकाले कामलाई तीव्रता दिइएको जिन्सी शाखा प्रमुख हंस महताराले बताए। यसैबीच, सूचना प्रविधि शाखाले सबै कर्मचारीको ‘बायोमेट्रिक’ गरिसकेको छ।
आजसम्म २३ जना कर्मचारीको बायोमेट्रिक गरिसकिएको सूचना अधिकृत लोकसरी बुढाले जानकारी दिए। आगामी दिनमा कर्मचारीको कामप्रतिको ढिलासुस्ती गर्ने, कार्यालय नआउनेलगायत प्रवृत्ति अन्त्य हुनुका साथै कार्यसम्पादन पारदर्शी, जनउत्तरदायी र जवाफदेही हुने उनले विश्वास व्यक्त गरे।-रासस
प्रकाशित: २६ असार २०८३, शुक्रबार