टारा र जीएसएमएले वायरलेस अप्टिकलका लागि सार्वजनिक गरे नयाँ उपकरण

  • Technology Khabar | २६ असार २०८३, शुक्रबार
टारा र जीएसएमएले वायरलेस अप्टिकलका लागि सार्वजनिक गरे नयाँ उपकरण

काठमाडौं ।

अल्फाबेटबाट अलग भएको कम्पनी टाराले मिडल–माइल नेटवर्कमा वायरलेस अप्टिकल प्रविधि प्रयोग गर्न इच्छुक दूरसञ्चार कम्पनीहरूलाई लक्षित गर्दै नयाँ लागत गणना गर्ने उपकरण सार्वजनिक गरेको छ।

जीएसएमए इन्टेलिजेन्ससँगको सहकार्यमा विकसित यो उपकरणले नेटवर्क योजनाकारहरूलाई विभिन्न परिस्थितिमा फाइबर, वायरलेस रेडियो र वायरलेस अप्टिकल प्रविधिको कुल स्वामित्व लागत (टीसीओ) तुलना गर्न सक्ने सुविधा दिन्छ।

टाराका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश कृष्णास्वामीले एआई पूर्वाधारको बढ्दो आवश्यकताले मोबाइल, फाइबर अपरेटर र सेवा प्रदायकहरूको नेटवर्क योजना चुनौतीपूर्ण बन्दै गएको बताए।

उनका अनुसार इन्टरनेट ट्राफिक निरन्तर बढिरहेको, एआईका कारण नेटवर्क संरचना थप विकेन्द्रीकृत बन्दै गएको र अब प्राविधिक क्षमतासँगै नेटवर्क विस्तारको लागत पनि उत्तिकै महत्वपूर्ण भएको छ। टीसीओ क्याल्कुलेटरले वास्तविक तैनाथी अवस्थाहरूमा विभिन्न प्रविधिको तुलना गरी नेटवर्क निर्माण र विस्तारसम्बन्धी निर्णय लिन सहज बनाउने उनले बताए।

उपकरणमा दूरी, आवश्यक डाटा क्षमता, रेडियो लिंकको फ्रिक्वेन्सी ब्यान्ड र च्यानल आकार, फाइबर जमिनमुनि, डक्टभित्र वा पोलमार्फत जडान गरिने अनुपात, घना सहरी, उपसहरी वा ग्रामीण क्षेत्र, तथा वार्षिक नेटवर्क ट्राफिक वृद्धि जस्ता विवरण राख्न सकिन्छ।

टेलिकम्स डटकमका अनुसार हाल यो उपकरण यूरोप, आसियान र अमेरिकाका लागि उपलब्ध छ। टाराले सुरुआती सफलताहरू भने मुख्यतः भारत, अफ्रिका र क्यारेबियन क्षेत्रमा हासिल गरेको छ। सबै विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताले आफूले निर्धारण गरेको अवधिभर विभिन्न नेटवर्क प्रविधिको कुल स्वामित्व लागत तुलना गर्न सक्छ।

जीएसएमए इन्टेलिजेन्सका अनुसन्धान तथा परामर्श निर्देशक शिव पुट्चाले ५जी एडभान्स्ड र भविष्यको ६जीतर्फ अघि बढ्दै गर्दा मोबाइल अपरेटरहरूले धेरै जटिल र क्षेत्रअनुसार फरक तैनाथी विकल्पहरूको मूल्यांकन गरिरहेको बताए।

उनका अनुसार फाइबर र माइक्रोवेभजस्ता स्थापित मिडल–माइल प्रविधि प्रयोगमा रहने भए पनि फ्री स्पेस अप्टिक्स (एफएसओ), एमएमवेभ र भविष्यमा स्याटेलाइटजस्ता वैकल्पिक प्रविधिको पनि आवश्यकता पर्नेछ। टीसीओ क्याल्कुलेटरले विभिन्न प्रविधिको लागत र आर्थिक पक्ष वस्तुनिष्ठ रूपमा तुलना गर्न सहयोग गर्ने उनले बताए।

फाइबर ब्रडब्यान्ड एसोसिएसन (एफबीए) को प्रतिवेदन उद्धृत गर्दै टाराले फाइबर बिछ्याउन प्रतिमाइल २ लाख ६४ हजार अमेरिकी डलरसम्म खर्च लाग्न सक्ने दाबी गरेको छ।

तर सोही प्रतिवेदनअनुसार अमेरिकामा गत वर्ष जमिनमुनि फाइबर बिछ्याउने औसत लागत प्रतिफुट १८ डलर अर्थात् प्रतिमाइल करिब ९५ हजार डलर थियो। अधिकांश परियोजनाको लागत ६० हजार ७२० डलरदेखि १ लाख ३२ हजार डलर प्रतिमाइलको बीचमा रहेको उल्लेख गरिएको छ।

यद्यपि लागत अत्यधिक हुने केही विशेष अवस्थामा, विशेषगरी मिडल–माइल नेटवर्कमा टाराको वायरलेस अप्टिकल प्रविधि उपयोगी हुन सक्ने बताइएको छ।

गुगलको मातृ कम्पनी अल्फाबेटको अनुसन्धान इकाइ एक्समा विकास गरिएको टाराले एकीकृत सर्किटमा एक हजारभन्दा बढी प्रकाश उत्सर्जक भएको अप्टिकल फेज्ड एरे प्रविधि विकास गरेको छ। यसले १० किलोमिटरसम्मको दूरीमा २५ गिगाबिट प्रति सेकेन्डसम्म डेटा प्रवाह गर्न सक्छ।

यस प्रविधिको सम्भावना देखेर अल्फाबेटले गत मार्चमा टारालाई छुट्टै कम्पनीका रूपमा स्थापना गरेको थियो।

लेजरमार्फत कठिन भूभाग, घना सहरी क्षेत्र वा नदीजस्ता प्राकृतिक अवरोध पार गरेर नेटवर्क जडान गर्न फाइबर बिछ्याउनुभन्दा सस्तो र सजिलो हुन सक्ने बताइएको छ। तर नयाँ अग्ला भवन, वायु टर्बाइन वा विद्युत् प्रसारण टावरजस्ता अवरोध आएमा जडान प्रभावित हुन सक्छ।

टीसीओ क्याल्कुलेटरका अनुसार टाराको वायरलेस अप्टिकल लिंकको आयु सात वर्षको छ जुन फाइबरको तुलनामा छोटो हो।

फाइबर अप्टिक केबल क्षति वा टुटफुट हुन सक्ने भए पनि सही रूपमा जडान गरिएको अवस्थामा दशकौंसम्म टिक्न सक्ने बताइएको छ।

बेलायतस्थित अप्टिकल नेटवर्किङ कम्पनी अप्टिनेटका अनुसार फाइबर केबलको सेवा आयु करिब २५ वर्षसम्म हुन सक्छ। अत्यधिक तन्किनु, गलत जडान र आकस्मिक काटिनु यसको आयु घट्ने प्रमुख कारण हुन्।

वायरलेस अप्टिकल प्रविधिबाट हुने सम्भावित लागत बचतबारे जानकारी फैलाउन सफल भए केही दूरसञ्चार कम्पनी आकर्षित हुन सक्ने भए पनि यसको प्रयोग सबै अवस्थामा उपयुक्त हुने निश्चित भने छैन।

प्रकाशित: २६ असार २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...