स्मार्टवाच र एआईले रोगका शुरुवाती लक्षणहरु कसरी पत्ता लगाउँछन्? यस्तो छ रिपोर्ट

  • Technology Khabar | २२ असार २०८३, सोमबार
स्मार्टवाच र एआईले रोगका शुरुवाती लक्षणहरु कसरी पत्ता लगाउँछन्? यस्तो छ रिपोर्ट

काठमाडौं ।

आजका स्मार्टवाच र अन्य वेयरेबल उपकरणहरू केवल पाइला गन्ने वा मुटुको धड्कन मापन गर्ने उपकरणमा सीमित छैनन्।

अहिलेका धेरै उपकरणले निद्रा, छालाको तापक्रम, श्वासप्रश्वासको दर, रगतमा अक्सिजनको मात्रा, मुटुको धड्कनको परिवर्तन (हार्ट रेट भेरिएबिलिटी) जस्ता विवरण मापन गर्न सक्छन्। केहीले निद्रामा हुने श्वाससम्बन्धी समस्या (स्लीप एप्निया) को सम्भावित संकेतसमेत देखाउन सक्छन्।

यस्ता उपकरणको प्रचार हेर्दा स्मार्टवाचले धेरै रोग पत्ता लगाउन सक्ने जस्तो देखिए पनि वास्तविकता भने केही फरक छ। स्वास्थ्यसम्बन्धी नयाँ सुविधा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृत हुँदा कम्पनीहरूले त्यसको व्यापक प्रचार गर्ने गर्छन्।

तर स्मार्टवाचले स्वास्थ्यसम्बन्धी केही संकेत दिन सक्ने भए पनि रोगको निश्चित पहिचान गर्न भने सक्षम छैनन्। साथै, सबै स्वास्थ्य फिचर समान रूपमा भरपर्दा पनि छैनन्।

इन्ग्याजेटका अनुसार वेयरेबल उपकरणको सबैभन्दा ठूलो विशेषता भनेको शरीरको सामान्य अवस्थाभन्दा फरक परिवर्तन देखाउन सक्नु हो। यस्ता असामान्य परिवर्तनले थप स्वास्थ्य परीक्षण आवश्यक हुन सक्ने संकेत दिन सक्छ।

यसको सबैभन्दा सफल प्रयोग मुटुको धड्कनको अनियमित समस्या ‘एट्रियल फिब्रिलेसन’ (एफिब) पत्ता लगाउन भएको छ। एप्पल वाचमा गरिएको एक अध्ययनमा अनियमित मुटुको धड्कनसम्बन्धी चेतावनीमध्ये ८४ प्रतिशतमा वास्तवमै एएफिब भएको पुष्टि भएको थियो।

यही कारणले एएफिब पत्ता लगाउने सुविधा चिकित्सकहरूले उपयोगी मान्ने केही स्मार्टवाच फिचरमध्ये एक हो। किनभने एएफिबको स्पष्ट शारीरिक संकेत हुने भएकाले वेयरेबल उपकरणले यसलाई अपेक्षाकृत सजिलै पत्ता लगाउन सक्छ।

यसबाहेक आधारभूत निद्राको ढाँचा र दैनिक पाइला गणनालाई पनि चिकित्सकहरूले केही हदसम्म भरपर्दो मान्छन्। तर विस्तृत निद्रा चरण, रक्तचाप, क्यालोरी खर्चको अनुमान, फिटनेस मापन गर्ने भीओटू म्याक्स, हार्ट रेट भेराएबिलिटी तथा विभिन्न दैनिक स्वास्थ्य स्कोरलाई उपचारको आधार बनाउन पर्याप्त विश्वसनीय मानिँदैन।

भरपर्दो मानिएका सूचकले पनि कहिलेकाहीँ गलत संकेत दिन सक्छन्। उदाहरणका लागि आराम गरिरहेको अवस्थामा मुटुको धड्कन बढ्नु संक्रमणको संकेत हुन सक्छ, तर राम्रोसँग निद्रा नपुग्नु वा धेरै मदिरा सेवन गर्नु पनि त्यसको कारण हुन सक्छ।

चिकित्सकहरूले एउटै मापनभन्दा लामो समयसम्म देखिएको स्वास्थ्य प्रवृत्तिलाई बढी महत्व दिने गर्छन्।

फ्लु वा कोभिड–१९ जस्ता रोगका लक्षण देखिनुअघि नै शरीरमा सूक्ष्म परिवर्तन सुरु हुन्छ। छालाको तापक्रम, आराम अवस्थामा मुटुको धड्कन वा श्वासप्रश्वासमा भएका सामान्य परिवर्तनलाई अलग–अलग हेर्दा खास अर्थ नदेखिए पनि ती सबैलाई व्यक्तिको सामान्य अवस्थासँग तुलना गर्दा बिरामी हुन लागेको संकेत मिल्न सक्छ।

अनुसन्धानहरूले वेयरेबल उपकरणले लक्षण देखिनुअघि नै श्वासप्रश्वाससम्बन्धी संक्रमणका कारण शरीरमा आएका परिवर्तन पत्ता लगाउन सक्ने देखाएका छन्।

टेक्सास ए एन्ड एम विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयको हालैको अध्ययनले स्मार्टवाचले कोभिड–१९ र इन्फ्लुएन्जाका प्रारम्भिक संकेत संक्रमण भएको केही घण्टामै देखाउन सक्ने जनाएको छ।

अनुसन्धानकर्ताका अनुसार यस्तो जानकारीका आधारमा मानिसले छिट्टै परीक्षण, उपचार र आइसोलेसन गरे महामारीको संक्रमण ५० प्रतिशतसम्म घटाउन सकिन्छ।

हालका वर्षमा कृत्रिम बुद्धिमत्ता (एआई) र नयाँ सेन्सर प्रविधिको विकाससँगै वेयरेबल स्वास्थ्य प्रविधि थप उन्नत बन्दै गएको छ। गुगल, ओउरा र हुप जस्ता कम्पनीहरूले प्रयोगकर्ताको स्वास्थ्य तथ्यांक बुझ्न सहयोग गर्ने एआई प्रणाली आफ्नो एपमा समावेश गरेका छन्।

ओउराको ‘सिम्प्टम राडार’ र एप्पलको ‘भाइटल्स’ जस्ता सुविधाले विभिन्न सेन्सरबाट प्राप्त जानकारीलाई प्रयोगकर्ताको सामान्य अवस्थासँग तुलना गरेर सम्भावित स्वास्थ्य समस्या देखाउन सक्छन्। साथै, गुगलको ‘जेमिनी’ जस्ता एआई प्रणालीले भविष्यमा यस्ता तथ्यांकको विश्लेषणमा अझ ठूलो भूमिका खेल्ने अपेक्षा गरिएको छ।

एआईले दिएको स्वास्थ्य विश्लेषणले मानिसलाई समयमै चिकित्सककहाँ जान प्रेरित गर्न सक्ने भए पनि यसैमा पूर्ण रूपमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ। विशेषज्ञहरूका अनुसार स्मार्टवाच वा एआईबाट प्राप्त जानकारीले चिकित्सकको प्रत्यक्ष परामर्श र नियमित स्वास्थ्य परीक्षणको विकल्प बन्न सक्दैन।

विशेषज्ञहरूको भनाइमा भविष्यको वेयरेबल स्वास्थ्य प्रविधिले हातको घडीबाटै रोगको निश्चित निदान गर्नेभन्दा पनि शरीरमा देखिएका असामान्य परिवर्तन समयमै पहिचान गरेर प्रयोगकर्तालाई चिकित्सकसँग परामर्श गर्न प्रेरित गर्ने भूमिका खेल्ने सम्भावना बढी छ।

प्रकाशित: २२ असार २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार