
काठमाडौं ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी उपत्यकाको ट्राफिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल गरेको छ।
छलफलका क्रममा प्रमुख काफ्लेले ट्राफिक प्रहरी कार्यालय र नाडाबीच सिर्जनात्मक तथा दीर्घकालीन उद्देश्यका विषयमा सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनले पहाडी क्षेत्रमा सञ्चालनका लागि उपयुक्त ठूला सिसिका मोटरसाइकलहरू पनि काठमाडौं शहरभित्र व्यापक रूपमा चल्ने गरेको उल्लेख गर्दै मोटरसाइकलको तुलनामा स्कुटरको दुर्घटना दर कम रहेको तथ्यतर्फ ध्यानाकर्षण गराए।
काफ्लेले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नाडाले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि पहल गर्न आग्रह गरे।
साथै, सवारीसाधन खरिद गर्ने ग्राहक, सर्भिस सेन्टर तथा पहिलोपटक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने व्यक्तिहरूलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिब एक घण्टाको छोटो प्रशिक्षण दिने व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरे।
कार्यक्रममा नाडाका अध्यक्ष उप्रेतीले विगतमा ट्राफिक प्रहरी कार्यालयसँग भएका सहकार्यका अनुभवबारे चर्चा गर्दै नाडाको आगामी ५०औँ वार्षिक साधारण सभा तथा स्वर्ण उत्सवको अवसरमा असार १३ गतेदेखि १९ गतेसम्म राजधानीमा विशेष सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए।
उनले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको सहयोग आवश्यक रहने भन्दै आवश्यक सहकार्यका लागि आग्रह गरे।
उप्रेतीले नाडाले ट्राफिक जनचेतना अभिवृद्धिका लागि स्टिकरमार्फत विशेष अभियान सञ्चालन गर्ने तयारी समेत गरेको जानकारी दिए।
छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले ट्राफिक प्रहरी कार्यालयसँग विगतदेखि सहकार्य हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिन नाडा प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल तथा कोषाध्यक्ष पंकज अग्रवालले समेत ट्राफिक व्यवस्थापन सुधार र सहकार्य विस्तारका विषयमा आफ्ना धारणा राखेका थिए।
प्रकाशित: २ असार २०८३, मंगलवार