
काठमाडौं ।
कोशी प्रदेश सरकारले स्टार्टअप उद्यम बिउपुँजीका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ। प्रदेशको उद्योग कृषि तथा सरकारी मन्त्रालयले बुधबार एक सूचना प्रकाशन गरी यसबारे सम्बन्धित सबैलाई जानकारी गराएको हो।
‘स्टार्टअप उद्यम बिउपुँजी परिचालन कार्यविधि, २०८२ को दफा ४ बमोजिमको योग्यता पूरा गरेका अनुसूची-१ बमोजिमको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम बिउपुँजी लिन इच्छुक उद्यमीले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र अनुसुची – ३ बमोजिमको ढाँचामा यस मन्त्रालयमा वा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरूमा परियोजना प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ।
स्टार्टअप बिउपुँजी परिचालन कार्यविधि, २०८२ मन्त्रालयको वेबसाइट www.moiac.koshi.gov.np मा उपलब्ध रहेको छ।
थप विस्तृत जानकारीका लागि सम्बन्धित जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ।
प्रकाशित: २६ चैत्र २०८२, बिहीबार