सूचना तथा संचार प्रविधिलाई अपांगतामैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

Technology Khabar १९ बैशाख २०७६, बिहीबार

काठमाडौं ।

काठमाडौं । सूचना प्रविधि दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले सूचना प्रविधि क्षेत्र अपांगतामैत्री नभएको भन्दै त्यसलाई अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालले विगत २ वर्षदेखि मे २ तारिखमा मनाउँदै आएको सूचना प्रविधि दिवस अर्थात आईसिटी डेको अवसरमा लर्न एशिया, इन्टरनेट सोसाईटिद्धारा आयोजित कार्यक्रममा वक्ताहरुले सूचना प्रविधि क्षेत्र अपांगतामैत्री नभएको भन्दै त्यसको लागि ठोस नीति आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले सूचना प्रविधिलाई आर्थिक समृद्धिको आधारको रुपमा बढाउन लागिएको जानकारी दिए ।

‘हामीले सूचना प्रविधि क्षेत्रलाई आर्थिक समृद्धिको आधारको रुपमा अगाडि बढाउन नै डिजिटल नेपालको फ्रेमवर्क बनाउँदै छौं, र यो छिटै सार्वजनिकरुपमा आउनेछ,’ उनले भने ।

सचिव गुरुङ्गले डिजिटल नेपाल बनाउन समावेशीता हुनुपर्ने भन्दै अपांगता भएका व्यक्तिहरुलाई पनि त्यसमा समावेश गरिनुपर्ने बताए । उनले भौतिक पूर्वाधारहरु पनि अपांगतामैत्री हुनुपर्ने भन्दै सूचना प्रविधिका आधारभूत आवश्यकतालाई सबैले प्रयोग गर्न सक्ने किसिमको हुनुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा बोल्दै नेपाल दूरसंचार प्राधिकरणका निर्देशक मिन प्रसाद अर्यालले सूचना प्रविधिको प्रयोग अपांगता भएका व्यक्तिहरुको लागि विशेषरुपमा उपलब्ध गराउने किसिमको कानून आवश्यक भएको औंल्याए । उनले प्राधिकरणले दूरसंचार कम्पनीहरुको लागि सोहि अनुसारको निर्देशिका समेत बनाएको जानकारी दिए ।

त्यसैगरि वल्र्डलिंक कम्यूनिकेसन्सका समित जनाले अपांगतामैत्री सूचना प्रविधिको विकास गर्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने भन्दै निजी क्षेत्रले अझ छिटो सो विषयमा काम गर्न सक्ने बताए ।

नेपाल टेलिकमका सह प्रवक्ता कृष्णप्रसाद भण्डारीले अपांगता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गरिनुपर्ने भन्दै सूचना प्रविधिको पहुँचमा वृद्धि गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा लर्न एशियाका अध्यक्ष रोहन समराजीवाले अपांगता भएका व्यक्तिहरुलाई सूचना तथा संचार प्रविधिमा जोड्न सकिने उपायहरुको बारेमा जानकारी दिएका थिए ।

सोहि कार्यक्रममार्फत लर्न एशियाले सूचना तथा संचार प्रविधि विषयमा अपांगता भएका व्यक्तिहरुको स्वतन्त्र जीवनयापन प्रबद्र्धन गर्न सामान्य तथा तत्काल कार्यान्वयन गर्न सकिने उपायहरुसहितको स्वेत पत्र जारी गरेको छ । दुई वर्षे अनुसन्धानको आधारमा तयार पारिएको सो प्रस्तावमा अल्पकालिन तथा दिर्घकालिन समाधानका उपायहरु समेटिएको छ ।

लर्न एशियाका अध्यक्ष समराजीवाले अपांगता भएका व्यक्तिहरुलाई थप स्वतन्त्र रुपमा जीउन सहयोग गर्र्ने विषय उनीहरुका लागि मात्र नभई उनीहरुका परिवार र सम्पूर्ण समाजको लागि नै राम्रो कुरा भएको बताए ।

सो अनुसन्धानकाअनुसार नेपालमा १५ देखि ६५ वर्ष उमेर समुहका १.६ प्रतिशत जनसंख्या अपांगता भएका व्यक्तिका रुपमा रहेको छ ।

अपांगता भएका व्यक्तिहरुमध्ये केवल ३२ प्रतिशतसँग मात्र मोबाइल फोन छ भने ४१ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने गरेका छन् । अपांगता भएका मोबाइल प्रयोगकर्ताहरुमध्ये केवल ३ प्रतिशतसँग मात्र विशेष मोबाइल फोन प्याकेजहरु रहेको अनुसन्धानमा उल्लेख छ ।

सो अनुसन्धान लर्न एशियाले इन्टरनेट सोसाईटि नेपाल र सेन्टर फर ल एण्ड टेक्नोलोजीसँगको सहकार्यमा नेपालमा सन् २०१८ मा सम्पन्न गरेको थियो ।

प्रकाशित: १९ बैशाख २०७६, बिहीबार

तपाइको प्रतिक्रिया