Technology Khabar १९ बैशाख २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । सन् २०१९ को पहिलो चौमासिकमा स्मार्टफोन बिक्रीमा ६ प्रतिशत भन्दा बढिको कमी आएको छ । इन्टरनेशनल डाटा कर्पोरेशन आईडिसीले सार्वजनिकगरेको तथ्यांकअनुसार २०१९ को पहिलो क्वाटरमा गत वर्षको सोहि अवधिको तुलनामा स्मार्टफोन शिपमेन्टमा ६.६ प्रतिशतको कमी आएको छ ।
सो अवधिमा विश्व बजारमा ३१.०८ करोड स्मार्टफोन बिक्री भएको छ । यसअघि सन् २०१८ मा स्मार्टफोन बजार ४.१ प्रतिशतले कम भएको थियो ।
आईडिसीकाअनुसार यो तथ्यांकले सन् २०१९ भरी विश्वभर स्मार्टफोन बिक्रीमा गिरावट आउने देखाएको छ । तर यहि अवधिमा चिनियाँ स्मार्टफोन कम्पनी ह्वावेले भने ससक्त वृद्धि हासिल गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशतले बिक्रीमा वृद्धि गर्दै विश्वबजारमा दोस्रो स्थान हात पार्न सफल भएको छ ।
पहिलो स्थानमा कोरियाली टेक कम्पनी सामसंग नै रहेपनि ह्वावेले एप्पललाई पछाडि पार्दै दोस्रो स्थानमा आएको छ भने सामसंगको पनि केहि बजार हिस्सा घटाएको छ ।
आईडिसीले उपभोक्ताहरुले अझै पुराना फोनहरु प्रयोग गर्न चाहेको र महंगो मूल्यका स्मार्टफोनहरु किन्न नचाएको उल्लेख गरेको छ । त्यसैगरि बजार घट्नुको अर्को कारणमा अधिकांश कम्पनीहरुले ५जी स्मार्टफोन ल्याउने भनिरहेको हुँदा सन् २०२० सम्ममा फोरजी र फाईजी दुबै नेटवर्कका स्मार्टफोनको छनौट उपलब्ध हुने कारणले बजार घटेको अनुमान गरिएको छ ।
तथ्यांकअनुसार सामसंगले ७.१९ करोड सेट स्मार्टफोन बिक्री गरेको छ जून अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ८.१ प्रतिशतले कम हो । सामसंम अहिलेसम्म बजारमा पहिलो स्थानमा रहेपनि ह्वावेले निरन्तर बजार हिस्सा बढाउँदै गर्दा सामसंगलाई पनि चुनौती भएको छ ।
चिनियाँ स्मार्टफोन मेकर ह्वावेले सन् २०१९ को पहिलो क्वाटरमा एप्पललाई पछाडि पार्दै दोस्रो स्थान ओगटेको छ । कम्पनीले सो अवधिमा ५०.३ प्रतिशतको वृद्धि हासिल गर्न सफल भएको छ भने कुल ५.९१ करोड यूनिट स्मार्टफोन बेचेको छ ।
त्यसैगरि तेस्रो स्थानमा पुगेको एप्पलको बिक्रीमा ३०.२ प्रतिशत कमी आएको देखिएको छ । कम्पनीले सो अवधिमा केबल ३.६४ करोड यूनिट आइफोन मात्र बिक्री गर्न सफल भएको छ । आइफोनको मूल्यका कारण कम्पनीले अधिकांश बजारमा प्रतिस्पर्धा गर्नुपरेको उल्लेख छ ।
अर्को चिनियाँ कम्पनी साओमीले सो अवधिमा २.५ करोड यूनिट स्मार्टफोन बिक्री गर्दै चौथो स्थानमा छ । कम्पनीले सो अवधिमा १०.२ प्रतिशतको गिरावट भोगेको छ ।
अन्य दुई कम्पनी भीभो र ओपोले भने समान किसिमको बजार हिस्सा कायम गरेका छन् । दुबै कम्पनीले २०१९ को पहिलो क्वाटरमा ७.५ प्रतिशत र ७.४ प्रतिशत बजार हिस्सा कायम गरेका छन् । बजारको आधारमा भीभो ओपोभन्दा केहि अगाडि रहेको छ । भीभोले २.३२ करोड यूनिट विश्वभर बिक्री गरेको छ भने ओपोले २.३१ करोड स्मार्टफोन बिक्री गरेको छ ।
त्यसैगरि अन्य विभिन्न ब्राण्डहरुले समग्रमा ७.२१ करोड यूनिट स्मार्टफोन बिक्री गर्दै २३.२ प्रतिशत बजार हिस्सा राखेका छन् ।
प्रकाशित: १९ बैशाख २०७६, बिहीबार