
काठमाडौं ।
गुगलले केही चिकित्सासम्बन्धी सर्चहरूका लागि ‘एआई ओभरभ्यु’ हटाएको छ। स्वास्थ्यसम्बन्धी केही खोज प्रश्नमा गुगलको ‘एआई ओभरभ्यु’ ले भ्रामक जानकारी दिएको पाइएको गार्जियनको अनुसन्धानपछि कम्पनीले तीमध्ये केही प्रश्नका नतिजाबाट एआई ओभरभ्यु हटाएको देखिएको छ।
गार्जियनका अनुसार प्रयोगकर्ताले “लिभर ब्लड टेस्टको सामान्य दायरा के हो?” भनेर सोध्दा, राष्ट्रियता, लिङ्ग, जातीयता वा उमेरजस्ता महत्वपूर्ण कारकलाई ध्यान नदिई संख्यात्मक जानकारी देखाइँदै थियो। यसले कतिपय प्रयोगकर्तालाई आफ्ना रिपोर्ट सामान्य छन् भन्ने गलत बुझाइ दिन सक्थ्यो।
अब “लिभर ब्लड टेस्टको सामान्य दायरा के हो?” र “लिभर फङ्सन टेस्टको सामान्य दायरा के हो?” जस्ता खोजमा एआई ओभरभ्यु हटाइएको गार्जियनले जनाएको छ। तर “ फरक शब्द प्रयोग गर्दा भने अझै एआईले तयार पारेको सारांश देखिन सक्ने पाइएको छ।
गार्जियनको समाचार प्रकाशित भएको केही घण्टापछि गरिएका परीक्षणमा भने ती कुनै पनि खोजमा एआई ओभरभ्यु देखिएन। तर गुगलले ‘एआई मोड’ प्रयोग गरेर सोही प्रश्न सोध्ने विकल्प भने देखाइरहेको थियो। केही अवस्थामा त शीर्ष नतिजामै एआई ओभरभ्यु हटाइएको विषयमा गार्जियनको समाचार देखिएको थियो।
टेकक्रञ्चका अनुसार गुगलका प्रवक्ताले गार्जियनलाई दिएको प्रतिक्रियामा खोज परिणामभित्रका व्यक्तिगत हटाइएका विषयमा कम्पनीले टिप्पणी नगर्ने बताएका छन्। तर खोज प्रणाली सुधार गर्न “व्यापक सुधार” मा काम भइरहेको उनको भनाइ छ।
प्रवक्ताका अनुसार गार्जियनले औँल्याएका प्रश्नहरू कम्पनीको आन्तरिक चिकित्सक टोलीले समीक्षा गरेको थियो र धेरै अवस्थामा ती जानकारी गलत नभएको तथा गुणस्तरीय वेबसाइटबाट समर्थित रहेको निष्कर्ष निकालिएको छ।
टेकक्रञ्चले पनि यस विषयमा थप प्रतिक्रिया माग्दै गुगललाई सम्पर्क गरेको जनाएको छ। गत वर्ष गुगलले स्वास्थ्यसम्बन्धी खोजलाई सुधार गर्ने उद्देश्यले नयाँ फिचरहरू घोषणा गरेको थियो, जसमा सुधारिएको ओभरभ्यु र स्वास्थ्य केन्द्रित एआई मोडल पनि समावेश थिए।
ब्रिटिस लिभर ट्रस्टकी सञ्चार तथा नीतिनिर्देशक भानेसा हेबडिचले गार्जियनलाई एआई ओभरभ्यु हटाइनु “उत्कृष्ट खबर” भएको बताइन्। तर उनले थपिन्, “हाम्रो ठूलो चिन्ता भनेको एउटै खोज परिणाममा मात्र ध्यान दिएर गुगलले एआई ओभरभ्यु बन्द गरिदिनु हो। यसले स्वास्थ्यसम्बन्धी एआई ओभरभ्युको व्यापक समस्यालाई सम्बोधन गरिरहेको छैन।”
प्रकाशित: २९ पुष २०८२, मंगलवार