काठमाडौं ।
काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा आएका नयाँ प्रविधिहरुको बारेमा जानकारी दिन ह्वावे टेक्नोलोजीज नेपाल कम्पनी लिमिटेडले चारदिने मोबाइल नेपाल कंग्रेस २०१९ आयोजना गरेको छ ।
चिनियाँ टेक कम्पनी ह्वावेले आयोजना गरेको सो कंग्रेसको उद्घाटन गर्दै सूचना तथा संचार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले डिजिटल पहुँच कम रहेको भन्दै त्यसको बिस्तारमा ध्यान दिनुपर्ने बताए।
‘हामीकहाँ डिजिटल पहुँच कम छ र भएका डिजिटल पहुँच पनि गुणस्तरीय छैनन्, त्यसैलाई बढाउनु चुनौतीपूर्ण भएको छ,’ उनले भने ।
मन्त्री बास्कोटाले डिजिटल नेपाल बनाउने लक्ष्यमा सरकार सक्रिय रहेको जानकारी दिए ।मन्त्रालयले फोरजी सेवा बिस्तारमा तिब्ररुपमा काम गरिरहेको जानकारी दिँदै त्यसपछि फाइभजी ल्याउने तयारीमा लाग्ने बताए ।
‘अब बिलम्ब नगरिकन यो क्षेत्रलाई विकास र बिस्तार गर्दै आम जनताको पहुँचमा पुर्याउन सरोकारबाला निकायहरु सबैले योगदान दिनु जरुरी छ,’ उनले भने ।
यो क्षेत्रमा सरकारले पनि पर्याप्त लगानी गर्ने योजना बनाएको मन्त्री बास्कोटाले जानकारी दिए ।
कार्यक्रममा ह्वावे टेक्नोलोजिज नेपालका प्रमुख कार्यकारी अधिकृत तंङ्ग स्वेफनले नेपालमा नयाँ प्रविधि भित्र्याउन चाहेको र यसले सरकारको उद्धेश्यलाई सहयोग पुर्याउने बताए ।
‘हामीले कसरी यो देशको सूचना प्रविधिको विकास गर्न सक्छौं भन्ने हो, हाम्रा स्टेकहोल्डरहरुलाई सहयोग गर्नका लागि यस्तो कार्यक्रम उपयोगी हुनेछ,’ ह्वावेका प्रमुख कार्यकारी अधिकृत स्वेफनले भने ।
स्थानियस्तरको विकास नभई अन्य विकास नहुने भन्दै ह्वावे नेपालमा पनि स्थानियस्तरमा विकासको लागि निकै सचेत भएको उनले बताए । डिजिटल नेपालको अभियानलाई सहयोग गर्न सबैको योगदान आवश्यक हुने भन्दै त्यसको लागि पनि काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
मोबाइल नेपाल कंग्रेसमा स्मार्ट ग्रीड, स्मार्ट सिटी, सेफ सिटी, आर्टिफिशियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, क्लाउड डाटासेन्टर र क्लाउड कम्प्यूटिंगलगायतका विषयवस्तुहरु रहेका छन् ।
सम्मेलनमा वर्तमान प्रविधिको प्रवृत्ति, बिजनेस सोलुसन र कम्पनीले आफूले अनुसन्धान र विकास गरेका नयाँ आविश्कारहरु प्रदर्शन गरिएका छन् । चारदिनसम्म आयोजना हुने सो कार्यक्रममा प्रत्येक दिन विभिन्न क्षेत्रका सरोकारबाला निकायहरुलाई जानकारी दिईने आयोजकले जनाएको छ ।
प्रकाशित: २४ चैत्र २०७५, आईतवार