वैज्ञानिकहरु भन्छन्- यो नयाँ प्रवधिमार्फत् आणविक फोहोरलाई भविष्यको इन्धन बनाउन सकिन्छ

  • Technology Khabar | ७ भाद्र २०८२, शनिबार

काठमाडौं ।

न्यूक्लियर फोहोरलाई परमाणु फ्युजन (न्यूक्लियर फ्युजन) का लागि आवश्यक दुर्लभ आणविक उत्पादन गर्न प्रयोग गर्न सकिने सम्भावना भएको एक वैज्ञानिकले बताएका छन्। यसले सैद्धान्तिक रूपमा लगभग असीमित स्वच्छ ऊर्जा उत्पादन गर्न सक्ने देखाइएको छ।

हाइड्रोजनको रेडियोधर्मी रूप ट्रिटियम पृथ्वीमा सजिलै उपलब्ध हुँदैन, यसको उत्पादन महँगो छ र सानो मात्रामा मात्र सम्भव हुन्छ। यसै साता अमेरिकन केमिकल सोसाइटी (एसीएस) को वार्षिक बैठकमा लस अलामोस नेसनल ल्याबोरेटरीका भौतिकशास्त्री टेरेन्स टार्नोब्स्कीले ट्रिटियमलाई परमाणु विखण्डन (न्यूक्लियर फिजन) बाट निस्कने उपउत्पादबाट निकाल्न सकिने सुझाव दिएका छन्। अहिलेका अधिकांश परमाणु रिएक्टरहरू यही प्रक्रियामार्फत ऊर्जा उत्पादन गर्छन्।

लाइभसाइन्सका अनुसार न्यूक्लियर फ्युजन भनेको परमाणुहरूलाई जोडेर तातो ऊर्जा निकाल्ने प्रक्रिया हो। यसका लागि विभिन्न प्रतिक्रिया प्रयोग गर्न सकिन्छ तर सामान्यतया ड्युटेरियम र ट्रिटियमलाई जोडेर हिलियम बनाउन सकिने भनिन्छ। तर हालसम्म वैज्ञानिकहरूले ठूलो मात्रामा यस्तो प्रक्रिया सञ्चालन गरेर ऊर्जा नोक्सानीभन्दा बढी उत्पादन गर्ने स्तर (इग्निशन) हासिल गर्न सकेका छैनन्।

अर्को ठूलो चुनौती चाहिँ इन्धनकै लागत हो। अहिले ट्रिटियमको आपूर्ति निकै सीमित छ र यसको मूल्य अत्यधिक छ।
टार्नोव्स्कीका अनुसार पहिलो पुस्ताका फ्यूजन रिएक्टरहरू विद्युत् ग्रिडमा योगदान गर्न तयार हुँदा ट्रिटियममै निर्भर हुनेछन्। ड्युटेरियम र हिलियम-३ जस्ता अन्य प्रतिक्रिया पनि सम्भव भए तापनि त्यसका लागि अझ उच्च तापक्रम आवश्यक पर्ने भएकाले महँगो र कम व्यवहारिक हुन्छ। तर ट्रिटियम धेरै मात्रामा जम्मा गर्न गाह्रो छ, किनभने यो छिट्टै नष्ट हुने तत्व हो। यसको अर्धआयु छोटो भएकाले हरेक वर्ष करिब ५.५ प्रतिशत घट्छ। त्यसैले लामो समयका लागि भण्डारण गरेर राख्न सकिँदैन। भविष्यका फ्यूजन प्लान्टका लागि ट्रिटियम उत्पादन गर्ने नयाँ र किफायती उपाय चाहिने टार्नोव्स्कीले बताएका छन्।

हाल परमाणु रिएक्टरहरूले फिजन प्रयोग गर्छन् जसमा परमाणु फुट्दा ऊर्जा निस्कन्छ। तर यसबाट लामो समयसम्म नष्ट नहुने खतरनाक फोहोर निस्कन्छ। प्रयोग भइसकेको परमाणु इन्धनमा युरेनियम, प्लुटोनियम तथा स्ट्रोन्टियम र आयोडिन जस्ता समस्थानिक हुन्छन्, जसलाई पूर्ण रूपमा क्षय हुन लाखौँ वर्ष लाग्छ।

टार्नोव्स्कीले यिनै फोहोरलाई प्रयोग गरेर ट्रिटियम उत्पादन गर्ने प्रस्ताव गरेका छन्। यसका लागि पार्टिकल एक्सेलेरेटर प्रयोग गरेर यी परमाणुहरू फुटाइनेछन्। त्यस क्रममा हुने श्रृंखलाबद्ध प्रतिक्रियाबाट अन्ततः ट्रिटियम निस्कनेछ। यसरी गर्दा परमाणु फोहोर हट्ने त होइन तर त्यसैलाई फेरि प्रयोग गर्न सकिनेछ।

उनका प्रारम्भिक गणनाअनुसार १ गिगावाट ऊर्जा प्रयोग गर्दा, जसको लागत दशौँ मिलियन डलर पर्न सक्छ, एक वर्षमा करिब २ किलोग्राम (४.४ पाउन्ड) ट्रिटियम उत्पादन गर्न सकिन्छ। यो मात्रामा ट्रिटियमले अमेरिकामा दशौँ हजार घरलाई एक वर्ष ऊर्जा दिन सक्ने अनुमान छ। उनले यस प्रविधिले हालका अन्य विधिभन्दा १० गुणा बढी ट्रिटियम उत्पादन गर्न सक्ने दाबी गरेका छन्।

हाल अमेरिकासँग स्थिर, किफायती र विश्वसनीय ट्रिटियम आपूर्ति नभएको लाइभसाइन्सले उल्लेख गरेको छ। यसको मूल्य करिब प्रति पाउन्ड १५ मिलियन डलर (प्रति किलोग्राम ३३ मिलियन डलर) छ। तर हजारौँ टन परमाणु फोहोर भने छ, जसलाई राख्न महँगो पर्छ र वातावरणका लागि खतरनाक हुन्छ।

“यो प्रविधि अहिले नै सम्भव छ,” टार्नोव्स्कीले भनेका छन्। “यो सरकारकै स्वामित्वमा रहेको प्रयोग भइसकेको परमाणु इन्धनलाई प्रयोग गर्ने दिशामा ठूलो परिवर्तन हुनेछ।”

तर अझै विस्तृत योजना बनाउन धेरै कुरा प्रस्ट हुन बाँकी छ। तर उनले आफ्नो प्रस्ताव सकारात्मक रूपमा लिइनु आशाजनक भएको बताएका छन्। उनले भने, “थ्री–माइल आइल्याण्ड र चर्नोबिल जस्ता दुर्घटनापछि परमाणु ऊर्जा निषेधित विषय बनेको थियो, तर अहिले समय फेरिएको छ।”

प्रकाशित: ७ भाद्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया