क्रस प्लेटफर्म सोसियल स्ट्रिमिङ एप रेभद्वारा एप्पलविरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा दायर

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
क्रस प्लेटफर्म सोसियल स्ट्रिमिङ एप रेभद्वारा एप्पलविरुद्ध प्रतिस्पर्धा विरोधी मुद्दा दायर

काठमाडौं ।

क्रस प्लेटफर्म सोसियल स्ट्रिमिङ एप रेभले भिडियो सामग्री सामूहिक रूपमा हेर्न मिल्ने आफ्नो एपलाई एप्पलले प्रतिस्पर्धी उत्पादन सार्वजनिक गरेपछि एप स्टोरबाट हटाएको आरोप लगाउँदै बिहीबार प्रतिस्पर्धा विरोधी मुद्दा दायर गरेको छ।

क्यानडाको ओन्टारियोस्थित रेभले अमेरिकाको न्यू जर्सीस्थित संघीय अदालतमा दायर गरेको उजुरीमा एप स्टोरमा पुनः समावेश गर्न र “सयौं मिलियन डलर” क्षतिपूर्ति माग गरेको छ।

एप्पलले एक वक्तव्यमा “यी आधारहीन आरोपहरू अस्वीकार गर्छौं” भनेको छ। कम्पनीले रेभ एपलाई बारम्बार नियम उल्लंघन गरेपछि हटाइएको र यसबारे विकासकर्तालाई पटकपटक जानकारी गराइएको जनाएको छ।

एप्पल का अनुसार उल्लंघनमा अश्लील र पाइरेटेड सामग्री होस्ट तथा साझेदारी गर्नुका साथै बाल यौन दुर्व्यवहार सामग्रीसम्बन्धी प्रयोगकर्ता गुनासाहरू पनि समावेश थिए।

एप्पलका आरोपबारे तयार गरिएको वक्तव्यमा रेभका प्रवक्ताले बाल यौन दुर्व्यवहार सामग्रीसम्बन्धी आरोपलाई “आधारहीन” बताएका छन्। कम्पनीले आफूले गैरकानुनी वा शोषणमूलक सामग्रीप्रति शून्य सहनशीलता अपनाएको जनाएको छ।

साथै एप्पलले “निष्पक्ष वा पारदर्शी प्रक्रिया बिना आफ्नो एकाधिकार नाफा बढाउन एप स्टोरबाट क्रस-प्लेटफर्म प्रतिस्पर्धी हटाएको” आरोप लगाएको छ।

रोयटर्सका अनुसार सन् २०१३ मा स्थापना भएको रेभले प्रयोगकर्तालाई एप्पलको आईओएस, एण्ड्रोइड, विण्डोज तथा एप्पलका म्याक कम्प्युटरमा सँगै भिडियो हेर्न र छलफल गर्न मिल्ने एप विकास गरेको हो। उक्त एप अहिले पनि एण्ड्रोइड र विण्डोजमा उपलब्ध छ।

कानुनी उजुरीमा रेभले एप्पलले सन् २०२५ मा “बेइमान वा धोखाधडी गतिविधि” भएको भन्दै आफ्नो एप हटाएको आरोप लगाएको छ। रेभका अनुसार वास्तविक कारण भने एप्पल ले सन् २०२१ मा सार्वजनिक गरेको समान उत्पादन शेयरप्लेसँग प्रतिस्पर्धा हुनु थियो। विज्ञापन आम्दानीमा आधारित भएकाले रेभले एप्पललाई इन-एप खरिदबाट कमिसन आम्दानी गराइरहेको थिएन।

रेभका प्रमुख कार्यकारी अधिकृत माइकल पाजारजले प्रेस विज्ञप्तिमा “एप स्टोर बाट रेभ हटाउने एप्पल को बहानाबाजीपूर्ण निर्णयले उपभोक्ताको छनोट सीमित गरेर र एप्पल तथा गैर-एप्पल प्रयोगकर्ताबीच सह-दृश्य अनुभव रोक्दै ठूलो क्षति पुर्‍याएको” बताएका छन्।

उनले “एप्पल का कदमले प्रयोगकर्तालाई मनपर्ने उत्पादन प्रयोग गर्नबाट वञ्चित गर्‍यो, रेभमा बनेका समुदायहरू विघटन गर्‍यो र उत्पादनको गुणस्तरका आधारमा निष्पक्ष प्रतिस्पर्धा गर्ने रेभ को क्षमता कमजोर बनायो” भने।

एप्पल सन् २०२० देखि एपिक गेम्ससँग इन-एप खरिदमा कमिसन लिने अभ्यासलाई लिएर प्रतिस्पर्धा विरोधी विवादमा छ। उक्त विवादका कारण एप्पलको व्यापार मोडेलमा व्यापक परिवर्तन भएका थिए। अमेरिकी सर्वोच्च अदालतले गत साता उक्त मुद्दा पुनः क्यालिफोर्नियास्थित संघीय अदालतमा पठाएको थियो।

रेभले बिहीबार एप्पल विरुद्ध क्यानडा, रूस, नेदरल्यान्ड्स र ब्राजिलमा पनि यस्तै प्रतिस्पर्धा विरोधी कानुनी कारबाही दायर गरेको जनाएको छ।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार