
काठमाडौं ।
क्लाउडफ्लेयरले एआईका कारण १ हजार १ सय रोजगारी आवश्यक नभएको बताएको छ। यसबीच कम्पनीको आम्दानी भने ऐतिहासिक रुपमा उच्च स्तरमा पुगेको छ।
क्लाउडफ्लेयरले बिहीबार मेटा, माइक्रोसफ्ट र अमेजनजस्ता अन्य प्रविधि कम्पनीहरूको सूचीमा आफूलाई पनि समावेश गरेको छ, जसले एआई प्रयोगसँगै आम्दानी बढेको र ठूलो संख्यामा कर्मचारी कटौती गरिएको जानकारी दिएका छन्।
टेकक्रञ्चका अनुसार विश्वभरका लाखौं वेबसाइटलाई इन्टरनेट सुरक्षा तथा कार्यसम्पादन सेवा प्रदान गर्ने क्लाउडफ्लेयर ले आफ्नो कुल कार्यबलको करिब २० प्रतिशत अर्थात् १,१०० कर्मचारी कटौती गर्ने घोषणा गरेको हो। कम्पनीले यो जानकारी २०२६ को पहिलो त्रैमासिक आम्दानी प्रतिवेदनमा सार्वजनिक गरेको थियो।
“क्लाउडफ्लेयर को इतिहासमा हामीले यस्तो कहिल्यै गरेका थिएनौं,” कम्पनीका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत म्याथ्यु प्रिन्सले त्रैमासिक सम्मेलन कलमा भने। यो कम्पनीको १६ वर्षको इतिहासमा पहिलो ठूलो कर्मचारी कटौती हो।
कम्पनीका प्रमुख वित्तीय अधिकृत टमस साइफर्टका अनुसार बिक्री लक्ष्यसँग प्रत्यक्ष जोडिएका बिक्रीकर्मीबाहेक सबै टोली र क्षेत्रका कर्मचारी कटौती गरिनेछ।
कर्मचारी कटौतीको घोषणा कम्पनीले ६३ करोड ९८ लाख डलर त्रैमासिक आम्दानी सार्वजनिक गरेको बेला आएको हो। यो अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढी र कम्पनीको इतिहासकै उच्च त्रैमासिक आम्दानी हो।
तर कम्पनीको घाटा पनि बढेको छ। यस वर्षको पहिलो त्रैमासमा कम्पनीले ६ करोड २० लाख डलर घाटा व्यहोरेको छ, जबकि अघिल्लो वर्ष यही अवधिमा घाटा ५ करोड ३२ लाख डलर थियो।
आम्दानी तीव्र रूपमा बढे पनि घाटा विस्तार हुनु क्लाउडफ्लेयर को पुरानै अवस्थाको निरन्तरता भएको बताइएको छ। कम्पनीले तीव्र वृद्धि गरिरहेको भए पनि निरन्तर नाफामा जान सकेको छैन।

यद्यपि घाटा आम्दानीको अनुपातमा कम भएको र अन्य सकारात्मक संकेतहरू पनि देखिएको कम्पनीले जनाएको छ। उदाहरणका लागि क्लाउडफ्लेयर ले “रिमेनिङ पर्फर्मेन्स अब्लिगेशन्स” अन्तर्गत २ अर्ब ५० करोड डलरभन्दा बढी रहेको र यो अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशत वृद्धि भएको जानकारी दिएको छ।
यसबीच प्रिन्सले कर्मचारी कटौती खर्च घटाउन नभई एआई प्रयोगका कारण गरिएको दावी गरेका छन्।
प्रिन्स र क्लाउडफ्लेयरकी सह–संस्थापक तथा अध्यक्ष मिशेल ज्याटलिनले ब्लग पोस्टमा लेखेका छन्, “आजका निर्णयहरू खर्च कटौती वा व्यक्तिगत कार्यसम्पादनको मूल्यांकनका लागि होइनन्। यी निर्णयहरू एजेन्टिक एआई युगमा विश्वस्तरीय, तीव्र वृद्धि गर्ने कम्पनी कसरी सञ्चालन हुन्छ र मूल्य सिर्जना गर्छ भन्ने परिभाषित गर्नका लागि हुन्।”
प्रिन्सले सुरुमा क्लाउडफ्लेयर आफ्नै आन्तरिक कार्यमा एआई प्रयोग गर्न सावधान रहेको स्वीकार गरे।
“आन्तरिक रूपमा निर्णायक मोड गत नोभेम्बरमा आयो। त्यसपछि हाम्रा टोलीहरूमा ठूलो उत्पादकत्व वृद्धि देखिन थाल्यो। केही कर्मचारीहरू पहिलेभन्दा दुई, १०, यहाँसम्म कि १०० गुणासम्म बढी उत्पादक बने,” उनले भने। उनका अनुसार पछिल्लो तीन महिनामा मात्र क्लाउडफ्लेयर भित्र एआईको प्रयोग ६०० प्रतिशतभन्दा बढीले बढेको टेकक्रञ्चले उल्लेख गरेको छ।
प्रिन्सले कम्पनीको एआई कोडिङ प्रयोगबारे पनि चर्चा गर्दै लगभग सम्पूर्ण अनुसन्धान तथा विकास टोलीले कम्पनीकै क्लाउडफ्लेयर वर्कर्स प्लेटफर्म प्रयोग गरिरहेको बताए। उनले भाइब कोडिङ सुविधा प्रयोग गरी तयार गरिएका र कम्पनीका उत्पादनमा प्रयोग गरिएका सबै कोडहरू अहिले “स्वायत्त एआई एजेन्ट” द्वारा समीक्षा गरिने बताए।
उनका अनुसार इन्जिनियरिङदेखि मानव संसाधन, वित्त र मार्केटिङसम्मका कर्मचारीहरूले दैनिक हजारौं एआई एजेन्ट सत्र प्रयोग गरेर काम गरिरहेका छन्। यसका कारण अत्यधिक उत्पादक एआई–सक्षम कर्मचारीहरूलाई कम सहयोगी कर्मचारी आवश्यक पर्ने प्रिन्सको भनाइ छ। “उनीहरूलाई सहयोग गर्ने धेरै सपोर्ट भूमिकाहरू अब भविष्यमा कम्पनी चलाउने भूमिका हुने छैनन्,” उनले भने।
तर प्रिन्सले क्लाउडफ्लेयर ले अझै कर्मचारी भर्ती जारी राख्ने बताए। “यी उपकरण अपनाउने मानिसहरू पहिलेभन्दा धेरै उत्पादक छन्। २०२७ मा हाम्रो कर्मचारी संख्या २०२६ को कुनै पनि समयभन्दा बढी हुने अनुमान गर्छु,” उनले भने। क्लाउडफ्लेयर ले कर्मचारी कटौतीअघि कम्पनीमा करिब ५,५०० कर्मचारी रहेको जनाएको छ।
प्रिन्सले वर्णन गरेको बलियो आम्दानी वृद्धिका बीच एआईबाट भएको लाभलाई कर्मचारी कटौतीको आधार बनाउने ढाँचा अहिले प्रविधि उद्योगमा सामान्य बन्दै गएको बताइएको छ।
सम्मेलन कलमा एक विश्लेषकले राम्रो त्रैमासिक नतिजापछि पनि किन यति ठूलो कटौती आवश्यक पर्यो भनेर सोध्दा प्रिन्सले भने, “तपाईं फिट हुनुहुन्छ भन्दैमा अझ फिट बन्न सकिँदैन भन्ने होइन।”
प्रकाशित: २८ बैशाख २०८३, सोमबार