मेमोरी मूल्य तीव्र रूपमा बढेको असर आफ्नो गेम व्यवसायमा परेको निन्टेन्डो र सोनीको भनाई

  • Technology Khabar | २८ बैशाख २०८३, सोमबार
मेमोरी मूल्य तीव्र रूपमा बढेको असर आफ्नो गेम व्यवसायमा परेको निन्टेन्डो र सोनीको भनाई

काठमाडौं ।

निन्टेन्डो र सोनीले शुक्रबार एआई बूमका कारण चिप आपूर्ति सीमित हुँदा मेमोरी मूल्य तीव्र रूपमा बढेको असर आफ्नो गेम व्यवसायमा परेको बताएका छन्। यसले प्रविधि क्षेत्रमा आपूर्ति अवरोधलाई अझ गहिरो बनाएको छ।

एआई डाटा सेन्टरको मागका कारण स्मार्टफोन, ल्यापटप र अटोमोबाइलका लागि उपलब्ध आपूर्ति प्रभावित भएपछि मेमोरी चिपको मूल्य पहिलो त्रैमासिकमै अघिल्लो त्रैमासिकको तुलनामा दोब्बर भएको थियो। हालको त्रैमासिकमा मूल्य ६३ प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।

शीर्ष उत्पादक सामसङ, एसके हाइनिक्स र माइक्रोनले अर्बौं डलर लगानी गरेर उत्पादन बढाउने प्रतिबद्धता जनाए पनि नयाँ उत्पादन लाइन सञ्चालनमा आउन कम्तीमा एक वर्ष लाग्ने विज्ञहरूले बताएका छन्।

“सुपर मारियो” निर्माणकर्ता निन्टेन्डो ले विशेषगरी मेमोरीसहितका कम्पोनेन्ट लागत वृद्धि र भन्सार शुल्कको असरले चालु आर्थिक वर्षमा करिब १०० अर्ब येन अर्थात् ६३८ मिलियन डलर बराबर अतिरिक्त खर्च थपिने जनाएको छ।

एचएसबीसीका विश्लेषक काजुनोरी इटोले “निन्टेन्डोले मूल्य वृद्धि गर्न बाध्य हुनु भनेको मेमोरी लागत यति धेरै बढिसकेको संकेत हो कि अब कम्पनीले त्यसलाई आन्तरिक रूपमा धान्न सकेन” बताएका छन्।

उनले “निकट भविष्यमा लागत दबाब कम हुने सम्भावना कम भएकाले बजार अवस्था सुधार पर्खिनु उपयुक्त विकल्प नभएको मूल्यांकन यस निर्णयले देखाउँछ” भने।

निन्टेन्डोका अध्यक्ष शुन्टारो फुरुकावाले कम्पोनेन्ट लागत वृद्धि र विनिमय दरजस्ता कारणले निन्टेन्डो Switch 2 को मूल्य बढाउने निर्णय प्रभावित भएको बताएका छन्।

जापानी भाषाको स्विच टू जापान मोडेलको मूल्य १० हजार येनले बढाएर ५९ हजार ९८० येन बनाइनेछ भने अमेरिकामा उक्त गेमिङ उपकरणको मूल्य ५० डलर बढाएर ४९९.९९ डलर पुर्‍याइनेछ। फुरुकावाले मूल्य वृद्धि पछि पनि नाफा अघिल्लो आर्थिक वर्षसरह रहने बताएका छन्।

सोनी ले मार्चमा प्लेस्टेशन ५ को मूल्य वृद्धि गर्ने घोषणा गरेको थियो। अमेरिकामा यसको स्ट्यान्डर्ड संस्करणको मूल्य १०० डलर बढाएर ६४९.९९ डलर बनाइएको थियो।

कान्टान गेम्स परामर्श कम्पनीका संस्थापक सेर्कान टोटोले स्विच टू जीवनचक्रको सुरुआती चरणमै रहेकाले र निन्टेन्डो का सामान्य प्रयोगकर्ता मूल्यप्रति बढी संवेदनशील भएकाले मूल्य वृद्धिमा जोखिम रहेको बताएका छन्। उनले “प्रणालीको माग बढाउन निन्टेन्डो माथि यस आर्थिक वर्षमा थप लोकप्रिय आफ्नै गेम शीर्षक सार्वजनिक गर्ने दबाब बढेको” बताए।

कम्पनीको गेम सूची कमजोर मानिए पनि हालै पोकेमोन पोकोपिया सफल भएको छ भने आगामी शीर्षकमध्ये स्टार फक्स पनि समावेश छ।निन्टेन्डोले पुरानो स्विच र अनलाइन गेमिङ सेवाको मूल्य पनि बढाएको छ। साथै आफ्ना खेल कार्डहरू अब सूचीबद्ध मूल्यको सट्टा खुद्रा विक्रेताले निर्धारण गर्ने खुला मूल्य प्रणालीमा जाने जनाएको छ।

कम्पनीले यस वर्ष १ करोड ६५ लाख स्विच टू युनिट बिक्री हुने अनुमान गरेको छ, जुन गत वर्षको १ करोड ९९ लाख युनिटभन्दा कम हो। साथै ६ करोड सफ्टवेयर युनिट बिक्री हुने अपेक्षा गरिएको छ।

एआई बूम र इरान युद्धका कारण आपूर्ति शृंखलामा अवरोध आउँदा इलेक्ट्रोनिक्स उत्पादक कम्पनीहरूको नाफामा असर पर्ने चिन्ताले पछिल्ला महिनाहरूमा सोनी र निन्टेन्डो का सेयर दबाबमा परेका छन्। ५ खर्ब येनसम्म सेयर पुनर्खरिद गर्ने योजना बनाएको सोनी ले चालु आर्थिक वर्षमा गेम व्यवसायमा बिक्री घट्ने तर नाफा बढ्ने अपेक्षा गरेको जनाएको छ।

सोनी का प्रमुख कार्यकारी अधिकृत हिरोकि टोटोकीले यस आर्थिक वर्षका लागि कम्पनीले पर्याप्त मेमोरी आपूर्ति सुरक्षित गरिसकेको तर अर्को वर्ष पनि मूल्य उच्च रहने अपेक्षा गरिएको बताएका छन्। उनका अनुसार कम्पनीले मेमोरीबाहेक अन्य क्षेत्रमा लागत घटाउने उपाय खोजिरहेको छ।

सोनी ले “उचित मूल्य” मा कति मेमोरी प्राप्त गर्न सक्छ भन्ने आधारमा पीएस५ हार्डवेयर बिक्री निर्भर रहने जनाएको छ। हार्डवेयर नाफा पनि अघिल्लो वर्षसरह रहने अपेक्षा गरिएको छ। बजारमा पीएस५ को छैटौं वर्ष चलिरहेकाले नाफा पूर्वानुमानमा सोनी को आगामी पुस्ताको प्लेटफर्ममा गरिने लगानी पनि समावेश गरिएको छ।

टेक-टु इन्टरएक्टिभको ढिलाइ भएको ग्र्याण्ड थेफ्ट अटो ६ नोभेम्बरमा सार्वजनिक हुने तय भएकाले सोनी लाई ठूलो फाइदा पुग्ने अपेक्षा गरिएको छ।

एसिमेट्रिक एडभाइजर्सका अमिर एन्भार्जादेहले “उच्च नाफायुक्त सफ्टवेयर बिक्री र यसले सिर्जना गर्ने इकोसिस्टम सक्रियताबाट सोनीको आम्दानीमा उल्लेखनीय लाभ पुग्ने” बताएका छन्।

प्रकाशित: २८ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार