Technology Khabar ५ भाद्र २०८२, बिहीबार
काठमाडौं ।
हालैको पिक्सेल १० सिरिज लन्च कार्यक्रममा गुगलले पिक्सेल वाच ४ प्रस्तुत गरेको छ। यो स्मार्टवाच कम्पनीको अहिलेसम्मको सबैभन्दा उन्नत स्मार्टवाच भएको बताइएको छ।
नयाँ मोडेलले पुनः डिजाइन गरिएको डिस्प्ले, लङ्ग ब्याट्री लाइफ, तिव्र पर्फर्मेन्स र पहिलो पटक एकमात्र स्याटेलाइट कम्युनिकेसन समर्थन ल्याएको उल्लेख गरिएको छ। साथै यो हराएको पल्स पत्ता लगाउन सक्ने एक मात्र स्मार्टवाच भएको दावी गरिएको छ।
डिजाइन र डिस्प्लेः
पिक्सेल वाच ४ ले गोलाकार डिजाइन कायम राख्दै सतहमा घुमाउरो भएको नयाँ एक्टुआ ३६० डिस्प्ले थपेको छ। यसले १६ प्रतिशत पातलो बेजेलको साथ १० प्रतिशत ठूलो सक्रिय क्षेत्र प्रदान गर्दछ र सूर्यको प्रकाशमा राम्रो भिजिबिलिटीको लागि ३,००० निट्स ब्राइटनेस ल्याएको छ जुन पहिले भन्दा ५० प्रतिशत बढी पुग्नेछ।
मटेरियल ३ एक्सप्रेसिभले रङहरू, नयाँ क्लक फेसेस र स्पष्ट यूआई इलिमेण्टहरूको साथ भिजुअल सुधार गरेको छ। साथै बलियो ह्याप्टिक इन्जिन र सुधारिएको स्पिकरले दैनिक प्रयोगलाई सहज बनाउने उल्लेख गरिएको छ।
पर्फर्मेन्स र ब्याट्रीः
स्न्यापड्रागन डब्ल्यू५ जेन २ प्लेटफर्ममा चल्ने यो स्मार्टवाचमा नयाँ एमएल–पावर्ड को–प्रोसेसर रहेको छ जुन आधा पावर मात्र प्रयोग गर्दा पनि २५ प्रतिशत छिटो हुनेछ।
४१एमएम मोडेलमा ३० घण्टाको लागि मूल्याङ्कन गरिएको ३२५ एमएएच ब्याट्री छ भने ४५एमएम मोडेलमा ४० घण्टाको लागि मूल्याङ्कन गरिएको ४५५ एमएएच ब्याट्री समावेश गरिएको छ।
ब्याट्री सेभर मोडले ४१एमएम मोडेलमा दुई दिन र ४५एमएम मोडेलमा तीन दिनसम्म ब्याट्री लाइफ बढाउने उल्लेख गरिएको छ। नयाँ क्विक चार्ज डकले १५ मिनेटमा ० देखि ५० प्रतिशत चार्ज गर्ने र आधा घण्टाभन्दा कम समयमा ८० प्रतिशत पुग्ने रिपोर्ट गरिएको छ।
यो स्मार्टवाचले कर्निङ गोरिल्ला ग्लास र एयरोस्पेस–ग्रेड एल्युमिनियम हाउजिङ प्रयोग गरेको छ। साथै यो स्मार्टवाच ५० मिटरसम्म वाटर रेसिस्टेन्स रहेको छ भने स्मार्टवाचमा पहिलो पटक बदल्न मिल्ने ब्याट्री र डिस्प्ले प्रदान गरिएको छ।
हेल्थ र फिटनेसः
पिक्सेल वाच ४ ले स्लिप ट्र्याकिङ एक्युरेसी १८ प्रतिशतले सुधार गरेको छ भने स्मार्टवाचमा स्किन टेम्प्रेचर सेन्सिङको साथमा थप सटीक रुट ट्र्याकिङको लागि डुअल–फ्रिक्वेन्सी जीपीएस प्रयोग गरिएको छ।
यसले बास्केटबल र पिकलबल सहित ५० भन्दा बढी वर्कआउट (कसरत) का प्रकारहरूलाई समर्थन गर्दछ। साथै बाइक मेट्रिक्सलाई फिटबिट एपमा स्ट्रिम गर्ने र स्वचालित रूपमा कसरत पत्ता लगाउन एआई प्रयोग गर्नेछ।
एआई र कनेक्टिभिटीः
स्मार्टवाचमा राइज टु टकको साथ जेमिनी उपलब्ध रहेको उल्लेख गरिएको छ। स्मार्टवाचमा एलटीई, ब्लुटुथ ५.३, वाई–फाई ६, एनएफसी, जीपीएस, र पहिलो स्ट्यान्डअलोन आपतकालीन स्याटेलाइट कम्युनिकेसन सिस्टम (उपग्रह सञ्चार प्रणाली) पनि समावेश गरिएको छ।
उपलब्धताः
गुगल पिक्सेल वाच ४ को प्रि–अर्डरहरू अब खुला भएको र बिक्री अक्टोबर ९ देखि सुरु हुने उल्लेख गरिएको छ। त्यसैगरी ४१एमएम वाई–फाईको लागि ३४९ अमेरिकी डलर, ४१एमएम एलटीईको लागि ४४९ अमेरिकी डलर, ४५एमएम वाई–फाईको लागि ३९९ अमेरिकी डलर र ४५एमएम एलटीईको लागि ४९९ अमेरिकी डलर मूल्य कायम गरिएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ५ भाद्र २०८२, बिहीबार