यी हुन् प्रदर्शन, क्यामरा, प्रोसेसर र ब्याट्रीका आधारमा २०२५ का सर्वोत्कृष्ट एण्ड्रोइड स्मार्टफोन

Technology Khabar ९ श्रावण २०८२, शुक्रबार

काठमाडौं ।

एन्ड्रोइड फोन छान्नु कहिलेकाहीँ झन्झटिलो हुन सक्छ, किनभने थुप्रै ब्रान्डहरूले थुप्रै मोडेलहरू बजारमा ल्याएका छन् । एप्पलजस्तो एउटै लाइनअपमा सीमित नरही, एन्ड्रोइड फोनहरू अनेक थरिका डिजाइन, मूल्य र विशेषतासहित उपलब्ध छन्।

तपाईं सामसङको नयाँ फ्ल्यागशिप फोन खोज्दै हुनुहुन्छ भने पनि, मोटोरोला जस्तो कम्पनीको सस्तो फोन हेर्दै हुनुहुन्छ भने पनि, वा फोल्ड हुने डिजाइनको फरक किसिमको फोन रोज्दै हुनुहुन्छ भने पनि, तपाईंको आवश्यकताअनुसारको एन्ड्रोइड डिभाइस पक्कै पाइन्छ।

इन्ग्याजेटका अनुसार एन्ड्रोइडको मुख्य विशेषता नै यसको लचिलोपन हो। विभिन्न स्क्रिन साइज, क्यामेरा सेटअप, ब्याट्री आयु, स्टाइलस समर्थन वा मजबुत बनावट भएका फोनहरू यस प्लेटफर्ममा पाउन सकिन्छ।

साथै, एन्ड्रोइड फोन प्रयोगकर्ताले आफ्नो मनपर्ने हिसाबले फोन कस्टमाइज गर्न सक्छन्, जुन कुरा एप्पल प्रयोगकर्ताले पनि चाहन्छन् होला। हामीले बजारका उत्कृष्ट एन्ड्रोइड फोन परीक्षण र अनुसन्धान गरेका छौँ, ताकि तपाईंको बजेट, जीवनशैली र प्रविधि रुचिअनुसार उपयुक्त फोन छान्न सकियोस्।

उत्तम एन्ड्रोइड फोन: गुगल पिक्सेल ९ प्रो

प्रोसेसर: गुगल टेन्सर जी४, स्क्रिन: ६.३ इन्च सुपर एक्टुआ, १२० हर्जसम्म
क्यामरा: पछाडि ५० मेगापिक्सेल वाइड, ४८ मेगापिक्सेल अल्ट्रावाइड म्याक्रो फोकससहित, ४८ मेगापिक्सेल ५x टेलिफोटो लेन्स; अगाडि ४२ मेगापिक्सेल अटोफोकससहितको सेल्फी क्यामरा
ब्याट्री: ४,७०० मेगावाट आवर

अन्ततः सानो साइजको पिक्सेल प्रो पनि बजारमा आएको छ। गुगलको पिक्सेल सिरिज पहिलेदेखि नै उत्कृष्ट एन्ड्रोइड फोनहरूमध्येमा पर्दथ्यो, र प्रो मोडेल अझ परिस्कृत मानिन्थ्यो। तर सधैंजसो त्यो फोन ठूलो र एकहातले समाउन गाह्रो हुने बनावटमा आउँथ्यो, जुन साना हात भएका वा सजिलै खल्तीमा राख्न चाहनेका लागि उपयुक्त थिएन। अब पिक्सेल ९ प्रोले त्यो समस्याको समाधान दिएको छ।

पिक्सेल ९ प्रो एक्सएलको ६.८ इन्च स्क्रिनभन्दा सानो ६.३ इन्च स्क्रिन भएको यस फोनलाई सहजै चलाउन सकिन्छ । अब स्क्रिनको माथिल्लो भागसम्म पुग्न खोज्दा फोन झरिन्छ कि भन्ने चिन्ता गर्नुपर्दैन।

राम्रो कुरा त के छ भने, साइज सानो बनाए पनि गुगलले कुनै महत्वपूर्ण फिचर हटाएको छैन। प्रो र प्रो एक्सएल दुवैमा एउटै क्यामेरा सेटअप र प्रदर्शन छ। फरक भनेको स्क्रिन साइज, ब्याट्री क्षमता र चार्ज हुने गतिमा मात्र हो । प्रो मोडेल केही ढिलो चार्ज भए पनि ब्याट्री टिकाउपनमा अगाडि छ – हाम्रो परीक्षणमा लगभग २५ घण्टा टिकेको देखिएको छ ।

यी सामान्य भिन्नता बाहेक, पिक्सेल ९ प्रो सिरिज हामीलाई मन पर्ने मुख्य कारण यसको उच्च स्तरको क्यामेरा प्रदर्शन, रोचक एआई फिचरहरू र समग्रमा परिपक्व डिजाइन हो। अघिल्ला पिक्सेल फोनहरू रंगीन र ब्लकजस्ता डिजाइनका थिए भने यो वर्षको मोडेल बढी परिष्कृत र मजबुत देखिन्छ।

यहाँसम्म कि, क्यामरा बार नहुँदो हो त, पिक्सेल र एप्पलको फोन छुट्याउन पनि गाह्रो पर्थ्यो ।

अब पिक्सेल फोनहरू परिपक्व भइसकेका कारण होला, मूल्य पनि एप्पलसँग बराबरी पुगेको छ । पिक्सेल ९ प्रो र आइफोन १५ प्रो दुवैको सुरुवाती मूल्य ९९९ डलरबाट सुरु हुन्छ । अघिल्ला वर्षहरूमा गुगलको फोन सस्तो विकल्पको रूपमा हेरिएको भए पनि यो वर्षको मोडेल प्रिमियम मूल्य तिर्न लायक छ जस्तो लाग्छ ।

यदि तपाईं पिक्सेल ९ सिरिजको कुनै फोन चाहनुहुन्छ तर १ हजार डलर खर्च गर्न चाहनुहुन्न भने, बेस मोडेल पिक्सेल ९ पनि धेरै प्रयोगकर्ताका लागि उपयुक्त विकल्प हो । तर अहिलेको अवस्थामा, पिक्सेल ९ प्रो नै पैसाको राम्रो मूल्य दिने एन्ड्रोइड फोन हो ।

सामसङ ग्यालेक्सी एस२५ अल्ट्रा

प्रोसेसर: क्वालकम स्न्यापड्रागन ८ एलिट
स्क्रिन: ६.९ इन्च डाइनामिक एमोलेड २एक्स क्यूएचडी प्लस, १२० हर्जसम्म
क्यामरा: पछाडि २०० मेगापिक्सेल, डुअल पिक्सेल एएफ, डिजिटल जुम १००एक्स, ५० मेगापिक्सेल म्याक्रो, ५० मेगापिक्सेल अल्ट्रावाइड; अगाडि १२ मेगापिक्सेल                                                                                    ब्याट्री: ५,००० मिलिएम्प आवर

ग्यालेक्सी एस२५ अल्ट्रा एउटा यस्तो फोन हो, जसले सबै प्रकारका काम सजिलै गर्न सक्छ। यसमा ५x टेलिफोटो लेन्ससहितका विभिन्न क्यामराहरू, नयाँ ५० मेगापिक्सेल अल्ट्रावाइड सेन्सर, आकर्षक ६.९ इन्चको एमोलेड स्क्रिन (गत वर्षभन्दा ०.१ इन्च ठूलो) र सामसुङको चिनारी बनेको एस पेन पनि समावेश छ।

तर २०२५ को मोडेलमा सामसुङको मुख्य ध्यान नयाँ ग्यालेक्सी एआई फिचरहरूमा केन्द्रित छ, जस्तै नाउ ब्रिफ जसले व्यक्तिगत समाचार, घटनाहरू आदि समेटिएको फिड बनाउँछ।

ड्रइङ असिस्टले एआईमार्फत चित्र बनाउने काम सजिलो बनाउँछ भने एआई सेलेक्ट प्रयोग गरेर तपाईं स्क्रीनसट लिन, भिडियोहरूलाई जीआईएफमा रूपान्तरण गर्न वा कथाहरू संक्षेप गर्न सक्नुहुन्छ।

तर नयाँ स्न्यापड्रागन ८ एलिट चिपबाहेक एस२५ अल्ट्रामा धेरैजसो हार्डवेयर अघिल्लो मोडेल (एस २३ अल्ट्रा) जस्तै छन् । त्यसैले, यो फोन शानदार भए पनि, एक वा दुई वर्ष पुरानो फ्ल्यागशिप फोन भएका प्रयोगकर्ताहरूका लागि आवश्यक अपग्रेडजस्तो नलाग्न सक्छ ।

उत्तम फोल्ड हुने एन्ड्रोइड फोन – सामसङ ग्यालेक्सी जेड फोल्ड ७

प्रोसेसर: स्न्यापड्रागन ८ एलिट
स्क्रिन: ८ इन्च (२१८४ x १९६८ क्यूएक्सजीए प्लस डाइनामिक एमोलेड २एक्स), कभर स्क्रिन ६.५ इन्च (२५२० x १०८० फुलएचडी प्लस)
क्यामरा: पछाडि २०० मेगापिक्सेल वाइड, १२ मेगापिक्सेल अल्ट्रावाइड, १० मेगापिक्सेल टेलिफोटो; अगाडि १० मेगापिक्सेल
ब्याट्री: ४,४०० मिलिएम्प आवर

फोल्ड हुने फोनहरूमा सबैभन्दा ठूलो समस्या भनेको स्क्रिन फोल्ड गर्न सक्ने बनावटका कारण आकार र तौल बढ्नु हो । तर ग्यालेक्सी जेड फोल्ड ७ मा सामसङले यसलाई विगतको कुरा बनाइदिएको छ।

यो फोन अघिल्लो भन्दा २६ प्रतिशत पातलो बनेको छ र ठूलो आन्तरिक र बाह्य स्क्रिनसमेत राखिएको छ। साथै, यसको मजबुती, प्रदर्शन र मुख्य २०० मेगापिक्सेल क्यामरा समेत सुधारिएको छ, जुन परम्परागत फ्ल्यागशिप फोनहरूसँग मेल खाने खालको भएको इन्ग्याजेटले उल्लेख गरेको छ।

तर २ हजार डलरको मूल्यमा यो अझै धेरैको पहुँचभन्दा टाढा देखिन्छ । र, लामो समयदेखि सामसुङ प्रयोग गर्दै आएका प्रयोगकर्ताहरूका लागि एस पेन समर्थनको अभाव निराशाजनक हुन सक्छ । तर फोल्डेबल डिजाइनको नयाँ अनुभव खोज्नेहरूका लागि जेड फोल्ड ७ आधुनिक प्रविधिको एक उत्कृष्ट नमूना हो।

विशेष सिफारिस वनप्लस १३

प्रोसेसर: क्वालकम स्न्यापड्रागन ८ एलिट
स्क्रिन: ६.८ इन्च ओएलईडी, १२० हर्ज, अधिकतम ४,५०० निट्स ब्राइटनेस
क्यामरा: पछाडि ५० मेगापिक्सेल वाइड, ५० मेगापिक्सेल अल्ट्रावाइड, ५० मेगापिक्सेल टेलिफोटो; अगाडि ३२ मेगापिक्सेल
ब्याट्री: ६,०००मिलिएम्प आवर

वनप्लस १३ मा गुगलको सर्कल टु सर्च र जेमिनी असिस्टेन्टजस्ता केही एआई फिचरहरू छन्, तर यो मुख्यतः परम्परागत फ्ल्यागशिप फोन हो।
यसमा उत्कृष्ट हार्डवेयर समेटिएको छ — ६.८ इन्चको ओएलईडी स्क्रिन ४,५०० निट्ससम्मको ब्राइटनेस दिने, स्न्यापड्रागन ८ एलिट चिप, १६ जीबी र्याम, ५१२ जीबी स्टोरेज, र ३ ओटा ५० मेगापिक्सेल क्यामरा (३एक्स जुमसहितको टेलिफोटो) रहेको छ ।

साथै, ६,००० मिलिएम्प आवरको ठूलो ब्याट्री पनि दिइएको छ, जुन प्राय: प्रतिस्पर्धी फोनहरूभन्दा ठूलो हो।

फोनको डिजाइनमा पनि कम्पनीले कन्जुस्याइँ गरेको छैन। वनप्लसको पहिचान झल्काउने अलर्ट स्लाइडर अझै पनि छ, र नीलो वा सेतो संस्करण रोज्दा टिकाउ र आरामदायी भेगन लेदरको पछाडि प्यानल पाइन्छ, जसले फोनलाई अरू ग्लास डिजाइन भएका फोनहरूमध्ये अलग बनाउँछ।

सबैभन्दा राम्रो कुरा त के भने ९ सय डलरबाट सुरु हुने मूल्यमा यो फोन ग्यालेक्सी एस२५ प्लसभन्दा सस्तो पर्छ।

प्रकाशित: ९ श्रावण २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया