Technology Khabar २९ असार २०८२, आईतवार
काठमाडौं ।
टेस्लाले आफ्नो प्रारम्भिक रोबोट्याक्सी सेवा फिनिक्स मेट्रो क्षेत्रमा ल्याउने उद्देश्यले एरिजोनामा स्वचालित सवारीसाधन परीक्षण र सञ्चालनका लागि निवेदन दिएको छ। एरिजोना राज्यको यातायात विभागले टेकक्रन्चलाई यसको पुष्टि गरेको हो।
टेस्लाले जुन २६ मा एरिजोना यातायात विभागअन्तर्गत मोटर सवारी डिभिजन (एमभिडी) सँग प्रमाणिकरण प्रक्रिया सुरु गर्न सम्पर्क गरेको विभागका प्रवक्ताले इमेलमार्फत जानकारी दिएका छन्। गत महिना साउथ अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरिसकेको कम्पनीले अब फिनिक्स मेट्रो क्षेत्रमा सञ्चालन गर्ने रुचि देखाएको विभागको भनाइ छ।
टेकक्रञ्चका अनुसार टेस्लाले चालकसहित र चालकबिनाको दुवै प्रकारका स्वचालित सवारीसाधन परीक्षण तथा सञ्चालनका लागि निवेदन दिएको प्रवक्ताले बताएका छन्।
निर्णय यो महिनाको अन्त्यसम्ममा आउने अपेक्षा गरिएको छ । कम्पनीको राज्यको यातायात विभागसँगको सम्पर्कबारे पहिलोपटक टेस्ला इन्फ्लुएन्सर साव्यर मेरिटले बिहीबार जानकारी दिएका थिए।
टेस्लातर्फबाट यो सम्पर्क कम्पनीकी वरिष्ठ नियामक सल्लाहकार केसी ब्लेनले गरेकी हुन्। उनले राज्यको यातायात विभाग तथा एरिजोना कमर्स अथोरिटीसँग भर्चुअल बैठक गरिसकेको इमेल आदानप्रदानका आधारमा टेकक्रन्चले जनाएको छ।
यी संवादहरू प्रारम्भिक चरणमा रहेको बताइएको छ। ब्लेनले विभागका एक प्रतिनिधिलाई मरिकोपा काउन्टी सरकार तथा कानुनी निकायसँग चिनाउने अनुरोध समेत गरेका छन्। ब्लेनले यसबारे थप टिप्पणीका लागि पठाइएको अनुरोधमा तुरुन्त प्रतिक्रिया दिएकी छैनन्।
टेस्लाले जुनमा साउथ अष्टिनमा सीमित रोबोट्याक्सी सेवा सुरु गरेको थियो, जुन हाल कम्पनीको निम्तो पाएका व्यक्तिका लागि मात्र खुल्ला छ। तर टेस्लाका प्रमुख कार्यकारी अधिकारी इलन मस्कले बिहीबार सामाजिक सञ्जाल एक्समा कम्पनीले सेवा छिट्टै शहरभित्र विस्तार गर्ने योजना बनाएको बताएका छन्।
उनले बेक एरियामा सेवा सुरु गर्न नियामक स्वीकृतिको पर्खाइमा रहेको पनि उल्लेख गरेका छन्, जुन “एक दुई महिनामा” सुरु हुने बताएका छन्।
मस्कको रोबोट्याक्सी योजना नियामक वास्तविकतासँग जुध्न सक्ने देखिन्छ, कम्तीमा क्यालिफोर्नियामा । एरिजोना, क्यालिफोर्निया र टेक्सास सबै राज्यका नियम फरक छन्।
प्रकाशित: २९ असार २०८२, आईतवार