ईयूको प्रतिस्पर्धा विरोधी जरिवाना पन्छाउन गुगलद्वारा सर्च परिणाममा परिवर्तनको प्रस्ताव

  • Technology Khabar | २० असार २०८२, शुक्रबार
ईयूको प्रतिस्पर्धा विरोधी जरिवाना पन्छाउन गुगलद्वारा सर्च परिणाममा परिवर्तनको प्रस्ताव

काठमाडौं ।

गुगलले आफ्ना सर्च परिणाममा नयाँ परिवर्तनको प्रस्ताव गरेको छ जसको उद्देश्य प्रतिस्पर्धीहरूको बढ्दो आलोचना रोक्नु रहेको छ।

यो प्रस्ताव जुलाई ७–८ मा ब्रसेल्समा हुने एक महत्वपूर्ण बैठकको ठीक अघिल्लो हप्ता आएको हो, जहाँ यूरोपेली संघ (ईयू) ले गुगलमाथि अर्को प्रतिस्पर्धा विरोधी जरिवाना लगाउन सक्ने सम्भावना छ। यो विषयमा रोयटर्सले प्राप्त गरेको एक दस्तावेजले जानकारी दिएको जनाइएको छ।

अमेरिकी प्रविधि कम्पनी गुगललाई मार्च महिनामा यूरोपेली संघको प्रतिस्पर्धा विरोधी मुद्दा सामना गर्नुपरेको थियो। आरोप अनुसार गुगलले आफ्नै सेवाहरू जस्तै गुगल सपिङ, गुगल होटल्स र गुगल फ्लाइट्सलाई प्रतिस्पर्धीहरूमाथि अनुचित रूपमा प्राथमिकता दिएको छ।

अल्फाबेट अन्तर्गतको यो कम्पनीले प्रतिस्पर्धीहरू र यूरोपेली आयोगसँग जुलाई ७–८ को कार्यशालामा आफ्ना प्रस्तावहरूबारे छलफल गर्नेछ।
गुगलमाथि मुद्दा लगाइएको डिजिटल मार्केट्स एक्ट (डीएमए) नामक यूरोपेली संघको कानुनले ठूला प्रविधि कम्पनीहरूको शक्ति सीमित गर्न र प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धा गर्न सहज बनाउन तथा उपभोक्ताहरूलाई बढी विकल्प दिनका लागि के गर्न मिल्छ र के गर्न मिल्दैन भन्ने स्पष्ट मापदण्ड निर्धारण गरेको छ।

गत साता गुगलले खोज पृष्ठको माथिल्लो भागमा एउटा ‘भर्टिकल सर्च सर्भिस (भीएसएस)’ नामक बक्स राख्ने प्रस्ताव गरेको थियो, जसमा विशेषीकृत खोज इञ्जिनहरू, होटल, एयरलाइन्स, रेष्टुरेन्ट र यातायात सेवाहरूको लिङ्क समावेश हुने उल्लेख गरिएको थियो।

रोयटर्सले देखेको दस्तावेज अनुसार गुगलको पछिल्लो प्रस्तावलाई ‘अप्सन बी’ भनिएको छ, जुन गत साताको प्रस्तावको वैकल्पिक विकल्प हो।
“अप्सन बी अन्तर्गत, जब भीएसएस बाकस देखिन्छ, त्यसबेला गुगलले आपूर्तिकर्ताहरूका निःशुल्क लिङ्क भएको अर्को बक्स पनि देखाउनेछ,” दस्तावेजमा उल्लेख गरिएको छ।

होटल, रेष्टुरेन्ट, एयरलाइन्स र यात्रा सेवाहरू समावेश हुने उक्त आपूर्तिकर्ता बक्स भीएसएस बक्सको मुनि रहनेछ, जसमा गुगलले आपूर्तिकर्ताहरूको जानकारी व्यवस्थित गर्नेछ।

दस्तावेजमा भनिएको छ, “अप्सन बी ले आपूर्तिकर्ताहरूलाई अवसर दिन्छ, तर यस्तो बाकस सिर्जना गर्दैन जसलाई गुगल भीएसएस भनेर व्याख्या गर्न सकियोस्।”

“हामीले हाम्रो डीएमएको नियम पालनाको हिस्सा स्वरूप सयौं परिवर्तनहरू गरेका छौं,” गुगलका प्रवक्ताले भने। “हामी नियम पालनामा प्रयत्नरत छौं, तर डीएमएका केही यथार्थपरक प्रभावहरूप्रति हामी गम्भीर रूपमा चिन्तित छौं, जसले युरोपेली प्रयोगकर्ताहरूका लागि अनलाइन उत्पादन र अनुभव झनै खराब बनाइरहेका छन्।”

प्रकाशित: २० असार २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...