डोप्ल नामक नयाँ प्रयोगात्मक एप ल्याउँदै गुगल

Technology Khabar १४ असार २०८२, शनिबार

काठमाडौं ।

गुगलले बिहीबार डोप्ल नामक नयाँ प्रयोगात्मक एप सार्वजनिक गर्ने घोषणा गरेको छ। यसले एआईको प्रयोग गरेर विभिन्न लुगा तपाईंमा कस्तो देखिन्छ भनेर देखाउने सुविधा दिन्छ। यो एप अमेरिका भित्र आईओएस र एण्ड्रोइड दुवैमा उपलब्ध छ।

डोप्ल यस्तो एप हो जसले तपाईंको डिजिटल अवतारमा विभिन्न लुगा भर्चुअल रूपमा लगाएर हेर्ने सुविधा दिन्छ। प्रयोग गर्नको लागि, सर्वप्रथम तपाईंले आफ्नो पूर्ण शरीर देखिने फोटो अपलोड गर्नुपर्छ। त्यसपछि तपाईं विभिन्न लुगाका फोटो वा स्क्रिनसट प्रयोग गरेर ती लुगा भर्चुअल रूपमा लगाएर हेर्न सक्नुहुन्छ।

ती लुगाका फोटोहरू तपाईंले थ्रिफ्ट स्टोरमा देख्नुभएको हुन सक्छ, साथीको लुगा होलान्, वा सामाजिक सञ्जालमा स्क्रोल गर्दा देखिएको कुनै स्क्रिनसट पनि हुन सक्छ।

तपाईंले कुनै लुगा छानेपछि, डोप्लले तपाईंको डिजिटल संस्करण बनाइ ती लुगा लगाएको फोटो तयार गर्छ। डोप्लले स्थिर तस्बिरहरूलाई एआईबाट बनाइएका भिडियोमा पनि रूपान्तरण गर्न सक्छ, जसले तपाईंलाई ती लुगा वास्तविक जीवनमा लगाउँदा कस्तो देखिन्छ भन्ने झल्को दिन्छ।

तपाईंले मन पराएका लुकहरू सुरक्षित गर्न सक्नुहुन्छ र आफ्ना अन्य भर्चुअल ट्राइअनहरू पनि ब्राउज गर्न सक्नुहुन्छ। साथै, यी लुकहरू अरूसँग सेयर गर्न पनि सकिन्छ।

गुगलको भनाइमा, यो नयाँ एपले हालसालै गुगल सपिङमा सुरू गरिएको भर्चुअल ट्राइअन क्षमतामा आधारित छ। यसलाई छुट्टै एपको रूपमा ल्याएर, गुगलले यो सुविधा प्रयोग गर्न सजिलो बनाएको र प्रयोगकर्ताहरूलाई रमाइलो तथा अन्तरक्रियात्मक तरिकाले आफ्ना फेसन हेर्न प्रेरित गरेको विश्वास राखेको छ। यसले भविष्यमा यस्ता एपहरू कसरी प्रभावकारी हुन्छन् भन्ने बुझ्न गुगललाई थप डेटा संकलन गर्न पनि सहयोग गर्न सक्छ।

रोयटर्सका अनुसार गुगलले यसअघि पनि भर्चुअल ट्राइअन प्रविधि उपलब्ध गराएको थियो, तर ती सुविधाहरू विविध शारीरिक बनावट भएका मोडेलहरूमा कपडा देखाउनेमा केन्द्रित थिए। तर डोप्लमार्फत प्रयोगकर्ताले आफ्नै एनिमेटेड शरीरमा लुगा लगाएर हेर्न सक्छन्।

“डोप्लले तपाईंलाई आफ्नो फेसन नयाँ र रोचक तरिकामा अन्वेषण गर्न मद्दत गर्छ भन्ने हामी आशा गर्छौं,” गुगलले ब्लग पोस्टमा भनेको छ। “गुगल ल्याब्सको प्रयोगको रूपमा, डप्ल अझै प्रारम्भिक चरणमा छ र सधैं सहि परिणाम नआउन सक्छ। साइज, देखावट वा कपडाका विवरण सधैं ठ्याक्कै मिल्न नपर्न सक्छन्।”

डोप्ल एउटा प्रयोगात्मक एप भएकाले गुगलले यो एप अन्य देशहरूमा कहिले ल्याउने हो वा ल्याउने कि नल्याउने भन्ने कुरा अहिले स्पष्ट छैन।

प्रकाशित: १४ असार २०८२, शनिबार

तपाइको प्रतिक्रिया