काठमाडौं ।
गुगलले गत वर्षको अगस्ट १३ तारिखमा पिक्सेल ९ सिरिजका स्मार्टफोनहरू प्रस्तुत गरेको थियो। केही समय अघि कम्पनीले यस वर्षको पिक्सेल १० डिभाइसहरू भने अलि पहिले नै लन्च गर्ने हल्ला चलेको थियो।
यसै क्रममा हालै मात्र आएको एउटा नयाँ अफवाहले यस अघि चलेको हल्लाको खण्डन गर्दै पिक्सेल १० डिभाइसहरू वास्तवमा आफ्ना पूर्ववर्तीहरू जस्तै मिति (अगस्ट १३ तारिख) मा आधिकारिक रूपमा आउँनेछन् भन्ने तथ्यको खुलासा गरेको छ। त्यसैगरी गुगलको लागि अङ्क १३ लक्कि नम्बर (भाग्यशाली संख्या) भएको बताइएको छ।
पिक्सेल १० ह्यान्डसेटहरू गुगलको टेन्सर जी५ चिपसेटद्वारा संचालित हुनेछन् जुन सामसङले नभइ टीएसएमसीले निर्माण गर्ने उल्लेख गरिएको छ। अफवाहहरूका अनुसार, यो सामसङको एक्सिनोस मोडेमबाट मिडियाटेक मोडेममा ‘मोडेम स्विच’को साथै राम्रो पर्फमेन्स र थर्मल्सहरूसँग आउने अपेक्षा गरिएको छ। मोडेम स्विचको बावजुद, हालैको रिपोर्ट अनुसार, पिक्सेल १० परिवारले अझै पनि स्याटेलाइट कनेक्टिभिटी (उपग्रह जडान) को लागि समर्थन कायम राख्ने अपेक्षा गरिएको छ।
गुगलले यसै महिना एन्ड्रोइड १६ रिलिज गर्ने योजना बनाएको हुनाले पिक्सेल १० परिवारले यो संस्करणलाई आउट अफ बक्स चलाउनेछन् भन्ने कुरा निश्चित रहेको उल्लेख गरिएको छ। साथै पिक्सेल १० हरूको स्क्रिनको लागि उच्च पीडब्ल्यूएम डिमिङ रेट पनि आउन सक्ने सम्भावनाको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २१ जेष्ठ २०८२, बुधबार