गुगललाई अर्को झट्का, बजार एकाधिकार कायम गरेको अमेरिकी अदालतको ठहर

Technology Khabar ५ बैशाख २०८२, शुक्रबार

गुगललाई अर्को झट्का, बजार एकाधिकार कायम गरेको अमेरिकी अदालतको ठहर
गुगलको लोगो। एलेक्स डुडरद्वारा खिचिएको तस्बिर,अनस्प्लास डटकम।

काठमाडौं ।

अल्फाबेट अन्तर्गतको गुगलले अनलाइन विज्ञापन प्रविधिका दुई बजारमा अवैध रूपमा वर्चस्व कायम गरेको अमेरिकी एक न्यायाधीशले बिहीबार निर्णय दिएका छन्। यसले प्रविधि कम्पनी गुगललाई अर्को ठूलो झट्का दिएको छ र अमेरिकी प्रतिस्पर्धा नियामकहरूलाई यसको विज्ञापन व्यापार टुक्र्याउने बाटो खोलिदिएको छ।

भर्जिनियास्थित अमेरिकी जिल्ला न्यायाधीश लिओनी ब्रिन्केमाले प्रकाशक विज्ञापन सर्भर र विज्ञापन विनिमय बजारमा गुगलले “जानाजान एकाधिकार शक्ति प्राप्त गरेर कायम राखेको” ठहर गरेकी हुन्।

यो निर्णयले अर्को सुनुवाइको बाटो खुला गरिदिएको छ, जसले गुगलले ती बजारमा प्रतिस्पर्धा पुन:स्थापना गर्न के गर्नुपर्छ भनेर निर्धारण गर्नेछ।

सम्भावित रूपमा यो प्रक्रियामा गुगलले आफ्नो केही कारोबार बेच्नुपर्ने पनि हुन सक्छ, तर त्यससम्बन्धी अर्को मुद्दाको मिति तोकिएको छैन। यसअघि अनलाइन खोजसम्बन्धी मुद्दामा पनि गुगलको एकाधिकार रहेको ठहर भएको थियो।

रोयटर्सका अनुसार  प्रकाशक विज्ञापन सर्भरहरू वेबसाइटहरूले डिजिटल विज्ञापन स्टक राख्न र व्यवस्थापन गर्न प्रयोग गर्ने प्लेटफर्म हुन्। विज्ञापन विनिमयसहित, यस प्रविधिबाट समाचार प्रकाशक र अन्य अनलाइन सामग्री प्रदायकले विज्ञापन बिक्री गरेर आम्दानी गर्छन्। यी आम्दानीलाई न्यायाधीश ब्रिन्केमाले “इन्टरनेटको जीवनरेखा” भनेकी छन्।

“प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धा गर्ने क्षमताबाट वञ्चित गर्नुका साथै, यो व्यवहारले गुगलका प्रकाशक ग्राहकहरू, प्रतिस्पर्धी प्रक्रिया, र अन्ततः खुला वेबमा सूचना उपभोग गर्ने उपभोक्ताहरूलाई समेत गम्भीर रूपमा नोक्सान पुर्‍याएको छ,” ब्रिन्केमाले लेखेकी छन्।

तर उनले विज्ञापनदाता सञ्जालको बजारमा गुगलले एकाधिकार राखेको भन्ने छुट्टै दावी प्रमाणित गर्न प्रतिस्पर्धा नियामकहरू असफल भएको बताइन्।

अमेरिकी न्याय विभागकी एटर्नी जनरल पामेला बन्डीले यो निर्णयलाई “डिजिटल सार्वजनिक क्षेत्रमाथि  गुगल को एकाधिकार रोक्नको लागि भइरहेको संघर्षमा ऐतिहासिक जीत” भन्दै स्वागत गरिन्।

“यो न्याय विभागले प्रविधि कम्पनीहरूको स्वतन्त्र अभिव्यक्ति र स्वतन्त्र बजारमाथिको आक्रमणबाट अमेरिकी जनतालाई जोगाउन कानुनी कदम चालिरहनेछ,” उनले भनिन्।

गुगलकी नियामकीय मामिलाका उपाध्यक्ष ली-एन्न मुलहोल्याण्डले भने गुगल यस निर्णय माथि अपील गर्ने बताइन्। “हामीले यो मुद्दाको आधा भाग जित्यौं, बाँकी आधाको अपील गर्नेछौं,” उनले भनिन्।

यो निर्णयपछि गुगलको सेयर मूल्य १.४ प्रतिशतले घटेको छ। विज्ञहरूले यो मुद्दामा हार्दा  गुगललाई ठूलो आर्थिक क्षति नपुग्ने बताएका थिए, किनकि कम्पनी मुख्य रूपमा सर्च इन्जिनबाट चिनिन्छ।

अमेरिकी न्याय विभागले गुगललाई कम्तीमा पनि गुगल एड म्यानेजर (प्रकाशक विज्ञापन सर्भर र विज्ञापन विनिमय समावेश) बिक्री गर्नुपर्ने बताएको छ।

प्रकाशित: ५ बैशाख २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया