Technology Khabar १ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
चौधरी ग्रुप (सीजी ग्रुप) अन्तरगतको सीजी कर्प ग्लोबलले किर्गिस्तानको मोबाइल अपरेटरलाई ३२ मिलियन डलर अर्थात करिब ४ अर्ब ४८ करोड रुपैयाँ मूल्यमा किन्ने भएको हो। सीजीले यसको करिब ५०.१ प्रतिशत सेयर सो मूल्यमा किन्न लागेको हो।
भिओन ग्रुप (रूसी भिम्पेलकम, बीलाइनको पूर्व मालिक) ले आफ्नो किर्गिज सहायक कम्पनी ‘स्काई मोबाइल’ को बिक्रीको विवरण केहि समयअघि खुलासा गरेको छ।
सम्झौताको रकम ३२ मिलियन हुने र खरिदकर्ता नेपाली कम्पनी सीजी कर्प ग्लोबल भएको सीन्युजले केहि समयअघि रिपोर्ट गरेको छ। सम्झौतालाई अन्तिम रूप दिन नियामक स्वीकृति आवश्यक छ।
गत वर्ष, भीओनले बीलाइन किर्गिजस्तानमा रहेको आफ्नो ५०.१ प्रतिशत अप्रत्यक्ष सेयर सीजी सेल टेक्नोलोजीजलाई बिक्री गर्ने सम्झौताको घोषणा गरेको थियो।
सम्बन्धित समाचार-
सीजी ग्रुपले किन्यो किर्गिस्थानको दूरसञ्चार कम्पनी बीलाइन किर्गिस्थानको ५० प्रतिशत शेयर
सीजी सेल टेक्नोलोजीज- सीजी कर्प ग्लोबलको पूर्ण स्वामित्वमा रहेको छ।
स्काई मोबाइल किर्गिस्तानको सेलुलर बजारको अग्रणी कम्पनी हो र यसले ७४ लाख ग्राहकहरूलाई सेवा दिन्छ। २०२३ मा, कम्पनीको राजस्व ५६ मिलियन डलर थियो र कर अघिको आम्दानी, ऋणको ब्याज र मूल्यह्रास र परिशोधन खर्च २२ मिलियन डलर थियो।
किर्गिस्तानमा रहेको स्काई मोबाइलको लामो कर्पोरेट इतिहास छ। कम्पनीलाई सुरुमा बिटेल भनिन्थ्यो र यो किर्गिस्तानका प्रथम राष्ट्रपति अस्कर अकायेभका छोरा आइदार अकायेभको स्वामित्वमा थियो। सन् २००५ मा, अकायेभको पतनको समयमा, उनका छोराले बिटेललाई कजाख समूह एलायन्स क्यापिटललाई बेचेका थिए।
हालैका वर्षहरूमा भिओनले आफ्नो सम्पत्ति पोर्टफोलियोमा उल्लेखनीय कमी ल्याएको रिपोर्टमा भनिएको छ।
प्रकाशित: १ चैत्र २०८१, शुक्रबार