Technology Khabar २८ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
मुकेश अम्बानीको रिलायन्स जियोले इलन मस्कको स्पेसएक्ससँग भारतमा स्टारलिंक भूउपग्रह इन्टरनेट सेवा ल्याउन सम्झौता गरेको छ। केही महिना भारतले तिनीहरूलाई स्पेक्ट्रम कसरी दिनुपर्छ भन्ने विषयमा असहमति भएपछि दुई अर्बपतिबीच यो अप्रत्याशित कदम हो।
यो सम्झौता स्टारलिंक र भारतको दोस्रो ठूलो टेलिकम कम्पनी भारती एयरटेल बीचको साझेदारी घोषणा भएलगत्तै भएको हो।
रोयटर्सका अनुसार भारतीय टेलिकम अपरेटरहरूले आफ्ना खुद्रा स्टोरहरूमा स्टारलिंक उपकरण राख्नेछन्, जसले देशभर हजारौँ पसलहरूमा स्टारलिंकको प्रत्यक्ष वितरण बिन्दु बनाउनेछ। दुवै सम्झौता भारतमा सञ्चालन सुरु गर्न स्टारलिंकले सरकारबाट अनुमति पाउने शर्तमा आधारित छन्।
यी सम्झौताहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इलन मस्कबीच वासिङ्टनमा भएको भेटघाटको केही हप्तापछि भएका हुन्, जहाँ उनीहरूले अन्तरिक्ष, गतिशीलता, प्रविधि र नवाचार जस्ता विषयमा छलफल गरेका थिए।
डेलोइटका अनुसार भारतको उपग्रह सेवा क्षेत्र २०३० सम्ममा वार्षिक ३६% ले बढेर १.९ अर्ब डलर पुग्ने अपेक्षा गरिएको छ।
“यो सम्झौताले सरकारको अनुमति पाउन स्टारलिंकका लागि व्यवसायिक मोडालिटी बनाउँछ,” अब्जर्भर रिसर्च फाउन्डेसनका स्पेस फेलो चैतन्य गिरीले भने।
स्टारलिंकले भारतमा व्यावसायिक रूपमा सञ्चालन गर्न २०२२ देखि लाइसेन्सको प्रतीक्षा गरिरहेको छ, तर निर्णयको कुनै स्पष्ट समयसीमा छैन। यसमा राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू लगायतका कारण ढिलाइ भएको छ।
“स्टारलिंकको फाइदा के छ भने, यो ठूलो तारामण्डल हो, यो स्पेसएक्सको उच्च रकेट प्रक्षेपण आवृत्तिबाट फाइदा लिन्छ, र ट्रम्प-मस्क सम्बन्धका कारण भू-राजनीतिक वजन पनि छ,” गिरीले थपे।
यो सम्झौता केही आर्थिक सर्तहरूमा आधारित छ, तर यसको विवरण भने खुलाइएको छैन। “भारतमा स्टारलिंकका लागि यो कम लागतको प्रवेश मोडल हो,” सो विषयमा जानकार एक व्यक्तिले भने।
भारतको सबैभन्दा ठूलो टेलिकम अपरेटर जियोले स्टारलिंक उपकरणहरूको स्थापना र सक्रियतामा पनि सहयोग प्रदान गर्नेछ।
जियो र स्पेसएक्सले उनीहरूको सम्बन्धित पूर्वाधारको उपयोग गर्न अन्य सहकार्यका क्षेत्रहरू पनि मूल्याङ्कन गरिरहेका रिलायन्सले एक विज्ञप्तिमा भनेको छ तर यसबारे थप विवरण दिइएको छैन।
प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार