Technology Khabar २८ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले थ्रीजी सेवा बन्द गर्ने भएको छ। कम्पनीले यसै वर्षभित्र थ्रीजी सेवा बन्द गर्ने योजना रहेको जनाएको छ। कम्पनीका सीईओ कायमुभ जाब्बोरले आज आयोजित एक कार्यक्रममा बताए।
“हामीले थ्रीजी बन्द गर्ने योजना लिएका छौं। र कति ग्राहकहरू छन् भनेर हेर्दै छौं” उनले भने। कम्पनीले सन् २०२५ भित्र थ्रीजी सेवा बन्द गर्ने योजना लिएको उनले जानकारी दिए।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले एनसेलको थ्रीजी बन्द गर्ने पत्र पाएको जानकारी दिँदै भने, ‘थ्रीजी सटडाउन पहिले गर्नुपर्छ र त्यसपछि मात्र टुजी बन्द गर्नेमा जानुपर्छ। फोरजीलाई यस वर्ष शत प्रतिशत कभरेज गर्ने र देशभरी पुर्याउने सरकारको योजना छ।’
अध्यक्ष भण्डारीले एनसेलले डिसेम्बरभित्र थ्रीजी सेवा बन्द गर्ने योजना जानकारी गराएको अवगत गराउँदै यो राम्रो भएको र अब मुख्य शहरहरूमा फाइभजी सेवामा जानुपर्ने र त्यसले पनि आम्दानी बढाउने बताए।
‘थ्रीजी बन्द हुँदा आउने स्पेक्ट्रमलाई फोरजीमा प्रयोग गरेर कस्ट घटाउन सकिन्छ’, उनले थपे।
यसका साथै उनले फाइभजीको लागि आवेदन आएमा आफूहरुले सहजै अनुमति र सहजीकरण गरिदिने जानकारी दिए।
प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार