Technology Khabar २४ फाल्गुन २०८१, शनिबार
काठमाडौं ।
अमेरिकी प्रतिनिधि सभाको न्यायिक समितिले बिहीबार अल्फाबेटलाई आदेश जारी गर्दै पूर्व राष्ट्रपति जो बाइडेनको प्रशासनसँगको सामग्री नियन्त्रण सम्बन्धी सञ्चारको माग गरेको छ।
न्यायिक समिति अध्यक्ष रिपब्लिकन जिम जोर्डनले यूट्युबको अभिभावक कम्पनी अल्फाबेटलाई सरकारबाहिरका कम्पनीहरू र समूहहरूसँग भएको यस्तै सञ्चार उपलब्ध गराउन पनि अनुरोध गरेका छन्।
समनले राष्ट्रपति डोनाल्ड ट्रम्प, टेस्लाका सीईओ तथा ट्रम्पका निकट सहयोगी ईलन मस्क, कोभिड-१९ भाइरस र अन्य कैयौं परम्परावादी विषयहरूमा सामग्री सीमित गर्ने वा प्रतिबन्ध लगाउनेबारे सञ्चार जानकारी मागेको छ।
रोयटर्सका अनुसार ट्रम्प प्रशासन र कांग्रेसका रिपब्लिकनहरूले ठूला प्रविधि कम्पनीहरूको नीतिले अनलाइनमा परम्परावादी विचारहरूको दमन गर्ने आरोप लगाउँदै आएका छन्। अमेरिकी संघीय व्यापार आयोग (एफटीसी) का अध्यक्ष एन्ड्रयु फर्ग्युसनले भने, यदि कम्पनीहरूले एकअर्कासँग नीति समन्वय गरे वा आफ्ना नीतिहरूबारे प्रयोगकर्तालाई भ्रमित पार्ने काम गरे भने उनीहरूले कानून उल्लङ्घन गरेको हुनसक्छ।
गत वर्ष, जोर्डनको समितिको छानबिनका क्रममा मेटा प्लेटफर्म्सले बाइडेन प्रशासनले सामग्री सेन्सर गर्न दबाब दिएको खुलासा गरेको थियो। त्यसपछि कम्पनीले यस वर्ष जनवरीमा आफ्नो सामग्री नियन्त्रण नीति केही खुकुलो बनाएको थियो।
“हाम्रो जानकारी अनुसार, अल्फाबेटले बाइडेन-ह्यारिस प्रशासनको अभिव्यक्ति नियन्त्रण प्रयासलाई अझै अस्वीकार गरेको छैन,” जोर्डनले बिहीबार कम्पनीलाई पठाएको पत्रमा भने।
गुगलका प्रवक्ता जोसे कास्टानेडाले भने, ‘हामी स्वतन्त्र रूपमा नीति कार्यान्वयन गर्छौं, जुन स्वतन्त्र अभिव्यक्तिप्रति हाम्रो प्रतिबद्धतामा आधारित छ भन्ने कम्पनीले समितिलाई देखाउनेछ।”
प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार