
काठमाडौं ।
अल्फाबेट अन्तर्गत रहेको गुगललाई यूरोपेली संघ (ईयू) का ठूला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्ने नियम उल्लंघन गरेको आरोप लगाउने तयारी गरिएको छ। तीन जना प्रत्यक्ष जानकार व्यक्तिहरूका अनुसार गुगलले सर्चको नतिजामा प्रस्तावित परिवर्तन गरे तापनि ईयूको प्रतिस्पर्धा नियामक तथा प्रतिस्पर्धी कम्पनीहरूको चासो सम्बोधन गर्न असफल भएको छ।
यूरोपेली आयोगको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तनावका बीच आएको हो। ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूको पक्ष लिँदै ईयूको नियमविरुद्ध लबिङ गरेका छन् र युरोपेली जरिवानाहरूलाई शुल्कको रूपमा चित्रण गरेका छन्। यसले ईयू नियामक निकाय ठूला प्रविधि कम्पनीहरूप्रति लचक हुन सक्ने आशंका बढाएको छ।
यूरोपेली आयोगले गत वर्षको मार्चदेखि गुगलविरुद्ध डिजिटल मार्केट्स एक्ट (डीएमए) उल्लंघनको सम्भावित अनुसन्धान गरिरहेको छ।
एउटा अनुसन्धानमा गुगलले आफ्नो गुगल शपिङ, गुगल फ्लाइट्स र गुगल होटल्सजस्ता भर्टिकल सर्च इञ्जिनहरूलाई प्रतिस्पर्धीहरूमाथि प्राथमिकता दिएको छ वा छैन भन्ने हेरिएको छ। साथै गुगल सर्चको नतिजाहरूमा तेस्रो-पक्ष सेवाहरूलाई विभेद गरिरहेको छ वा छैन भन्ने प्रश्न उठाइएको छ।
नजिकिँदै गरेको आरोप यिनै मुद्दासँग सम्बन्धित रहेको स्रोतहरूले बताएका छन्।
ईयूको प्रतिस्पर्धा नियामक निकायले टिप्पणी गर्न अस्वीकार गरेको छ। गुगलले भने आफ्ना ईएमईए प्रतिस्पर्धा निर्देशक ओलिभर बेथेलको डिसेम्बर ब्लग पोष्टलाई उद्धृत गरेको छ, जसमा आयोगसँग सन्तुलित समाधान खोज्न काम भइरहेको उल्लेख गरिएको छ।
बेथेलले गुगलले प्रतिस्पर्धीहरूको चासो सम्बोधन गर्न खोजी नतिजामा थप परिवर्तन गरे, केही उपयोगी विशेषताहरू हटाउनुपर्ने हुनसक्ने बताएका छन्।
अमेरिकी प्रविधि कम्पनी गुगलले पछिल्ला महिनाहरूमा मूल्य तुलना साइटहरू, होटल, एयरलाइन्स र साना खुद्रा विक्रेताहरूको विभिन्न माग पूरा गर्न खोजी नतिजा स्वरूप परिवर्तनहरू गरेको थियो। तर तिनीहरूले गुगलको प्रस्ताव डीएमए अनुरूप नभएको बताएका छन्।
गुगलले प्रतिस्पर्धीहरूको माग सम्बोधन गर्न नसके ब्लू लिंकहरू फिर्ता ल्याउने चेतावनी दिएको विषयमा पनि ईयू प्रतिस्पर्धा नियामकहरू असन्तुष्ट छन्।
डीएमएले गुगललाई आफ्ना उत्पादन तथा सेवाहरूलाई प्राथमिकता दिन निषेध गर्छ। यदि उल्लंघन गरेमा कम्पनीलाई वार्षिक विश्वव्यापी आम्दानीको १० प्रतिशतसम्म जरिवाना हुन सक्छ।
गुगल विरुद्धको डीएमए आरोपहरू आउँदो महिनाहरूमा अन्य अनुसन्धानहरूसँगै अगाडि बढ्न सक्नेछन्। तीमध्ये एप्पल र मेटाविरुद्धका अनुसन्धानहरू बढी विकसित अवस्थामा रहेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
गुगल विरुद्धको अर्को डीएमए अनुसन्धान गुगल एपस्टोर बाहिरका अफरहरूको जानकारी निःशुल्क दिने विषयमा एप विकासकर्ताहरूलाई लगाइएका सम्भावित प्रतिबन्धहरूलाई लिएर गरिएको छ।
प्रकाशित: १२ फाल्गुन २०८१, सोमबार