स्पेसएक्सको स्टारलिंक मिशनद्वारा पहिलोपटक बहामासमा रकेट बूस्टर अवतरण

Technology Khabar ७ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

फाल्कन ९ रकेटले मंगलबार २३ ओटा स्टारलिंक उपग्रहहरूलाई पृथ्वीको निम्न कक्षमा पठाएको छ। रकेट फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट बेलुका ६:२२ ईएसटी (२३:२२ जीएमटी) मा प्रक्षेपण भएको थियो।

प्रक्षेपणपछि आठ मिनेटमै रकेटको पहिलो चरण पृथ्वीमा फर्किएको थियो र एटलान्टिक महासागरमा रहेको जस्ट रिड द इन्स्ट्रक्शन्स ड्रोनसिपमा अवतरण गरेको थियो। स्पेसएक्सले परम्परागत रूपमा ड्रोनसिपहरू खुला समुद्रमा राख्दै आएको छ, तर हालै कम्पनीले बहामाससँग सम्झौता गरेको छ, जसले नयाँ अवसरहरू प्रदान गर्ने स्पेस डटकमले उल्लेख गरेको छ।

“यो बहामासका लागि विभिन्न तरिकामा महत्त्वपूर्ण छ,” स्पेसएक्सको प्रत्यक्ष प्रसारणका क्रममा बहामासका उपप्रधानमन्त्री इसाक चेस्टर कूपरले भने। “यो विशेष गरी एक्जुमा साउन्ड क्षेत्रमा बहामासमा भएको पहिलो अन्तर्राष्ट्रिय अवतरण हो। यसले हामीलाई नवीनतामा अगाडि राख्छ र हाम्रो ४ लाख जनसंख्या भएको सानो देशलाई अन्तरिक्ष उद्योगमा सहभागी हुने अवसर दिन्छ। यो एक ठूलो उपलब्धि हो।”

स्पेसएक्सका अनुसार, आजको मिसनमा प्रयोग गरिएको फाल्कन ९बूस्टरको यो १६औं उडान थियो। यसअघि भएका १५ उडानमध्ये ९ स्टारलिंक मिसनहरू थिए।

स्पेसएक्सले प्रक्षेपणलाई आफ्नो वेबसाइट र एक्स (पहिलेको ट्विटर) मार्फत प्रत्यक्ष प्रसारण गरेको थियो। यसको पुनःप्रसारण स्पेसएक्स को स्टारलिंक १०-१२ मिसन पृष्ठमा उपलब्ध छ।

यस वर्ष २०२५ मा स्पेसएक्सको फाल्कन ९ द्वारा गरिएको यो २१औं प्रक्षेपण हो, जसमा १५ स्टारलिंक मिसनहरू रहेका छन्। कम्पनीले यस वर्ष जनवरी १६ मा स्टारशिप मेगारकेटको एउटा परीक्षण उडान पनि सञ्चालन गरिसकेको छ। यो स्टारशिपको कुल सातौं प्रक्षेपण हो, जुन अझै विकास चरणमै छ।

सबैभन्दा पछिल्लो फाल्कन ९ मिशन शनिबार (फेब्रुअरी १५) मा भएको थियो, जसले पुनःप्रयोग क्षमतामा नयाँ कीर्तिमान स्थापित गर्यो। त्यो मिसनमा प्रयोग भएको पहिलो चरण बूस्टरको यो २६औं प्रक्षेपण थियो।

प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया