Technology Khabar १८ माघ २०८१, शुक्रबार
काठमाडौं ।
रेसुङ्गा नगरपालिका-७ को अर्जुनडाँडामा निर्माण गरिएको सेल्फी टावर प्रयोगविहीन बनेको छ। धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनमा लुम्बिनी प्रदेश सरकार उद्योग, वन तथा वातावरण मन्त्रालयको १४ लाख ४० हजार र उपभोक्ता समितिका तर्फबाट एक लाख ४४ हजार गरी १५ लाख ८४ हजार रुपियाँको लागतमा ‘सेल्फो टावर निर्माण गरिए पनि अहिले प्रयोगविहीन बनेको हो।
पहिले संरचना निर्माणमा जोड दिने र पछि त्यसको सञ्चालनका साथै संरक्षणमा ध्यान नदिनाले निर्माण भएका संरचना प्रयोगविहीन बन्ने गरेका छन्। दीर्घकालीन रूपमा भन्दा पनि चर्चा कमाउन र क्षणिक समयका लागि बनाइएका संरचनाले सरकारको लगानी बालुवामा पानी जस्तै बन्ने गरेको छ।
सेल्फी टावर अहिले धरापमा परेको र कसैको दृष्टि त्यहाँ नपुगेकाले नगरको कार्यपालिका बैठकमा घनीभूत छलफल भएको वडा नम्बर ७ का वडाध्यक्ष रामजी पन्थीले बताए।
सेल्फी टावरलाई थप सौन्दर्यीकरण गरी सञ्चालनमा ल्याउनका लागि लुम्बिनी प्रदेश सरकारसँग बजेट माग गरिएको उनको भनाई छ। उनले प्रदेश सरकारबाट बजेट नआए नगरकै बजेटबाट भए पनि सञ्चालन गरेरै छाड्ने दावी गरे।
नगरभित्र निर्माण भएका संरचनालाई संरक्षण गरी सञ्चालनमा ल्याउने दायित्व नगरको भएकाले प्रदेशले सहयोग नगरे पनि नगरको आफ्नै बजेट बाट सञ्चालनमा ल्याउने उनले बताए। टावरबाट तम्घास बजारसहितको मनमोहक दृश्य देख्न सकिने भए पनि अवलोकनकर्ता खासै जाने गरेका छैनन्।
टावरबाट एक पटकमा २० जनासम्मले अवलोकन गर्न सक्ने क्षमता रहेको छ। सेल्फी टावरसँगै अर्जुन क्षेत्रमा पुराना ऐतिहासिक मन्दिरलाई मर्मत र नयाँ संरचना निर्माण गर्न थालिएपछि अर्जुन क्षेत्रमा थप पर्यटकीय गन्तव्य बनाइएको छ तर त्यहाँसम्म पुग्नका लागि सडकको अवस्था राम्रो नभएकाले पनि अवलोकनकर्ताको रुचिमा कमी आएको हो।
अर्जुन क्षेत्रमा यसअधि पर्यटकीय क्षेत्र बनाउन लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रवेशद्वार पानीको फोहोरासहितको पोखरी निर्माण, वनभोज जानेका लागि भवन निर्माण गरिएको थियो। निर्माण भएका संरचनासमेत अहिले टुटफुट हुन थालेका छन्।
करिब दुई हजार मिटर उचाइमा रहेको अर्जुनडाँडा धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र जैविक विविधताका लागि महत्त्वपूर्ण मानिन्छ।
अर्जुनडाँडामा पाँच पाण्डवमध्येका अर्जुनको आगमनले यस लेकको नाम अर्जुन रहेको भन्ने मान्यता रहेको छ। अर्जुनले यसै गिरिमा बसेर गोताको तत्त्व ज्ञानको साधना गरेको तथा भगवान् शिवले यसै स्थानमा ध्यान गर्नुभएको भन्ने जनविश्वास रहेको छ।
आजको गोरखापत्रबाट
प्रकाशित: १८ माघ २०८१, शुक्रबार