एप्पलको बजार मूल्य चाँडै ४ ट्रिलियन डलर हुनसक्ने, लगानीकर्ताहरू एआईमा उत्साहित

Technology Khabar १० पुष २०८१, बुधबार

एप्पलको बजार मूल्य चाँडै ४ ट्रिलियन डलर हुनसक्ने, लगानीकर्ताहरू एआईमा उत्साहित
ताम्राकार कम्प्लेक्सको एक मोबाइल पसलमा राखिएको एप्पलको लोगो। फाइल तस्बिरः टेक्नोलोजीखबर

काठमाडौं ।

अमेरिकी डिभाइस निर्माता कम्पनी एप्पलको शेयर बजार मूल्य चाँडै चार ट्रिलियन डलर पुग्न सक्छ। कम्पनीले आईफोनको बिक्री बढाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी फिचर ल्याउने तयारी गरेको छ। यससँगै, लगानीकर्ताहरूले एप्पलको बिक्री तीव्र हुने अपेक्षा गरेका छन्।

कम्पनीको सेयर मूल्य नोभेम्बरको सुरुदेखि करिब १६ प्रतिशतले बढेको छ। एप्पलको हालको मूल्य लगभग ३.८५ ट्रिलियन डलर छ। पछिल्ला केही महिनाहरूमा, एआई-सम्बन्धित योजनाहरूमा ढिलाइका कारण कम्पनीले आलोचनाको सामना गर्नु परेको छ।

अल्फाबेट र माइक्रोसफ्ट जस्ता कम्पनीहरूले यो दौडमा एप्पललाई पछाडि छोडेका छन्। एआईमा सट्टेबाजीबाट एनभीडीयाले धेरै फाइदा उठाएको छ। पछिल्लो दुई वर्षमा एनभिडियाको स्टक ८०० प्रतिशतभन्दा बढीले बढेको छ। यस अवधिमा एप्पलको स्टक झण्डै दोब्बर भएको छ।

यस महिनाको सुरुमा, एप्पलले ओपनएआईको च्याटजीपीटीलाई आफ्नो डिभाइसहरूमा एकीकृत गर्न थाल्यो।

यसबिचमा कम्पनीले फोल्ड गर्न मिल्ने स्मार्टफोन पनि ल्याउने योजना बनाएको छ। हालै कम्पनीले फोल्ड गर्न मिल्ने यन्त्रहरूका लागि हिन्ज मेकानिज्मसँग सम्बन्धित पेटेन्ट प्राप्त गरेको छ। स्मार्टफोन बाहेक, यो हिंज अन्य फोल्ड गर्न मिल्ने डिभाइसहरूमा पनि प्रयोग गर्न सकिन्छ। फोल्ड गर्न मिल्ने स्मार्टफोनको बजारमा दक्षिण कोरियाको सामसङको सबैभन्दा बढी हिस्सा रहेको छ।

एप्पलको नयाँ फोल्डेबल फोन आएमा यसले समेत बजार बढाउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १० पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया