
काठमाडौं ।
गुगलले बुधबार जेमिनी २.० नामक नयाँ कृत्रिम बुद्धिमत्ता एआई मोडेलको पहिलो संस्करण सार्वजनिक गरेको छ।
जेमिनी २.० फ्ल्याश नामक यो मोडेल च्याट संस्करणमा विश्वभर प्रयोगकर्ताहरूका लागि उपलब्ध छ भने यसको एउटा प्रयोगात्मक बहुआयामिक संस्करण विकासकर्ताहरूका लागि उपलब्ध गरिएको छ। यसमा टेक्स्ट टु स्पीच र इमेज जेनेरेशन जस्ता विशेषताहरू छन्।
गुगलका सीईओ सुन्दर पिचाइले भने, “यदि जेमिनी १.० सूचना व्यवस्थापन र बुझाइमा केन्द्रित थियो भने जेमिनी २.० त्यसलाई अझ उपयोगी बनाउनेमा केन्द्रित छ।”
गुगलको यो नयाँ ठूलो भाषा मोडेलले प्रयोगकर्ताहरूका धेरै अनुरोधहरूमा, जस्तै कोड निर्माण र तथ्यगत सही जवाफ दिन सक्ने क्षमतामा आफ्ना अघिल्ला संस्करणलाई पछाडि छोडेको छ। तर लामो सन्दर्भहरूको मूल्याङ्कन गर्ने मामिलामा जेमिनि १.० प्रो भन्दा कमजोर देखिएको छ।
प्रयोगात्मक फ्ल्याश २.० को च्याट-अनुकूलित संस्करण पहुँच गर्न जेमिनी प्रयोगकर्ताहरूले डेस्कटप र मोबाइल वेबमा मोडेल ड्रपडाउन मेनुबाट छान्न सक्ने बताइएको छ। यो छिट्टै जेमिनी मोबाइल एपमा पनि उपलब्ध हुनेछ।
जेमिनी फ्ल्याश २.० को बहुआयामिक संस्करण गुगल एआई स्टुडियो र भर्टेक्स एआई डेभलपर प्लेटफर्ममार्फत उपलब्ध हुनेछ। गुगलले बुधबार बताएअनुसार जेमिनी २.० फ्ल्याशको बहुआयामिक संस्करणको सर्वसाधारण पहुँच २०२५ को जनवरीबाट उपलब्ध हुनेछ। साथै थप जेमिनी २.० मोडेल आकारहरू पनि उपलब्ध गराइनेछ।
गुगलले जेमिनी २.० लाई सन् २०२५ को सुरुमा अन्य गुगल उत्पादनहरूमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिएको छ।
जेमिनी २.० ले प्राविधिक उद्योगमा बढ्दो प्रतिस्पर्धात्मक एआई दौडमा गुगलको पछिल्लो प्रयासलाई प्रतिनिधित्व गर्दछ। गुगल, माइक्रोसफ्ट, मेटाजस्ता ठूला कम्पनीहरू र ओपनएआई, पर्प्लेक्सिटी, क्लाउडे निर्माता एन्थ्रोपिकजस्ता स्टार्टअपहरूसँग प्रतिस्पर्धा गरिरहेको सीएनबीसीले उल्लेख गरेको छ।
फ्ल्याश मोडेलसँगै गुगलले नयाँ अनुसन्धान प्रोटोटाइपहरू पनि सार्वजनिक गरेको छ, जसको उद्देश्य “एजेन्टिक” एआई मोडेल र अनुभवहरू विकास गर्नु हो। गुगलका अनुसार एजेन्टिक मोडेलले वरपरको विश्वलाई बुझ्न, धेरै कदम अगाडिसम्म सोच्न, र प्रयोगकर्ताको निर्देशनमा काम गर्न सक्नेछन्।
प्रकाशित: २७ मंसिर २०८१, बिहीबार