ट्रिलियन डलर बजार मूल्य भएको दोस्रो कम्पनी भयो अमेजन, संस्थापक पनि विश्वकै सबैभन्दा धनी

Technology Khabar २० भाद्र २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । इकमर्श कम्पनी अमेजन मंगलबार १० खर्ब बजार मूल्य भएको कम्पनी बन्न सफल भएको छ । कम्पनीले टेक कम्पनी एप्पल इन्कलाई पछ्याउँदै दोस्रो ठूलो वान ट्रिलियन डलर कम्पनी बन्न सफल भएको हो । यो कम्पनीको शेयर मूल्य यो बर्ष दोब्बरले बढेपछि अमेरिकी बजारमा लिस्टेड दोस्रो ट्रिलियन कम्पनी भएको हो ।

यसको शेयर मूल्य २०५०.५० अमेरिकी डलरसम्म पुगेको थियो । यसको शेयर यहि हिसाबले लगातार बढ्दै गएमा यसले बजार मूल्यांकनको आधारमा आगामी दिनमा एप्पललाई पनि जित्नसक्ने अनुमान गरिएको छ ।

एप्पलले पब्लिक कम्पनीको रुपमा ३८ वर्षमा ट्रिलियन कम्पनी हुन सफल भएपनि अमेजनले त्यो सफलता केबल २१ वर्षमा नै हासिल गर्न सफल भयो । अमेजनले आफ्ना लगानीकर्ताहरुलाई रिटेल उद्योगको हरेक क्षेत्रमा आकर्षित गर्न सफल भएको हो । त्यस्तै कम्पनीको रिटेल व्यापारमा लगातारको वृद्धि र क्लाउड कम्प्यूटिंगमा भएको बढ्दो मागले गर्दा ट्रिलियन कम्पनी हुन सफल भएको हो ।

सन् १९९४ मा जेफ बेजोसले स्थापना गरेको अमेजनले शुरुवाती चरणमा विभिन्न किसिमका पुस्तकहरु बिक्री गर्ने गर्दथ्यो । पछिल्लो दशकमा भने अमेजनले ईकमर्शमा तिब्र विकास गर्न सफल भयो ।

यसका संस्थापक तथा सिईओ बेजोस पनि विश्वका सबैभन्दा धनी व्यक्तिको रुपमा परिचित छन् । उनको कुल सम्पत्ति हाल १६६ विलियन अमेरिकी डलर छ जसको ठिक मुनी दोस्रो नम्बरमा ७० मिलियन डलरसहित माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन् ।

प्रकाशित: २० भाद्र २०७५, बुधबार

तपाइको प्रतिक्रिया