एक्सको प्रतिस्पर्धी माइक्रोब्लगिङ साइट ब्लूस्काईले अमेरिकी चुनावका क्रममा भित्र्यायो साढे १२ लाख फलोअर

Technology Khabar १ मंसिर २०८१, शनिबार

काठमाडौं ।

माइक्रो-ब्लगिङ स्टार्टअप ब्लूस्काईले गत हप्ता साढे १२ लाख नयाँ प्रयोगकर्ता प्राप्त गरेको छ। यसले केही सामाजिक मिडिया प्रयोगकर्ताहरूले अमेरिकी राष्ट्रपतीय चुनावपछि आफ्नो बानी परिवर्तन गरिरहेका देखाउँछ।

ब्लूस्काईमा यो प्रयोगकर्ताहरूको बृद्धिले यो स्टार्टअपले आफुलाई इलन मस्कले किनेका एक्स (पहिलेको ट्विटर) र मेटाको थ्रेड्सको विकल्पको रूपमा प्रस्तुत गर्न सफल भएको देखाउँछ । ब्लूस्काईका अनुसार नयाँ प्रयोगकर्ताहरूको ठूलो हिस्सा अमेरिका, क्यानडा, र बेलायतबाट आएका सीएनबीसीले उल्लेख गरेको छ।

“धेरै मानिसहरू राम्रो सामाजिक मिडिया अनुभव खोज्दै हाम्रो प्लेटफर्ममा आइरहेकामा हामीलाई खुशी लागेको छ,” ब्लूस्काईका सीईओ जय ग्राबरले भने।

यद्यपि ब्लूस्काईमा नयाँ प्रयोगकर्ताहरूको संख्या ह्वात्तै बढेको छ, यसको कुल प्रयोगकर्ता आधार यसको प्रतिस्पर्धीहरूभन्दा अझै कम छ। ब्लूस्काईले हालसम्म १ करोड ५२ लाख कुल प्रयोगकर्ताहरू भएको दावी गरेको छ।

यसको तुलनामा मेटाका सीईओ मार्क जुकरबर्ग ले अक्टोबरमा थ्रेड्समा लगभग साढे २७ करोड मासिक प्रयोगकर्ता रहेको बताएको थियो।

मस्कले गत मे महिनामा एक्स (पहिलेको ट्विटर) मा ६० करोड मिलियन मासिक प्रयोगकर्ताहरू भएको दाबी गरेका थिए, तर सेन्सर टावरले अक्टोबरमा एक्सको मासिक आधार ३१ करोड ८० लाख प्रयोगकर्तामा सीमित रहेको बताएको थियो।

सीएनबीसीका अनुसार ब्लूस्काई सन् २०१९ मा ज्याक डोर्सी सीईओ हुँदा ट्विटरको प्रोजेक्टको रूपमा सुरु भएको थियो  । यसले विज्ञापन देखाउँदैन र अझै आफ्नो व्यवसाय मोडेल विकास गरेको छैन।

सन् २०२१मा यो स्वतन्त्र कम्पनी बनेको थियो। यस वर्ष मे महिनामा डोर्सीले ब्लूस्काई को बोर्डमा नरहेको बताएका थिए।

इन्टरनेट ट्राफिक र अनुगमन सेवा सिमिलरवेबले आफ्नो ब्लगमा लेखेको छ, “पत्रकारहरू, राजनीतिज्ञहरू, र समाचारप्रेमीहरूले पनि ब्लूस्काईलाई थ्रेड्सभन्दा राम्रो एक्स विकल्पको रूपमा प्रचार गरिरहेका छन्।”

धेरै प्रयोगकर्ताहरूले ब्लूस्काईमा नयाँ खाता खोलेर लेखेका छन् कि उनीहरू एलन मस्क र उनको राष्ट्रपति-निर्वाचित डोनाल्ड ट्रम्पको समर्थनका कारण ब्लूस्काईमा सरेका हुन्।

“ईलन मस्कले ट्विटरलाई ट्रम्पको प्रचारको मेशिनमा रूपान्तरण गरेर गलत सूचना र भ्रामक जानकारीको माध्यम बनाएको छ, जुन अत्यन्तै निन्दनीय छ,” एक प्रयोगकर्ताले ब्लूस्काईमा लेखे।

यो ब्लूस्काईको पछिल्लो केही महिनाहरूमा भएको दोस्रो उल्लेखनीय प्रयोगकर्ता वृद्धि हो। सेप्टेम्बरमा, ब्राजिलको सर्वोच्च अदालतले क्षेत्रीय सामग्री नियन्त्रण नीतिहरू पालना नगरेको र स्थानीय प्रतिनिधि नियुक्त नगरेको कारणले एक्सलाई देशभर बन्द गरेपछि ब्लूस्काई मा २० लाख नयाँ प्रयोगकर्ताहरू थपिएका थिए।

प्रकाशित: १ मंसिर २०८१, शनिबार

तपाइको प्रतिक्रिया