Technology Khabar १६ आश्विन २०८१, बुधबार
काठमाडौं ।
सोनीको प्लेस्टेशन नेटवर्क मङ्गलबार ठूलो समस्यामा परेको छ जसले लाखौं प्रयोगकर्तालाई प्रभावित गरेको छ। नेटवर्कमा समस्या आएका कारण प्लेयरहरुले आफ्ना खाताहरूमा पहुँच गर्न र खेलहरू अनलाइन गर्न सकेनन्।
सोनीले यो समस्याबारे जानकारी दिइसकेको छ र पीएसएन स्टाटस सपोर्ट पेजमा यो आउटेजको पुष्टि पनि गरेको छ। यसबाहेक कम्पनीले चाँडै नै समस्याको समाधान गर्ने आश्वासन दिएको छ।
प्लेटफर्म आउटेज ट्र्याक गर्ने डाउनडिटेक्टरले पनि यो समस्याको पुष्टि गरेको छ। प्लेस्टेशन नेटवर्क आउटेज भारतमा बिहान ७:०० बजे स्थानीय समयमा सुरु भएको देखिन्छ र यसले अमेरिका र अन्य क्षेत्रमा प्लेस्टेशन गेमरलाई पनि प्रभावित गरेको थियो।
अमेरिकी बजारमा प्रयोगकर्ताहरूको रिपोर्टिङ भारतको तुलनामा उच्च रहेको न्युज१८ ले उल्लेख गरेको छ।
“तपाईंलाई खेल, एप्लिकेसन वा नेटवर्क सुविधाहरू सुरु गर्न कठिनाइ हुन सक्छ। हामी चाँडै समस्या समाधान गर्नको लागि काम गरिरहेका छौं। तपाईंको धैर्यताको लागि धन्यवाद,” सोनीको पीएसएन स्टाटस सपोर्ट पेजमा उल्लेख गरिएको छ।
यो आउटेजले विशेषगरी लामो समय काम गरेर फर्कंदै गरेका र समय कटाउन प्लेस्टेशनमा गेम खेल्ले बानी परेकाहरुलाई बढी चिढ्याएको बुझिएको छ।
प्रकाशित: १६ आश्विन २०८१, बुधबार