फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि
काठमाडौं ।
फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध समूह संलग्न रहेको निष्कर्ष निकाल्दै फ्रान्सले जिम्मेवार व्यक्तिहरूमाथि युरोपेली प्रतिबन्ध लगाउने जनाएको छ।
गत अक्टोबर १२ मा भएको आक्रमणका क्रममा करिब छ घण्टासम्म फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म पुगेको थियो। यसबाट फ्रान्सका १० हजारमध्ये करिब ७०० सुपरमार्केट प्रभावित भएका थिए। पसलहरूले ताजा तथा जमाइएका खाद्य सामग्री फाल्नुपरेको थियो भने इन्टरमार्च सुपरमार्केट समूहले एकै दिनमा दशौँ लाख युरो बराबरको नोक्सानी भएको जनाएको छ।
फ्रान्सको राष्ट्रिय साइबर सुरक्षा निकाय एएनएसएसआईले ‘शाहिद काभेह’ समूहलाई आक्रमणको जिम्मेवार ठहर गरेको छ। पेरिसका अभियोजकहरूले सङ्गठित साइबर अपराधसम्बन्धी औपचारिक अनुसन्धान सुरु गरेका छन्। आक्रमणकारीले इरानमा रहेका उपकरण, फारसी भाषा र इरानसँग सम्बन्धित इन्टरनेट ठेगाना प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।
विदेशमन्त्री जीन–नोएल बारोटले इरानी राजदूतलाई बोलाएर घटनाप्रति कडा विरोध जनाइएको बताए। उनले आक्रमणले फ्रान्सको राष्ट्रिय हित र नागरिकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको उल्लेख गर्दै संलग्न व्यक्तिहरूमाथि प्रतिबन्ध लगाइने स्पष्ट पारे। अभियोजक लोरा बेकुआउका अनुसार आक्रमणकारी समूहका नेता, उनका दुई सहयोगी र अन्य सम्भावित संलग्न व्यक्तिमाथि अनुसन्धान भइरहेको छ। उनीहरूविरुद्ध अन्तर्राष्ट्रिय गिरफ्तारी वारेन्ट जारी गराउने तयारी छ।
यसैबीच, गत साता फ्रान्सका केही रक्त सञ्चय केन्द्रमा तापक्रम बढाउने उद्देश्यले गरिएको अर्को साइबर आक्रमण रगतका उत्पादनमा क्षति पुग्नुअघि नै विफल भएको थियो । स्विडेन, बेल्जियम, लक्जमबर्ग, आयरल्यान्ड र इस्टोनियाका सुपरमार्केटमा पनि साइबर आक्रमणको आशङ्कामा फ्रिज तथा फ्रिजरमा समस्या देखिएको थियो।
एएनएसएसआईले सन् २०२० यता फ्रान्सविरुद्ध भएका अन्य साइबर आक्रमणमा पनि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध ‘शाहिद सुओस्तारी’ समूहको संलग्नता रहेको जनाएको छ। तीमध्ये सन् २०२३ मा व्यङ्ग्यात्मक पत्रिका ‘चार्ली हेब्दो’ र सन् २०२४ मा पेरिस ओलम्पिकको आयोजनालाई लक्षित गरिएका आक्रमणसमेत छन् । रासस/एपी